-धादिङमा विद्युत् सर्ट भएर घर जल्यो, दम्पतीको मृत्यु
- बागलुङको जंगलमा लागेको आगो बस्तीमा छिरेपछि अमलाचौरमा चार घरगोठ जले
- संखुवासभामा दर्जन वनजंगलमा डढेलो, आगो बस्तीमा फैलने जोखिम
- वनको डढेलो बस्तीमा पस्दा सल्यानमा आठ घरगोठ जले
श्रवण थापा
सर्लाही– सर्लाहीको विष्णु गाउँपालिका– १, बाराउद्योरण गाउँमा स्थानीय शत्रुघन राउतको घरबाट खाना पकाउने ग्यास लिक भएर फैलिएको आगोले ७२ घर जलेका छन् । खाना पकाइरहेका वेला ग्यास लिक भएर कच्ची घरमा सल्किएको आगो एकपछि अर्को घर हुँदै सिंगो गाउँमै फैलिएको हो ।
वडाध्यक्ष बिकाउ ठाकुरका अनुसार ग्यास लिक भएपछि राउतको भान्साको सिलिन्डरसमेत पड्किएको थियो । त्यहाँबाट उछिट्टिएको आगोको लप्को अन्य घरमा पनि सल्किएको थियो । अरू घरहरूमा पनि लगातार ग्यास सिलिन्डर विस्फोट हुन थालेपछि गाउँका अधिकांश घर आगलागीमा परेका थिए ।
आगलागीबाट ७२ घर जलेको प्रारम्भिक विवरण संकलन भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । गाउँमा रहेका फुसका, खपडाका र पक्की घर जलेका छन् । घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तनलगायतका सामग्री नष्ट भए पनि क्षति यकिन गर्न बाँकी छ । मानवीय र पशुचौपाया भने क्षति हुनबाट जोगिएको छ ।
आगलागीपीडितहरू छिमेकीको घर र बाराउद्योरण प्राथमिक विद्यालयमा बसिरहेका छन् । उनीहरूलाई तत्कालका लागि पालिका र स्थानीयको सहयोगमा खाद्यान्नको जोहो गरिएको विष्णु गाउँपालिकाका अध्यक्ष जवाहरलाल यादवले बताए ।
आगलागीपछि आफूहरूको गाँस, वास, कपास सबै खरानी भएको पीडित जितेन्द्र राउतले दुःखेसो पोखे । दिउँसोसम्म गुल्जार बाराउद्योरण गाउँ आगलागीपछि खण्डहर बनेको छ ।
विष्णु गाउँपालिकामा दमकल छैन । सर्लाहीमै २० पालिकामध्ये हरिवन र मलंगवा नगरपालिकासँग मात्रै दमकल छन् । हरिवनबाट दमकल मगाउँदा चार घण्टा लागेकाले वेलैमा आगो नियन्त्रण गर्न नसकेको वडाध्यक्ष बिकाउ ठाकुरले बताए । ‘हामीसँग दमकल छैन, हरिवनबाट दमकल आउन पनि ढिलो भयो । त्यसैले क्षति बढी भएको हो,’ उनले भने ।
हरिवनको दमकल बिहीबारै लालबन्दी नगरपालिका– १७, रानीगन्जमा लागेको आगो निभाउन पुग्दा बाराउद्योरणमा पनि आगलागी भएको थियो । मलंगवाको दमकल मर्मतका लागि भरतपुर लगिएको थियो ।
मलंगवाका प्रशासकीय अधिकृत होमनाथ सुवेदीले दमकल मर्मतमा लगिएकाले पठाउन नसकिएको बताए भने हरिवन नगरपालिकाले अन्यत्र आगो निभाउन खटिएको दमकल झन्डै १७ किलोमिटर दूरीमा पुग्नुपर्ने भएकाले समय लागेको जनाएको छ ।
दिउँसो १ बजेतिरबाट सुरु भएको आगो निभाउन चार घण्टापछि मात्रै दमकल पुगेको थियो भने त्यसको एक घण्टामा स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीले दमकलको सहायतामा आगो नियन्त्रणमा ल्याएका थिए । आगो लागेलगत्तै स्थानीय बासिन्दाले चापाकलको पानीले निभाउने प्रयास गरेका थिए ।
विद्युत् सर्ट भएर घर जल्यो, दम्पतीको मृत्यु
आफ्नै घरमा टाँगिएको बिजुलीको तार सर्ट भएर आगलागी हुँदा धादिङको थाक्रे गाउँपालिका– ५ पुरानडाँडास्थित घट्टेखोलाका ७० वर्षीय तेजबहादुर लामा र उनकी श्रीमती ७० वर्षीया ठूली लामाको मृत्यु भएको छ ।
आगलागीको खबर पाएलगत्तै प्रहरी टोली घटनास्थल पुग्दा वृद्ध दम्पती जलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले बताए । रातको समयमा भएको आगलागीबाट अनुमानित १२ लाखबराबरको क्षति भएको प्रहरीले जनाएको छ । घरमा लामादम्पती मात्र थिए ।
अमलाचौरमा चार घरगोठ जले
जंगलमा लागेको आगो बस्तीमा छिरेपछि बागलुङ नगरपालिका– १२ बलेवा अमलाचौरमा चार घरगोठ जलेर नष्ट भएका छन् । स्थानीय यदुनाथ पाध्या र ददिराम पाध्याको दुई घर र दुई गोठ पूर्ण रूपमा जलेका हुन् । यदुनाथको गोठ जल्दा दुई भैँसी, तीन गाई र पाँच बाख्रा पनि मरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक ऋषिराज कँडेलले जानकारी थिए । यदुनाथका अनुसार ऋण तिर्न ल्याएको दुई लाख, घरमा रहेको एक लाख र झन्डै सात तोला सुनसमेत जलेर नष्ट भएको छ । ददिरामको पनि एक गाई र एक बाख्रा जलेर मरेका छन् ।
संखुवासभामा दर्जन वनजंगलमा डढेलो, आगो बस्तीमा फैलने जोखिम
संखुवासभाको विभिन्न वनजंगलमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन । खाँदबारी नगरपालिका– ४ को फिरफिरे ढाडेभिर सामुदायिक वनमा लागेको डढेलो फैलिएर धेरै वनजंगल सखाप बनाएको छ ।
बुधबार साँझदेखि खाँदबारी– ४ स्थित अरुणदेखि शीतलपाटी निस्कने ढाडेभिरमा सल्किएको डढेलो दलपाटे, फिरफिरे र घलेगाउँसम्म फैलिएको फिरफिरे ढाडेभिर सामुदायिक वन समूहका अध्यक्ष भोलामान गुरुङले जानकारी दिए । डढेलो धेरै ठूलो क्षेत्रमा फैलिएकाले नियन्त्रणमा लिन नसकिएको उनले बताए । स्थानीय, प्रहरी र सशस्त्रले नियन्त्रण लिन धेरै प्रयास गरे पनि असफल भएको उनको भनाइ छ ।
वनको डढेलो बस्तीमा पस्दा सल्यानमा आठ घरगोठ जले
सल्यानको छत्रेश्वरी गाउँपालिका– ५ लेखपोखरामा सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्दा आठ घरगोठ जलेर नष्ट भएका छन् । लेखपोखराको दियार गाउँस्थित महेन्द्र बहुमुखी सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पुग्दा छत्रेश्वरी गाउँपालिका– ५ दियार गाउँका पाँच घर र तीन गोठ नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
वनमा लागेको डढेलो गाउँसम्म पुग्दा स्थानीयका घरगोठहरू पूर्ण रूपमा जलेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानीप्रसाद धमलाले जानकारी दिए ।
उनका अनुसार छत्रेश्वरी– ५ दियार गाउँका थलबहादुर घर्तीको घर, मोहन वलीको दुईवटा कच्ची घर, टोकाराम वलीको कच्ची घर, प्रेम वलीको कच्ची घर तथा सामान नष्ट भएको छ । स्थानीय धनबहादुर घर्ती, शेरबहादुर वली र खुमबहादुर वलीको गोठ पनि पूर्ण रूपमा नष्ट भएको छ ।
आजको नयापत्रिका दैनिकमा प्रकाशित छ ।
Discussion about this post