इटहरी / नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई कोशीको मुख्यमन्त्री बनाउनका लागि दाबी निवेदन प्रदेश प्रमुखलाई बुझाउने तयारी गरेको छ।
नेकपा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएसँगै नेता कार्कीलाई कोशीको मुख्यमन्त्री बनाउनका निम्ति यस्तो तयारी गरेको हो।
सोमबार एमाले माओवादीका बहुमत सांसदको हस्ताक्षर प्रदेश प्रमुख परशुराम खापुङसमक्ष बुझाउन लागिएको छ। कोसीमा एमाले–माओवादीसँग स्पष्ट बहुमत छ।
एमाले र माओवादीले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएको सूचना प्रदेश सभा सचिवालयमा दिइसकेका छन् । योसँगै मुख्यमन्त्री कार्की स्वतः अल्पमतमा पर्नेछन् ।
कार्कीले संविधानको धारा १८८ (२) बमोजिम ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने छ । तर मुख्यमन्त्री कार्की राजीनामा पनि नदिने र प्रदेश सभा बैठक पनि नबोलाउने अडानमा छन्। त्यसैले एमाले र माओवादीका सांसदहरुले प्रदेश सभाको विशेष अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष निवेदन पनि दिनेछन् ।
कोशीका मुख्यमन्त्री केदार कार्की २७ असोजमा संविधानको धारा १६८ (५) अनुसार नियुक्त भएका थिए।
खानेपानी सिँचाइ तथा ऊर्जामन्त्री नारायण बुर्जा मगर, पर्यटन वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सामाजिक विकासमन्त्री राजेन्द्र कार्कीले मुख्यमन्त्री केदार कार्की समक्ष राजीनामा बुझाइ सकेका छन् ।
Discussion about this post