चितवन । चितवनको भरतपुरमा सम्पन्न प्रथम संस्करणको अन्तर प्रदेश राष्ट्रिय खेलकुदअन्तर्गत फुटबलतर्फ कोशी प्रदेशले स्वर्ण पदक जितेको छ ।
आइतबार मकवानपुरको हेटौंडा उपमहानगरपालिका-६ स्थित गौरीटार बहुउद्देश्यीय रंगशालामा भएको फाइनल खेलमा बागमतीमाथि १-० गोलको जित निकाल्दै कोशीले उपाधि उचालेको हो ।
कोशीको जितमा निखिल तामाङले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
दोस्रो हाफको ४५औं मिनेटमा निखिलले गोल गर्दै कोशीलाई ‘गोल्ड’ दिलाए । गोलकर्ता निखिल म्यान अफ द म्याच ठहरिए ।
यसअघि कोशी सेमिफाइलमा सुदूरपश्चिमलाई २-० गोलले हराउँदै उपाधिनजिक पुगेको थियो भने बागमती कर्णाली प्रदेशलाई रोक्दै अन्तिम दुईमा प्रवेश गरेको थियो ।
प्रतियोगिताअन्तर्गत अरू खेल चितवनका विभिन्न स्थानमा भए पनि पुरुष फुटबल भने हेटौंडामा भएको थियो ।
बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगिताको समापन पनि फुटबलको फाइनलसँगै भएको छ ।
गत आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको प्रतियोगिताअन्तर्गत महिला फुटबलको उपाधि पनि कोशीले नै जितेको थियो ।
शनिबार भरतपुर महानगरपालिका-१९ स्थित बखान मिनी रंगशाला शारदानगर फुटबल मैदानमा भएको खेलमा कोशीले सुदूरपश्चिमलाई २-० गोलले हराएर स्वर्ण जितेको थियो ।
कोशीको जितमा जेनिफर मगर र समीक्षा मगरले एक-एक गोल गरेका थिए ।
Discussion about this post