चितवन- गण्डकी प्रदेशले चितवनमा जारी प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुद अन्तर्गत पुरूष भलिवलतर्फ स्वर्ण पदक हासिल गरेको छ ।
शुक्रबार भरतपुर महानगरमा सम्पन्न फाइनलमा गण्डकीले कोशी प्रदेशलाई ३-० को सिधा सेटमा पराजित गरेको हो ।
फाइनलमा दर्शकको राम्रो साथ पाएको गण्डकीले पहिलो सेट २५-१८ले जितेको थियो । पहिलो सेटमा हार ब्यहोरेको कोशीले दोस्रो सेटमा सम्हालिएको खेल प्रदर्शन गरेको थियो ।
गण्डकीको टोली मुख्य २ खेलाडी बिना कोर्टमा उत्रिएको थियो । बेन्चमा रहेका खेलाडीसहित कोर्टमा उत्रिएको गण्डकीले कोशीमाथि दोस्रो सेट २५-२२ ले जितेको थियो ।
दुई सेटमा स्तब्ध भएको कोशी तेस्रो सेटमा पनि निरीह बन्यो । तेस्रो सेटमा दुवै टोली समान १४ अंक रहदाँ रेफ्रीको निर्णयमा कोशीले आपत्ती जनाएको थियो ।
कोशीका खेलाडीले आक्रोशित हुदै लय गुमाउदाँ रेफ्रीले क्याप्टेन बिष्णु बस्नेतलाइ पहेलो कार्ड दिएका थिए । सोही क्रम रेफ्रीले नेट टचको बिषयमा विवादास्पद निर्णय लिएपछि कोशीका खेलाडी केहीबेर कोर्ट बाहिर भएका थिए । केहीबेरको तनावपछि कोर्ट फर्किएको कोशीले अन्तिम सेट १८-२२ ले हार ब्यहोर्न पुग्यो ।
हारसंगै कोशिले भलिवलतर्फ रजत पदकमा चित्त बुझायो । हारपछस कोशीका प्रशिक्षक दिनेश राईले निर्णायकको कमजोरीको शिकार हुनु परेको बताए । रेफ्रीले दिएको खराब निर्णयबाट टोली निराश हुन पुगेको बताउदै गण्डकी सेट टोली भएहुदा केही दबाव महसुस गरेको बताए ।
९ खेलसहित गत चैत्र २५ गतेबाट सुरू भएको खेलकुदमा गण्डकी ६१ स्वर्णसहित १३९ पदकमा पहिलो स्थानमा रहेको छ। त्यसैगरि,२१ स्वर्णपदकसहित ६९ पदक हासिल गरेको सुदूरपश्चिम पदक तालिकाको दोस्रो स्थानमा रहेको छ। कोशी प्रदेश १४ स्वर्णसहित ७३ पदक हासिल गर्दै तेस्रो स्थानमा रहेको छ।
समान ११ स्वर्ण हासिल गरेको लुम्बिनी चौथो र पाचौ स्थानमा कर्णाली प्रदेश रहेको छ। लुम्बिनीको १६ रजतसहित कुल ५५ पदक र कर्णालीको १० रजतसहित कुल ४५ पदक हासिल गरेको छ। त्यसैगरि गण्डकी १० स्वर्णसहित छैटो र ३ स्वर्णसंगै मधेश प्रदेश अन्तिम स्थानमा रहेको छ। खेलकुद अन्तर्गत पुरूष क्रिकेट र फुटबलको फाईनल खेल बाँकि रहेको छ। खेलकुदको समापन बैशाख १ गते हुनेछ।
Discussion about this post