भोजपुर । महिलामाथि लुटपाट गरेको प्रकरणमा भोजपुरमा पक्राउ परेका वैद्य समूहका कार्यकर्ताबाट थप गोली र म्याग्जिन बरामद भएको छ ।
लुकाएर राखेको अवस्थामा थप २१ राउण्ड गोली र एउटा म्याग्जिन बरामद भएको भोजपुर प्रहरी प्रमुख डीएसपी सुदीपराज पाठकले जानकारी दिए । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)का कार्यकर्ता भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका ३७ वर्षीय सुमित भनिने सुमत परियार गत आइतबार राति हतियार र गोलीसहित पक्राउ परेका थिए ।
अपराधिक पृष्ठभूमिका परियारमाथि डीएसपी पाठककै नेतृत्वमा थप अनुसन्धान भइरहेको छ । इलाका प्रहरी कार्यालय दिंलाका इन्सपेक्टर कैलाशकुमार अधिकारी नेतृत्वको टोलीले षडानन्द नगरपालिका–९ भुल्केस्थित जंगलबाट उनलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका बेला सेमी अटोमेटिक पेस्तोल, म्याग्जिन, ११ राउण्ड गोली तथा महिलाबाट लुटपाट गरिएको ९ हजार ५० रूपैयाँ नगद र सुनका गरगहना बरामद भएको थियो । अनुसन्धानका क्रममा लुकाएर राखेको थप गोली र म्याग्जिन टेम्केमैयुङ–१ तिम्माबाट बुधबार बरामद गरिएको डीएसपी पाठकले बताए ।
उनका अनुसार अझै पनि गोलीलगायतका वस्तु लुकाएर राखेको हुनसक्ने आशंकामा अनुसन्धानको दायरा फराकिलो पारिएको छ । आइतबार बिहान षडानन्द–२ की ५८ वर्षीया किपासाङ ल्हामु शेर्पामाथि हतियार देखाएर लुटपाट गरिएको थियो । पाठकका अनुसार षडानन्द–९ स्थित जुगे जंगलमा शेर्पाले लगाएको सुनका गरगहना र नगद लुटेर परियार फरार भएका थिए ।
यो प्रकरणको अनुसन्धान अघि बढाएको प्रहरीले खोजतलासमा क्रममा उनलाई पक्राउ गरेको हो । परियारले लुटपाटमा आफ्नो संलग्नता स्वीकार गरिसकेको डीएसपी पाठकको भनाइ छ । उनका अनुसार विभिन्न स्थानमा भएका अन्य अपराधिक घटनामा पनि उनी संलग्न भएको हुनसक्ने आशंका छ । अन्य अपराधमा संलग्नताको विषय अनुसन्धानपछि पत्ता लाग्ने पाठक बताउँछन् ।
अपराधिक पृष्ठभूमिका परियार यसअघि विभिन्न मुद्दामा दोषी ठहर भई कैद सजाय भुक्तान गरेर छुटेका थिए । जेलबाट छुटेर उनी पुनः अपराधमा संलग्न बनेको अनुसन्धानबाट यकिन भएको छ । वैद्य समूहमा प्रवेश गर्नुअघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा हुँदै धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा ९बहुमत०मा आवद्ध भएर विभिन्न अपराधमा संलग्न भएको पत्ता लागेको छ ।
यसअघि २०७६ साल फागुन २१ गते पहिलोपटक पक्राउ परेका उनीविरुद्ध प्रहरीले संगठित अपराध, अपराधिक उपद्रव, एनसेल टावर एवं जेसीबीमा आगजनी तथा राज्यविरुद्धको कसूरसमेतका ५ वटा मुद्दा चलाएको थियो । अदालतले दोषी ठहर गर्दै उनलाई ३ वर्ष ६ महिना कैद सजायको फैसला गरेको थियो ।
त्यतिबेला सजाय भुक्तानका लागि कारगार चलान भएका थिए । परियार २०८० साल भदौमा जेलमुक्त भएका हुन् । अहिले उनीविरुद्ध हातहतियार खरखजना र डाँका मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको डीएसपी पाठकले बताए ।
Discussion about this post