इलाम । कोरियन भाषा अध्ययन गर्दै आएका इलाम नगरपालिका–५ बरबोटेका २३ वर्षीय तोया घिमिरेको दुर्घटनामा परी मृत्यु भएको छ ।
साथी अभिषेक तिवारीसँग घरबाट साँझ पिक अप भ्यानमा सन्दकपुर–५ जमुना हिँडेका घिमिरेको दुर्घटनामा परी ज्यान गएको हो । जमुनाको सापकोटा गाउँस्थित भित्री कच्ची सडकमा प्र १–०३–००१ च ००६९ नम्बरको पिक अप दुर्घटना हुँदा घिमिरेको मृत्यु भएको थियो ।
दुर्घटनामा घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । पिक अप भ्यान चालक अभिषेक तिवारी भने घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी प्रकाश जबेगुले जानकारी दिए ।
प्लस टु सकेर वैदेशिक रोजगारीका लागि कोरियन भाषा सिक्दै आएका घिमिरेको दुर्घटनामा मृत्यु भएपछि उनको परिवार शोकमा डुबेको छ । दुई छोरा मध्ये कान्छो मृतक घिमिरे कुशल भलिबल प्रशिक्षक समेत रहेका थिए ।
Discussion about this post