विराटनगर । विराटनगर महानगरपालिका–४ जामुनगाछीस्थित मदरल्याण्ड एकेडेमी सेकेन्डरी स्कुलमा आयाेजित ६ दिने योग शिविरकाे बुधबार समापन गरिएको छ ।
विराटनगरकाे सबै वडामा योग शिविर सञ्चालन गर्ने अभियान चलाइएको छ । त्यसअन्तर्गत गरिएको शिविरमा सहभागीहरुलाई योग प्रशिक्षक शिल्पा प्याकुरेल, सुरेश अग्रवाल, ज्ञानु बोगटी, ऋषि खतिवडा, लक्ष्मी चौधरी र ओम प्रसाईंले प्रशिक्षण दिएका थिए ।
शिविरमा जामुनगाछी क्षेत्रका स्थानीय र मदरल्याण्ड विद्यालयका शिक्षक तथा विद्यार्थीको सहभागिता रहेकाे थियाे। अब मदरल्याण्ड विद्यालय प्राङ्गणमा बिहीबारदेखि निरन्तर योग कक्षा सञ्चालन हुने पतञ्जली योग समिति मोरङका अध्यक्ष सुरेश अग्रवालले बताए ।
स्थानीय र विद्यार्थीको शारीरिक तथा मानसिक स्वास्थ्यका लागि विद्यालय प्राङ्गणमा नै योग शिविर राखिएको प्रिन्सिपल माेहन बुढाथोकीले बताए । उनका अनुसार यसै शैक्षिक सत्रबाट नियमित याेग कक्षा सञ्चालन गरिएकाे हाे ।
पतञ्जली योग विराटनगर महानगर समितिकी अध्यक्ष शिल्पा प्याकुरेलका अनुसार विराटनगरका सबै वडामा वार्षिक रुपमा योग शिविर राख्ने सिलसिलामा १५ वटामा वडामा कार्यक्रम भइसकेको र बाँकी चार वडामा पनि शिविरको मिति तय गरिसकिएको छ । वडा नम्बर १४ को जतुवास्थित लक्ष्मीनारायण माविमा वैशाख २३ देखि २७ सम्म, १६ को मिल्स माविमा वैशाख २८ देखि जेठ १ सम्म योग शिविर हुने छ । यस्तै वडा नम्बर १५ को विद्या आधारभूत विद्यालयमा जेठ २ देखि ८ र वडा नम्बर १७ को न्यू मुन माविमा जेठ ७ देखि ११ सम्म योग शिविर हुनेछ ।
प्याकुरेलले आफू अध्यक्ष भएपछि महानगरमा ४४ वटा योग शिविर सञ्चालन भएको जनाइन् । यसका साथै ११ वटा सह–योग शिक्षक प्रशिक्षण तालिम गरी त्यसबाट सात सय जना लाभान्वित भएका छन् । विराटनगरका विभिन्न २३ स्थानमा दैनिक योग कक्षा सञ्चालनमा रहेको उनले बताइन् ।
महिला पतञ्जली योग समिति मोरङकी अध्यक्ष लक्ष्मी चौधरीले पछिल्लो समयमा मोरङको कटहरी गाउँपालिकामा चारवटा योग शिविर भएका बताइन् । साथै थलाहा तकियास्थित शिव मन्दिरमा एक महिनादेखि दैनिक बिहान योग कक्षा सञ्चालन भइरहेको छ ।
स्थानीय पाठ्यक्रममा योग
विराटनगर महानगरले जारी गरेको स्थानीय पाठ्यक्रममा योगलाई समेटिएको शिक्षा महाशाखा प्रमुख कृष्ण भट्टराईले जानकारी दिए । उनका अनुसार कक्षा ६, ७ र ८ कक्षामा २० घण्टाको दरले योग कक्षा राखिएको छ । यसबाट महानगरका विभिन्न विद्यालयमा ती कक्षाहरुमा अध्ययनरत १५ हजार विद्यार्थी लाभान्वित हुने भट्टराईले बताए ।
Discussion about this post