विराटनगर । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले मुलुकको निर्वाचन प्रणाली परिमार्जन गर्न आवश्यक रहेको बताएका छन् ।
विराटनगर विमानस्थलमा शुक्रबार संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै खनालले निर्वाचन प्रणाली परिमार्जन हुनुपर्नेमा जोड लिएका हुन् । ‘अहिलेको निर्वाचन प्रणालीप्रति विभिन्न टीकाटिप्पणी भइरहेको छ,’ उनले भने, ‘संविधान संशोधन गरेर समय र आवश्यकता अनुसार परिमार्जन गरिनुपर्छ ।’
निर्वाचन प्रणाली धेरै खालका शक्तिबीचमा साझा सहमति गरेर बनाइएको उल्लेख गर्दै खनालले तत्काल परिमार्जन भइहाल्ने अवस्था भने नरहेको बताए । यद्यपि, संविधान संशोधन गरेर भएपनि आवश्यकता अनुरूप परिमार्जन गर्नुपर्ने रहेछभन्ने महसुस हुँदै गइरहेको उनको भनाइ छ । सबैले आवश्यकता महसुस गरेपछि निर्वाचन प्रणाली परिमार्जन हुने खनालले बताए ।
कोशी प्रदेश सरकारलाई दिएको समर्थन किन फिर्ता नलिएको भन्ने प्रश्नमा खनालले भने, ‘कोशी प्रदेश एउटा प्रक्रियामा छ ।
त्यही भएकाले पार्टीले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नभएको हो ।’ कोशी सरकारको समर्थनको विषयमा केही दिनपछि सबै टुंगो लाग्ने उनले बताए । नयाँ समीकरण अनुसार गठबन्धन अघि बढ्ने बताउँदै उनले भने,‘सबै कुरा एकैपटक हुन सक्दैन । समय लाग्छ ।’ एकीकृत समाजवादीले कोशीमा मुख्यमन्त्री नमागेको पनि उनले स्पष्ट पारे ।
‘कोशीमा केही राजनीतिक र संवैधानिक समस्याहरु छन् । सबै खाले समस्याको समाधान भइसकेपछि सबै कुरा प्रष्ट हुन्छ,’ नेता खनाल भन्छन्, ‘यो एउटा संक्रमणको समय हो । जसका कारण सरकारलाई दिएको समर्थन फिर्ता हुन सकिरहेको छैन ।’
वामपन्थी र प्रगतिशील शक्तिबीच एकताको पक्षमा आफू रहेको उनले बताए । खनालले भने, ‘कोशी र अन्य प्रदेशलाई मात्रै हैन, सिंगो देशलाई एकता चाहिएको छ ।’
Discussion about this post