विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका–७ लालीगुराँस टोलमा रहेको एउटा होटलमा बुधबार बिहान आगलागी हुँदा ५० लाख बराबरको क्षति भएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार हर्क श्रेष्ठले सञ्चालन गरेको च्वाइस होटलमा बिहान २ः२० बजेतिर आगलागी भएको हो । आगलागीको कारण खुल्न सकेको छैन । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
प्रहरीका अनुसार आगोले होटल सञ्चालन गरिएको घरसहित घरभित्र रहेको नगद, सुनचाँदी, अन्नपात, होटलका सामान, भाँडवर्तन, फ्रिजलगायत जलेर ध्वस्त भएको छ । ‘होटलमा आगो लाग्दा ठूलो क्षति भएको छ,’ बस्नेतले भने, ‘घटना कसरी भयो भनेर अनुसन्धान सुरु गरिएको छ ।’
घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्सपेक्टर देवेन्द्र दास नेतृत्वको टोलीले अनुसन्धान सुरु गरेको हो । प्रहरी, स्थानीय र दमकलको सहयोगमा करिब १ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।
Discussion about this post