विराटनगर । व्यवस्थापन र रेखदेखमा गरिएको गम्भीर लापरबाहीका कारण मोरङको लेटाङ नगरपालिका–९ जाँतेमा रहेको उज्यालो जीवन प्रतिष्ठान नेपाल नामक सुधार केन्द्रबाट ७ जना फरार भएका छन् ।
सुधार तथा उपचारका लागि सुधार केन्द्रमा राखिएकाहरु शुक्रबार बिहान ६ः१५ बजेतिर भागेका हुन् । घटनाका बारेमा प्रहरीले बिहान १० बजेतिर मात्रै जानकारी पाएको थियो । प्रहरीलाई समयमै खबर नहुनुले घटना गुपचुप राख्न खोजेको हुनसक्ने आशंका गरिएको छ ।
लागूऔषधलगायतको दुव्र्यसनमा फसेकाहरुलाई सुधार्न तथा उपचारका लागि केन्द्रमा राख्ने गरिएको थियो । केन्द्रको ताला खोलेर लेटाङ–५ का दिलसन तामाङ, पालदेन तामाङ, लेटाङ–६ का अनिल गौतम, लेटाङ–८ का मदन कार्की, विशाल कार्की, कानेपोखरी गाउँपालिका–७ सरोज लिम्बू र केराबारी गाउँपालिका–१० का अनुप परियार फरार भएका हुन् ।
फरार भएकामध्ये दिलसनलाई २०८० माघ १५, अनिललाई फागुन १५, मदनलाई फागुन २६, विशाललाई माघ १८, सरोजलाई माघ २९, अनुपलाई असोज ११ गते र पालदेनलाई गत वैशाख १४ गतेदेखि सुधार केन्द्रमा राखिएको थियो । सुधार केन्द्रमा सबैभन्दा लामो समय समय अनुप बसेको देखिन्छ । उनलाई लगभग साढे ७ महिनादेखि त्यहाँ राखिएको थियो ।
प्रहरीका अनुसार सुधार केन्द्रको नियमित रेखदेख र व्यवस्थापनमा देखिएको लापरबाहीले त्यहाँ राखिएकाहरु फरार भएको पाइएको छ । सुधार्नका लागि भनेर राखिएकाहरुलाई नै सुधार केन्द्रको तालाचाबी जिम्मा लगाउने गरिएको प्रहरीको भनाइ छ । ‘सुधारका लागि राखिएकालाई केन्द्रको रेखदेखदेखि सबै कुराको जिम्मा लगाइएको रहेछ,’ प्रहरी स्रोतले भन्यो, ‘त्यही गल्तीका कारण उनीहरुले भाग्ने मौका पाएछन् ।’
लागूऔषधलगायतको दुव्र्यसनमा फसेकाहरुलाई केही समयदेखि सुधारका लागि राखिएको र एक्कासि उनीहरु फरार भएको सुधार केन्द्रका सञ्चालक रेवत राईले बताए । उनका अनुसार भागेकामध्ये केही सुधारको समयावधि पुगेकाहरु पनि छन् । उनीहरुलाई स्वयंसेवकको हिसाबले काम गर्न लगाउने गरिएको राई बताउँछन् । भन्छन्, ‘अचानक उनीहरु भागेछन् । अहिलेसम्म फेला पार्न सकिएको छैन ।’
अभिभावक, परिवारका सदस्य र प्रहरीलाई जानकारी गराएर फरार भएकाहरुको खोजी तीव्र पारिए पनि फेला पार्न नसकिएको उनले बताए । भागेकाको खोजीका लागि इलाका प्रहरी कार्यालय लेटाङबाट इन्सपेक्टर भीमलाल ओलीको नेतृत्वमा पनि टोली खटिएको छ ।
केन्द्रका सञ्चालक राईका अनुसार खोजी गर्दा पनि फरार भएकाहरु नभेटिएपछि प्रहरीलाई घटनाको जानकारी गराइएको हो । सुधार केन्द्रबाट निस्किएपछि उनीहरु जंगलमा लुकेर बसेको हुनसक्ने राईको अनुमान छ । उनका अनुसार केन्द्रमा १८ जनालाई राखिएकोमा ७ जना फरार भएपछि ११ जना मात्रै बाँकी छन् ।
सुधार केन्द्र डेढ वर्षदेखि सञ्चालनमा रहेको उनले बताए । राईका अनुसार सुधार केन्द्रमा रहेकाहरु मध्येबाट नै गार्ड खटाउने गरिएको थियो । चाबी उनीहरुसँगै हुन्थ्यो । आपसी सल्लाह गरी आफूखुसी पछाडिको ढोकाको चाबी खोलेर उनीहरु भागेको राईको दाबी छ ।
सुधार केन्द्रमा दिने गरिएको यातना सहन नसकेर त्यहाँ राखिएकाहरु भागेको हुनसक्ने स्थानीयको अनुमान छ । यातना दिने गरिएको थियो कि थिएन भनेर प्रहरीले अनुसन्धान सुरु गरेको छ । केन्द्रका सञ्चालक राईले भने कसैलाई पनि कुटपिट नगरिएको र यातना नदिएको बताउँछन् ।
Discussion about this post