विराटनगर । मोरङको रंगेली नगरपालिका–९ स्थित दोहमनाबाट प्रहरीले नक्कली नोटसहित एक जना महिलालाई पक्राउ गरेको छ ।
सुनवर्षी नगरपालिका–५ टकुवाकी ४० वर्षीया कुरेसा खातुन पक्राउ परेकी हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार खातुनको साथबाट नेपाली ५ सय दरका १८ वटा नक्कली नोट बरामद भएको छ । उनीसँगै रहेका अन्य २ जना पुरुष भने फरार बनेका छन् ।
प्रहरीका अनुसार खातुनसहित पहिचान नखुलेका २ जना पुरुष बोका किन्न भनेर बिहीबार दोहमना बजारमा आएका थिए । रंगेली–९ की सुकुरमुनी सन्थाल सोरेनले घरमा पालेका बोका र पाठी बिक्रीका लागि बजारमा लिएर गएकी थिइन् । खातुन र मोटरसाइकलमा रहेका २ जनाले सोरेनसँग १२ हजार रूपैयाँमा २ वटा बोका किनेका थिए । बोका किनेर १ हजार दरका ३ वटा र ५ सय दरका १८ वटा नोट दिए ।
सोरेनले नोटहरु नक्कली रहेको शंका गरिन् । त्यसलगत्तै मोटरसाइकलको बीचमा २ वटा बोका राखेर २ जना पुरुषहरु फरार बनेको डीएसपी बस्नेतको भनाइ छ । उनका अनुसार फरार भएका अपरिचित पुरुषको खोजी भइरहेको छ ।
बोका लिएर मोटरसाइकलमा २ जना पुरुष फरार भएपनि उनीहरुसँगै रहेकी खातुनलाई भने प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको इन्सपेक्टर बुद्धिराम चौलागाईं नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको थियो । खातुन पनि भाग्न खोज्दै थिइन् । उनको साथमा रहेको ५ सय दरका १८ वटा नोटसमेत प्रहरीले बरामद गरेको छ । परीक्षण गराउँदा नोटहरु नक्कली रहेको र सबैमा एउटै नम्बर उल्लेख गरेको पाइएको डीएसपी बस्नेतको भनाइ छ । उनका अनुसार विराटनगरस्थित राष्ट्र बैंकले समेत नोटहरु नाक्कली रहेको जानकारी दिएको छ ।
१ हजार दरका नोट भने सक्कली नै रहेको प्रहरीले जनाएको छ । नक्कली नोट दिइ बोका लिएर फरार भएका पुरुषहरु भारतीय नागरिक हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीका अनुसार उनीहरुलाई भगाउन खातुनले भूमिका खेलेको र आफू पनि भाग्न खोजेको पाइएको छ ।
फरार भएका पुरुषसहित पक्राउ परेकी खानुतलाई कारबाहीको माग राखेर सोरेनले प्रहरीमा किटानी जाहेरी दिएकी छन् । आफ्ना बोकासमेत फिर्ता गरिदिनुपर्ने माग उनको छ । रंगेलीका इन्सपेक्टर बुद्धिराम चौलागाईं नेतृत्वको टोली घटनाको अनुसन्धान अघि बढाएको छ । खातुनविरुद्ध मुद्रा सम्बन्धी कसुरमा कारबाही अघि बढाइने डीएसपी बस्नेतले बताए । उनका अनुसार शुक्रबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको छ ।
Discussion about this post