इटहरी । पछिल्लो समय इटहरीमा एक पछि अर्को सहकारी ठगीका घटनाहरू बाहिरिन थालेपछि इटहरी उपमहानगरपालिकाले ऋण लिएर नतिर्ने ऋणीहरूको व्यक्तिगत सम्पत्तिदेखि बैङ्क खातासम्म रोक्का गर्ने चेतावनी दिएको छ ।
सहकारी संस्थाका सञ्चालकहरूले समेत रकम हिनामिना गरेको भन्दै धमाधम उजुरी पर्न थालेपछि उपमहानगरले त्यस्तो चेतावनी दिएको हो ।
नगरमा सञ्चालनमा रहेका राम्रा भनिएका सहकारीहरूले नै बचतकर्ताहरूको रकम फिर्ता गर्न नसकेको तथ्य एकपछि अर्को गर्दै बाहिरिन थालेपछि ऋण लिएको रकम तत्काल फिर्ता गर्न आव्हान गरिएको सहकारी विभागका प्रमुख वालकुमार पोखरेलले बताए ।
ऋणीहरूले आफूले लिएको ऋण तिर्नु नपर्ने भन्ने जस्ता भ्रामक र गैरजिम्मेवारपूर्ण अभिव्यक्ति समेतको आधारमा ऋण चुक्ता नगर्ने परिपाटीले संस्थामा सदस्यहरूको बचत फिर्ता गर्न असहज भएको र बचत फिर्ता नभएको भन्दै धमाधम सहकारी शाखामा उजुरी पर्न थालेपछि सूचना जारी गरिएको प्रमुख पोखरेलले बताए ।
सहकारीका सञ्चालकहरू आफैँले मनोमानी ढङ्गले ऋण लिने र नतिर्ने, सञ्चालकहरूले आफ्ना नजिकका मानिसहरूलाई विना धितो ऋण प्रदान गर्ने र ऋणीहरूले आफूले लिएको ऋण नतिर्ने जस्ता अवैधानिक कार्यहरू गर्नाले इटहरीमा एकपछि अर्को सहकारी डुब्ने समस्या बढ्दै गएको उनले बताए ।
सहकारी संस्थामा सदस्यहरूबाट लिएको बचत रकमबाट नै ऋण प्रवाह गरिने भएको हुँदा ऋणी सदस्यले आफूले लिएको ऋण समयमा नै चुक्ता नगर्दा सहकारी संस्था र ऋणी स्वयंलाई समस्या भएको साथै कतिपय सहकारी संस्थामा पूर्व सञ्चालक, सञ्चालक, व्यवस्थापक समेतले गैर जिम्मेवार भई ऋण नतिरेको पाइएको सूचनामा उल्लेख गरिएको छ ।
ऋणीहरूले समयमा नै ऋण रकम भुक्तान नगरेमा इटहरी उपमहानगरपालिकाको सहकारी ऐन, २०७५ (प्रथम संशोधन २०७९ सहित) को दफा ६३ र दफा ८२ बमोजिम समेत ऋणी सदस्यको पन्जिकरण बाहेक इटहरी उपमहानगरपालिकाबाट प्राप्त हुने सबै सेवाहरू उपलब्ध नगराउने सूचनामा उल्लेख गरिएको छ ।
यसका साथै ऋण नतिर्ने ऋणीहरूको सम्पत्ति र बैङ्क खाता समेत रोक्का राख्न सम्बन्धित निकायमा लेखेर पठाउने र प्रचलित सहकारी कानुन अनुसार आवश्यक कारबाही गरिने भएकोले सहकारी संस्थाबाट आफूले लिएको ऋणको साँवा, व्याज रकम सम्बन्धित सहकारी संस्थामा दाखिला गर्नु गराउनु सूचनामा अपिल गरिएको छ ।
Discussion about this post