काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा चार हजारभन्दा बढी बालबालिका हराएका छन् । यसरी हराउने बालबालिकामा मधेश प्रदेशबाट सबैभन्दा धेरै रहेका छन् ।
बालबालिका खोजतलास समन्वय केन्द्रका बाल संरक्षण अधिकृत सन्तोषचन्द्र अधिकारीले सबैभन्दा बढी १० देखि १३ वर्षका बालक र १३ देखि १८ वर्षका बालिका हराउने गरेको जानकारी दिनुभयो ।
उहाँले चालु आव २०८०र८१ को फागुन मसान्तसम्म कुल चार हजार १४१ जना बालबालिका हराएको जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो आठ महिनामा हराएका चार हजार १४२ जनामध्ये तीन हजार ५३५ जना फेला परेका छन् भने ६०७ जना बालबालिकाको खोजतलास जारी रहेको समन्वय केन्द्रले जनाएको छ ।
“मधेश प्रदेश सबैभन्दा बढी जनसङ्ख्या भएको प्रदेश हो । त्यसैमा खुला सिमाना भएकाले धेरैजसो बालबालिका भारत छिर्ने र उतै हराउने गर्छन् । बालबालिका घर छाड्नुको मुख्य कारण पारिवारिक विखण्डन नै हो ।
परिवारमा बाबुआमा जाँडरक्सी खाने, झैझगडा गर्दा बालबालिकाले घर छाड्छन्,” बाल संरक्षण अधिकृत अधिकारीले भन्नुभयो । उहाँले परिवारका श्रीमान् वा श्रीमतीले दोस्रो विवाह गर्दासमेत घरमा बस्ने वातावरण नहुँदा बालबालिकाले घर छाड्ने गरेको बताउनुभयो ।
वैदेशिक रोजगारीले विप्रेषण आयमा वृद्धि हुँदा परिवारको आर्थिक अवस्था राम्रो भए पनि नकारात्मक असर पनि देखिने गरेको चर्चा गर्दै उहाँले भन्नुभयो, “तर अर्कोतिर यसको नकारात्मक पाटो परिवार र समाजमा देखिने नदेखिने धेरै खालका असर छन् । वैदेशिक रोजगारीमा भएका परिवार छोराछोरी सहरमा पढाउन ल्याउँदा धेरै बालबालिका हराउने गरेका छन् ।”
सबैभन्दा बढी मधेशबाट
सरकारी तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०र८१ को फागुन मसान्तसम्ममा मधेश प्रदेशबाट १४२ बालक र ७४२ बालिका गरी कुल ८८४ जना हराएका छन् । कोशी प्रदेशबाट ५७० जना हराएकोमा ५१२ जना फेला परेका छन् भने ५८ जना अझै भेटिएका छैनन् । बागमती प्रदेशबाट कुल ६२९ जना हराएकोमा ६६४ फेला परेका छन् भने ६५ जना खोजीको सूचीमा छन् ।
यस्तै गण्डकी प्रदेशबाट ३०४ जनामध्ये २८१ फेला परिसकेका छन् भने २३ जना खोजीको सूचीमा छन् । लुम्बिनी प्रदेशबाट कुल ७७९ जना हराएकोमा ६६३ जना फेला परेका छन् भने जम्मा ११६ जना खोजतलासको सूचीमा छन् । कर्णाली प्रदेशबाट कुल २७० जना हराएकोमा २४३ जना फेला परेका छन् भने २७ जना खोजीको सूचीमा छन् । सुदूरपश्चिम प्रदेशबाट कुल ४०२ जना हराएकोमा ३६७ जना फेला परेका छन् भने ३५ जनाको खोजी कार्य जारी छ ।
सरकारी तथ्याङ्कमा हराउने बालबालिकाको सङ्ख्या धेरै देखिए पनि भेटिनेको सङ्ख्या पनि उत्तिकै देखिने गरेको छ । यसरी हराएर नभेटिएका बालबालिका घरेलु कामदार, होटल रेस्टुरेन्ट, गाडीमा सहचालकलगायत पेसामा लाग्ने गरेको अधिकृत अधिकारीले बताउनुभयो ।
“घर छाडेर गएका बालबालिका कतिपय घरेलु बालश्रममा लाग्छन् । बालिकाको हकमा कतिलाई यौन पेसामा लगाइन्छ । शिक्षित भनिएका व्यक्तिले बालश्रममा लगाउँछन् । यसरी जानाजान बालश्रम गराउनु दुःखद पक्ष हो,” उहाँले भन्नुभयो । कसैले बालश्रम गराएको उजुरी दिएमा तत्काल उद्धार गर्ने गरेको परिषद्ले जनाएको छ ।
विगत तीन वर्षको अवधिमा बालबालिका हराउने क्रम बढ्दो भए पनि खोजतलास गरेर फेला पर्नेको सङ्ख्या बढ्दो छ । अझै पनि कतिपय बालबालिका राज्य संयन्त्रले फेला पार्न नसक्दा बेपत्ताकै सूचीमा हुने गरेका छन् ।
आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
Discussion about this post