विराटनगर । विराटनगरमा दुई समुदायबीच बुधबार दिउँसो भएको दोहोरो झडप नियन्त्रणमा लिन प्रहरीले ७ राउण्ड हवाई फायर गरेको छ ।
परिस्थिति नियन्त्रण बाहिर जान नदिन २७ सेल अश्रुग्यास प्रहार गरिएको छ । दोहोरो झडपका कारण अवस्था तनावग्रस्त बनेपछि नियन्त्रणमा लिन सुरक्षाकर्मीले बल प्रयोग गर्नु परेको हो । मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले दुई समुदायबीच भएको झडप नियन्त्रणमा लिन लाट्टी चार्ज, हवाई फायर र अश्रुग्यास प्रहार गर्नु परेको जानकारी दिए ।
उनका अनुसार ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर स्थितिलाई नियन्त्रणमा लिइसकिएको छ । सुरक्षा उपस्थिति मजवुत बनाइएपछि र केही प्रदर्शनकारीलाई पक्राउ गरिएपछि अवस्था साँझदेखि सामान्य बन्दै भट्टराईले बताए । उनका अनुसार सुरक्षा अधिकारी र स्थानीय प्रशासनको पहल एवं समन्वयमा अवस्था सामान्य बन्दै गएको हो ।
झडपका कारण विराटनगरको रानी क्षेत्र बुधबार दिउँसो निक्कै बेरसम्म तनावग्रस्त बनेको थियो । दुई पक्षको झडपमा परेर ५ जना प्रहरी र १२ वर्षीय बालक घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
रामनवमीको अवसरमा एउटा समुदायले निकालेको र्याली अर्को समुदायको बस्तीमा पुगेपछि तनाव सुरु भएको थियो । विराटनगर महानगरपालिका–१५ रामजानकी मन्दिर र विराटनगर–१३ नहर चोकबाट सवारीसाधनसहितको र्याली निकालिएको थियो ।
स्थानीय प्रशासनका अनुसार विराटनगर बजार परिक्रमा गरी र्याली रामजानकी मन्दिरनजिक पुगेर कोणसभामा परिणत हुने कार्यक्रम थियो । तर, रानी रोड, हनुमान मन्दिर, आईसीपी रोड, छाला फयाक्ट्री र मण्टा पोखरी हुँदै गएको र्यालीलाई अवरोध गर्न खोजिएपछि तनाव सुरु भएको हो ।
प्रजिअ भट्टराईका अनुसार रामजानकी मन्दिर निस्कने क्रममा विराटनगर–१५ र १७ मा र्याली पुगेपछि अवरोध गरिएको थियो । ‘एउटा समुदायको जुलुस अर्को समुदायको बस्ती हुँदै रामजानकी मन्दिर निस्कन खोज्दा अवरोध भएको पाइयो । अवरोध गर्ने समुदायले आफूहरुको बस्तीको बाटो भएर र्याली ननिकाल्न भनेछन् । अलग्गै बाटो प्रयोग गरेर जुलुस निकाल्न आग्रह गरेका रहेछन्,’ उनले भने, ‘तर, जुलुसले त्यही बस्ती हुँदै जानलाई बल गरेपछि तनाव सुरु भएको हो । त्यसपछि दुई पक्षीय झडपको अवस्था उत्पन्न भयो । दुवै पक्षको हठका कारण अवस्था तनावपूर्ण बन्न गयो ।’
एकअर्काको विरोधमा उत्रिएकाहरुले ढुंगामुडा गर्दै प्रदर्शन गरेका थिए । दुवै पक्ष लाट्ठी, तरबारलगायतका घरेलु हतियारसहित झडप र प्रदर्शनमा उत्रिएको प्रहरीले जनाएको छ । प्रजिअ भट्टराईका अनुसार माहोल भड्किन नदिन ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गर्नु परेको थियो । अहिले स्थितिलाई सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिइसकेको उनले बताए ।
उनका अनुसार माहोल भड्काउन र भीडलाई उत्तेजित बनाउन भूमिका खेल्ने ३ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएकाहरु माथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । पहिचान भएका केही व्यक्तिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीलगायतका प्रहरी अधिकारीहरुले फिल्डमै पुगेर दुवै पक्षलाई सम्झाइबुझाइ गर्दै स्थितिलाई थप भड्किन नदिन भूमिका खेलेका थिए । एसपी कार्कीसहितका सुरक्षा अधिकारीले संयमता अपनाउँदै आवश्यक समन्वय गरेर महोल सान्त बनाएका हुन् । सुरक्षा सक्रियताकै कारण ठूलो क्षति हुन पाएन ।
स्थानीय प्रशासनले वर्षौदेखिको सामाजिक सहिष्णुता कायम राख्नुपर्नेमा जोड दिएको छ । संयमता अपनाउन, परिस्थिति भड्किन नदिन तथा एकअर्कामा आक्रामक नबन्न प्रशासनले सबैमा आग्रह गरेको छ । अनेक गतिविधिका नाममा हुने गरेका अराजकता कानुनी कारबाहीको विषय बन्ने प्रजिअ भट्टराईले बताए ।
‘अराजकता फैलाउने र माहोल बिगार्नेलाई कारबाही हुन्छ । गलत हर्कत गर्नेहरुको सूची प्रशासनले तयार पारिरहेको छ,’ उनले भने, ‘विभिन्न गतिविधिका नाममा गलत गर्ने र हिंसा भड्काउने छुट कसैलाई छैन । परिस्थिति सामान्य पार्न सबै पक्षले सहयोग गर्नुपर्छ ।’ उनले हिंसा भड्काउन मलजल गर्नेलाई कारबाहीको दायरामा ल्याइने बताए ।
Discussion about this post