विराटनगर । विराटनगरमा पदक विजेतलाई खेलाडीलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका पदक विजेता रहेका छन् ।
जिल्ला खेलकुद विकास समिति मोरङले कार्यक्रमको आयोजना गरी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक विजेता मोरङका खेलाडीहरूलाई सम्मानित गरेको हो । सम्मानित हुने खेलाडीहरूलाई नगद ३ हजार रुपैयाँ, ट्रयाकसुटसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत, जिल्ला खेलकुद विकास समिति मोरङका अध्यक्ष इन्द्रकुमार योञ्जन, विनोद डाँगीलगायतले सम्मान गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव घिसिङले राष्ट्रपति रनिङ शिल्डमा पदक विजेताहरू नै भविष्यमा राष्ट्रिय टिममा पर्ने बताए । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव बस्नेतले सम्मान गरेर मात्रै नहुने भएकाले खेलाडीलाई जीविकोपार्जनको व्यवस्था गर्न आवश्यक रहेको बताए । विभिन्न खेलमा पदक विजेता ९ जना खेलाडीलाई सम्मान गरिएको थियो ।
Discussion about this post