विराटनगर । विराटनगरमा बुधबार दिउँसो दुई समुदायबीच दोहोरो झडप भएको छ । झडपका कारण विराटनगरको रानी क्षेत्र तनावग्रस्त बनेको छ ।
रामनवमीको अवसरमा हिन्दु सम्राट नेपालले निकालेको यालीली मुस्लिम बस्ती पुगेपछि तनाव सुरु भएको हो । विराटनगर महानगरपालिका–१५ रामजानकी मन्दिर र विराटनगर–१३ नहर चोकबाट हिन्दु सम्राट नेपालका मोरङ अध्यक्ष बलराम यादवको नेतृत्वमा सवारीसाधनसहितको र्याली निकालिएको थियो ।
स्थानीय प्रशासनका अनुसार विराटनगर बजार परिक्रमा गरी र्याली रामजानकी मन्दिरनजिक पुगेर कोणसभामा परिणत हुने कार्यक्रम थियो । तर, रानी रोड, हनुमान मन्दिर, आईसीपी रोड, छाला फयाक्ट्री र मण्टा पोखरी हुँदै र्याली मुस्लिम बस्ती पुगेपछि तनाव सुरु भएको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार रामजानकी मन्दिर निस्कने क्रममा विराटनगर–१५ र १७ स्थित मुस्लिम बस्तीमा पुगेपछि र्यालीलाई अवरोध गरिएको थियो ।
‘हिन्दुहरुको जुलुस मुस्लिम बस्ती हुँदै रामजानकी मन्दिर निस्कन खोज्दा अवरोध भएको पाइयो । मुस्लिम समुदायले आफूहरुको बस्तीको बाटो भएर र्याली ननिकाल्न भनेछन् । अलग्गै बाटो प्रयोग गरेर जुलुस निकाल्न आग्रह गरेका रहेछन्,’ उनले भने, ‘तर, हिन्दुहरुको जुलुस मुस्लिम बस्ती भएर जानलाई बल गरेपछि तनाव सुरु भएको हो । त्यसपछि दुई पक्षीय झडपको अवस्था उत्पन्न भयो । दुवै पक्षको हठका कारण अवस्था तनावपूर्ण बनेको छ ।’
हिन्दु र मुस्लिम समुदाय झडपमा उत्रिएपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको प्रजिअ भट्टराईले बताए । उनका अनुसार स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास, लाट्ठी चार्ज र हवाई फायर गर्नु परेको छ ।
यो समाचार तयार पार्दासम्म प्रहरीले २ राउण्ड हवाई फायर र १५ सेल अश्रुग्यास प्रहार गरिसकेको छ । दुई पक्षको झडपमा परेर ५ जना प्रहरी घाइते भएका छन् । घाइते सुरक्षाकर्मीको संख्या बढ्न सक्ने प्रजिअ भट्टराईले बताए । घाइते सुरक्षाकर्मीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनका अनुसार घटनामा परेर दुवै पक्षका केही मानिसहरु घाइते भएका छन् । घाइतेको थप विवरण प्राप्त भइसकेको छैन ।
विराटनगरको रानी क्षेत्रमा अहिले पनि दुई पक्षबीच ढुंगामुडा भइरहेको छ । दुवै पक्ष लाट्ठी, तरबारलगायतका घरेलु हतियारसहित झडप र प्रदर्शनमा उत्रिएका छन् । स्थिति भड्किन नदिन ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ । मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीलगायतका प्रहरी अधिकारीहरु फिल्डमै खटिएर दुवै पक्षलाई सम्झाइबुझाइ गर्दै स्थितिलाई थप भड्किन नदिन प्रयासरत छन् । प्रहरीले दुवै पक्षसँग आवश्यक समन्वय गरिरहेको छ ।
संयमता अपनाउन प्रशासनको आग्रह
स्थानीय प्रशासनले वर्षौदेखिको धार्मिक सहिष्णुता कायम राख्नुपर्नेमा जोड दिएको छ । संयमता अपनाउन र परिस्थिति भड्किन नदिन प्रशासनले सबैमा आग्रह गरेको छ । धार्मिक गतिविधिका नाममा हुने गरेका अराजकता कानुनी कारबाहीको विषय बन्ने प्रजिअ भट्टराईले बताए ।
‘अराजकता फैलाउने र माहोल बिगार्नेलाई कारबाही हुन्छ । गलत हर्कत गर्नेहरुको सूची प्रशासनले तयार पारिरहेको छ,’ उनले भने, ‘धार्मिक गतिविधिका नाममा गलत गर्ने छुट कसैलाई छैन । परिस्थिति सामान्य पार्न सबै पक्षले सहयोग गर्नुपर्छ ।’ धार्मिक अगुवाहरुले पनि परिस्थिति भड्किन नदिन सबैमा आग्रह गरेका छन् ।
Discussion about this post