इलाम / नेपाली काँग्रेसका महामन्त्री गगन थापाले जनता उचाल्ने नभएर जनता सम्हाल्ने पार्टी र उम्मेदवार आवश्यक रहेको बताएका छन् । इलामको फाकफोकथुमको सिकारी भन्ज्याङमा भएको कार्यक्रममा सम्बोधन गर्दै उनले जनताको आवाज बोकेर हिँड्न सक्ने दल र उम्मेद्धारको खाँचो रहेको बताएका हुन् ।
महामन्त्री थापा इलाम क्षेत्र नम्बर दुईको विभिन्न चुनावी कार्यक्रममा सहभागी हुन आएका उनले अहिलेको परिस्थितिमा जनतालाई सँगसँगै हिँडाउन सक्ने नेताको खाँचो भएको बताए ।
उत्तेजना र भड्कावको राजनीति गर्न नहुने भन्दै उनले वैशाख १५ गते हुने उपनिर्वाचनमा काँग्रेसका तर्फबाट चुनावी मैदानमा रहेका डम्बर खड्कालाई भोट दिन जनतालाई आग्रह समेत गरे ।
उनले विगतमा पनि काँग्रेसले कठिन परिस्थितिलाई सम्हालेर देशलाई सङ्कटबाट बचाएको भन्दै अब पनि देशलाई सही दिशातर्फ नेपाली काँग्रेसले नै डोर्याउने उनको तर्क छ ।
सोही कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका सह महामन्त्री भीष्मराज आङ्दाम्बेले इलाम दुई नम्बर क्षेत्रको भाग्य र भविष्यको चिन्ता गर्नेहरूले नेपाली काँग्रेसका उम्मेद्धारलाई जिताउनु पर्ने बताएका छन् ।
उनले इलाम क्षेत्र नम्बर दुईमा डम्बर खड्का जिताउन जनता जागेको भन्दै यसले उत्साह थपेको समेत बताए ।
इलाम क्षेत्र नम्बर दुईमा पछिल्ला निर्वाचनमा नेपाली काँग्रेसले नजितेकै कारण विकासले फड्को मार्न नसकेको भन्दै उनले विकास र समृद्धिका लागि युवा उम्मेदवार बनाएको बताए ।
नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार डम्बरबहादुर खड्काले यस अघि सांसद नरहँदा पनि जनताको दुखमा सहयोग गरेको भन्दै सांसदमा जिताए अझ धेरै सहयोग गर्ने प्रतिबद्धता जनाए ।
नेपाली काँग्रेस इलामका नेता तथा महासमिति सदस्य भेषराज आचार्यले डम्बरबहादुर खड्कालाई जिताउन आग्रह गरे ।
इलामको फाकफोकथुम गाउँपालिकाको सिकारी भन्ज्याङमा भएको चुनावी सभामा उनले नेपाली काँग्रेसका उम्मेदवार खड्कालाई रुख चिन्हमा मतदान गर्न आग्रह गरे ।
उनले निर्वाचनको मिति नजिकिएसँगै समय कम भएकाले तत्काल प्रचार गर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे ।
इलाम क्षेत्र नम्बर दुईमा नेपाली काँग्रेसले अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई चुनाव प्रसार प्रचारको संयोजक बनाएको छ ।
यस क्षेत्रबाट निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको निधन भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
Discussion about this post