धरान । केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार धरानमा विज्ञान तथा प्रविधिको क्षेत्रीय सम्मेलन सुरु भएको छ ।
मंंगलबार धरान ८ स्थित गोर्खा कम्प्लेक्स क्षेत्रीय विज्ञान तथा प्रविधि सम्मेलन समितिको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा पूर्वाञ्चलका २ सय भन्दा बढी अनुसन्धानकर्ताहरूको २ दिने सम्मेलन सुरु भएको हो ।
विज्ञान तथा प्रविधि क्षेत्रमा अनुसन्धानदाताहरूको पूर्वमा सम्मेलन पहिलो पटक भएको सम्मेलनको संयोजक डा.ललितकुमार राईले बताउनुभयो । सम्मेलनको सुरुवात प्राध्यापक विनिल अर्यालको प्रमुख आथित्वमा भएको हो ।
उक्त सम्मेलनमा विज्ञान सम्बन्धी कुल ४४ वटा अनुसन्धान पत्र प्रस्तुत रहेको र त्यस मध्ये फिजिकल साइन्स सम्बन्धी २४ वटा अनुसन्धान पत्र, बाइलोजिकल साइन्स सम्बन्धी १६ वटा र कम्प्युटर सूचना प्रविधि सम्बन्धी ४ वटा अनुसन्धान पत्र सम्मेलनमा छलफलका लागि प्रस्तुत हुने संयोजक डा.राईले बताए ।
अनुसन्धान पत्रहरू १ जना देखी ५ जनाले संयुक्त रूपमा गरेका खोजको निष्कर्षको रूपमा प्रस्तुत गर्ने, फिजिकल साइन्सका अनुसन्धान पत्रहरूमा क्यान्सरको सेलमा गरिएको खोज देखी सुनसरी जिल्लामा गरिएको डेङ्गु ज्वरोको स्वरूप सम्मका अनुसन्धानको निष्कर्ष प्रस्तुत गरिने उनले बताए ।
बाइलोजिकल साइन्सका अनुसन्धान पत्रहरूमा सन्थाल सतार जातिको ’इथ्नोबोटानिकल’ सामुदायिक अभ्यासका बारेमा गरिएको सर्वेक्षण देखी आदिवासी राई समुदायमा पाइने औषधीय वनस्पतिको प्रयोग अध्यास सम्बन्धी अध्ययन समावेश रहने संयोजक डा.राईले बताए ।
विज्ञान प्रविधिमा भएका अनुसन्धान कार्य तथा अनुसन्धानकर्तालाई सार्वजनिक मञ्च प्रदान गर्ने उद्देश्यले गरिएको आयोजक समितिका उपप्राध्यापक धिरेन लिम्बुले बताए ।
Discussion about this post