विराटनगर । कोशी प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागि नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीलले दाबी पेस गरेका छन् ।
कार्कीले एमाले र नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्यको समर्थनमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार दाबी पेस गरेका हुन् ।
माओवादी प्रदेश संसदीय दलका इन्द्रबहादुर आङ्बोसहित दुवै दलका केही प्रदेश सांसदको उपस्थितिमा प्रदेश प्रमुखको कार्यालयमा पुगेर उनले दाबी पेस गरेका हुन् । उनलाई एमालेका ३९ र माओवादीका १३ सहित ५२ जना (बहुमत) प्रदेश सांसदको समर्थन छ ।
प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनका लागि दाबी पेस गर्न बुधबार राति आह्वान गरेका थिए । कार्की प्रदेशसभाको दोस्रो कार्यकालका लागि संविधानको धारा १६८ को उपधारा २ बमोजिम अन्य दलको समेत समर्थनमा २०७९ पुस २४ गते पहिलोपटक मुख्यमन्त्री नियुक्त भएका थिए । तर, केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै प्रदेशसभाबाट विश्वास गुमाएपछि उनी नेतृत्वको सरकार २०८० असार १५ गते ढलेको थियो ।
सर्वोच्च अदालतको परमादेशबाट धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको नेताको हैसियतामा २०८० भदौ २२ गते उनी मुख्यमन्त्री नियुक्त भए । प्रदेशसभाबाट विश्वासको मत पाउने आधार नबनेपछि उनले असोज २० गते राजीनमा दिएका थिए ।
केन्द्रमा पुनः एमाले र माओवादीको गठबन्धन बनेपछि कार्कीले तेस्रोपटक प्रदेशको मुख्यमन्त्री बन्न दाबी पेस गरेका हुन् ।
स्रोतका अनुसार कार्कीलाई आज (बिहीबार) नै मुख्यमन्त्री नियुक्त गर्ने तयारी छ । उनले दाबी पेस गरेलगत्तै प्रदेश प्रमुखको कार्यालयले समर्थकको सनाखत गराउने र प्रदेश प्रमुख खापुङले मुख्यमन्त्री नियुक्त गर्ने स्रोतले बतायो ।
एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्रीमा कार्कीको दाबी पेस भइसकेको जानकारी दिए । सांसदको सनाखतका लागि आफूहरु तयारी अवस्थामा रहेको उनले बताए ।
कोशीको ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । कार्कीको पक्षमा ५२ मत छ ।
सर्वोच्च जाँदै केदार कार्की
यसअघि गत असोज २७ गते नेपाली कांग्रेसका नेता केदार कार्की कोशीको मुख्यमन्त्री नियुक्त भएका थिए । कांग्रेसका विद्रोही ८ र एमालेका ३९ जना सांसदको समर्थनमा संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नै उनी मुख्यमन्त्री नियुक्त भएका हुन् । कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्दा पनि सांसदको हस्ताक्षर सनाखत गराइएको थियो । उपधारा ५ सरकार गठनको अन्तिम विकल्प हो ।
प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेपछि कामचलाउ बनेका मुख्यमन्त्री कार्की आफ्नो सत्ता जोगाउने योजनासहित सर्वोच्च अदालत जाने तयारीमा छन् । सर्वोच्चमा रिट दिनका लागि उनी काठमाडौं गइसकेको बताइन्छ । प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि गरेको आह्वानविरुद्ध कार्कीले रिट दायर गर्ने स्रोतको भनाइ छ ।
कार्कीले एउटा सरकार हुँदा हुँदै अर्को सरकार गठनका लागि आह्वान भएपछि सर्वोच्च अदालत जान लागेको बताए । प्रदेश प्रमुखबाट घोर असंवैधानिक कदम चालिएको उनको भनाइ छ । ‘मुख्यमन्त्री हटाएको पनि छैन । पदमुक्त भएको भनिएको छैन । दुईवटा प्यारालल सरकार बनाउन पाइन्छ त ?’ उनले प्रश्न गरे ।
संविधान अनुसार आफूले यसअघि नै विवश्वासको मत लिइसकेको दाबी कार्कीको छ । प्रदेश प्रमुखको कदमविरुद्ध आजै रिट दायर गर्ने जानकारी उनले दिए । सर्वोच्चमा प्रदेश प्रमुखको आह्वान खारेजी र उपधारा ५ अनुसारको सरकार भएकाले आफ्नो नेतृत्वको सरकारको निरन्तरताको माग गर्ने कार्कीले बताए ।
Discussion about this post