विराटनगर । मोरङको बाटो हुँदै भारततर्फ लैजान लागिएको ठूलो परिमाणको गाँजा प्रहरीले बरामद गरेको छ ।
मकैबारीभित्र गाँजा लुकाएर राखिएको विशेष सूचनाका आधारमा नियन्त्रणमा लिन बिहीबार बिहान १ः३० बजेतिर प्रहरी टोली खटिएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्सपेक्टर किशोर तामाङ र इलाका प्रहरी कार्यालय रानीबाट इन्सपेक्टर सन्दीप बेलबासेको नेतृत्वमा खटिएको संयुक्त टोलीले मोरङको जहदा गाउँपालिका–३ हात्तीबन्दाबाट गाँजा बरामद गरेको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार २ सय १८ किलोग्राम गाँजासहित जहदा–३ का ३४ वर्षीय भगवान किस्कुलाई पक्राउ गरिएको छ । भारततर्फ लैजाने तयारी गरेर मकैबारीभित्र लुकाईछिपाई राखिएको अवस्थामा गाँजा बरामद भएको प्रहरीले जनाएको छ । डीएसपी बस्नेतका अनुसार मकैबारीभित्र बनाइएको टहरामा गाँजा लैजाँदै गर्दा किस्कु पक्राउ परेका हुन् ।
बरामद भएको गाँजा र पक्राउ परेका किस्कुलाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याएर थप अनुसन्धान अघि बढाइएको छ । किस्कुविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाइने डीएसपी बस्नेतले बताए । प्रहरी स्रोतका अनुसार भारततर्फ कटाउने योजनाअनरुप अवैध धन्दामा संलग्न गिरोहले सीमा क्षेत्रनजिक गाँजा भण्डारण गरेर राखेको पाइएको छ ।
प्रहरीले बरामद गर्दा प्लाष्टिकको बोराभित्र भुस हालेर त्यहाँभित्र गाँजा राखिएको थियो । गाँजा बरामद भएको स्थान नेपाल–भारत सीमानजिकै पर्छ । पहाडी जिल्लामा उत्पादन भएको गाँजा अवैध हिसाबले भण्डारण गरेर भारततर्फ लैजान खोजिएको प्रहरीका एक अधिकारी बताउँछन् । उनका अनुसार तत्काल बरामद गर्न सकिएका कारण गिरोहले गाँजा भारत लैजान नपाएको हो ।
पक्राउ परेका किस्कु गाँजाको अवैध धन्दा चलाउने गिरोहका भरिया मात्रै हुन् । प्रहरीका अनुसार गाँजाका वास्तविक कारोबारीको भने पहिचान हुन सकिरहेको छैन । प्रारम्भिक अनुसन्धानबाट प्राप्त विवरण र किस्कुले दिएको जानकारीका आधारमा गाँजाको अवैध धन्दामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
पहाडी जिल्लामा उत्पादन हुने गाँजा सुरक्षाकर्मीलाई छलेर विभिन्न बाटोको प्रयोग गर्दै भारत लैजाने गरिएको छ ।
Discussion about this post