विराटनगर : नेपाली काँग्रेस विराटनगर महानगर कमिटीले कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुंगको पुत्ला दहन गरेको छ ।
संविधानको गलत बाटो हुदै प्रदेश प्रमुख खापुंगले नयाँ सरकार गठन गराएको आरोप लगाउदै महानगर कमिटीले बिहीबार राती विराटनगरस्थित घाँस चौकमा पुत्ला दहन गरेको हो ।
नेपाली काँग्रेस विराटनगर महानगर कमिटीका सभापति दिपक चापागाइले प्रदेश प्रमुखले मध्यरातमा सरकार गठनका लागि पत्र पठाउनुलाई गलत अभ्यास भएको बताएका छन् । हाल देखिएको परिस्थितीबारे प्रदेश प्रमुखले राजनीतिक राय सरसल्लाह नलिकन चालेको कदमप्रति गंभीर आपत्ती रहेको सभापति चापागाइले बताए ।
लोकतन्त्रको पवित्र भूमि विराटनगरमा प्रदेश प्रमुखले चालेको कदमप्रति असन्तुष्टि ब्यक्त गर्दै सभापति चापागाईले संविधानको मुलमर्म अनुसार प्रदेश र केन्द्र चल्नुपर्ने माग गरे ।
उनले भने, ‘संविधानको मुलमर्मलाई कसैले नमिचि, संघीयता र संविधानको रक्षा गरेर सरकार अघि बढ्नुपर्छ । तर संविधान र संघीयताविरुद्ध केही षडयन्त्र भए काँग्रेसले प्रतिवाद गर्छ। आन्दोलन हुनेछ । अहिलेपनि प्रदेश प्रमुखले गलत अभ्यास अघि बढाउनु भयो। हाम्रो गंभीर आपत्ती छ।’
काँग्रेसको आन्दोलनले अहिलेको सत्ता समीकरण दुई मिनेटमा ढाल्न सक्ने क्षमता राखेको उनको भनाई छ । पुत्लादहनका क्रममा विराटनगर महानगर वडा नम्बर ६ का अध्यक्ष हरिशचन्द्र सहनीसंगै अन्य कार्यकर्ता रहेका थिए ।
Discussion about this post