भारतीय सन्त स्वामी विवेकानन्द एकपटक अमेरिकामा एउटा नदीको किनारमा टहलिँदै थिए । त्यहाँको शान्त वातावरणमा उनी स्वच्छ वायु ग्रहण गर्दै नदीको स्वच्छता देख्दा मुग्ध भइरहेका थिए । त्यसरी टहलिँदा उनमा अपूर्व जोस, जाँगर र उत्साह पैदा भइरहेको थियो ।
नदी किनारमा टहलिँदा–टहलिँदै उनले त्यहाँ एउटा अनौठो दृश्य देखे । त्यहाँ केही युवक एउटा पुलमा उभिएर तैरिरहेका अन्डाका बोक्रालाई गोलीको निसाना बनाउने कोसिस गरिरहेका थिए, तर सफल हुन सकिरहेका थिएनन् । यो सब देख्दा स्वामीजीको ओठमा मुस्कान आयो ।
स्वामीजी मुस्कुराएको देखेर एक युवकले रिसाउँदै भन्यो, ‘यो काम यति सजिलो छैन जति सजिलो तपाईंलाई लागिरहेको छ, महाशय ! तपाईं पनि यसमा निसाना लगाएर हेर्नुस् । अनि बुझ्नुहुनेछ, यो काम कति कठिन छ भनेर ।’ ती युवकको कुरा सुनेर विवेकानन्दले बन्दुक समाए र एकएक गरेर १२ अन्डाको बोक्रालाई गोलीको निसाना बनाए ।
उनको त्यस्तो अचुक निसाना देख्दा युवक चकित परे । तिनले सोचे, यी स्वामीले अवश्यै धेरै दिनदेखि बन्दुक चलाइरहेका थिए होलान् । तब त यिनको निसाना यति अचुक थियो । उनीहरूमध्ये एकले भने पनि, ‘तपाईंले लामो समयदेखि यसरी गोली चलाउन अभ्यास गर्नुभएको थियो होला । अनि त यसरी निसाना लगाउन सफल हुनुभयो नि । तर, हामी त भर्खरै सिक्दै छौँ । त्यसैले हाम्रा लागि यो कठिन सावित भयो ।
ती युवकको कुरा सुनेपछि स्वामीले भने, ‘बन्दुक चलाउने अभ्यासको त कुरै छाड, आजसम्म मैले बन्दुक समातेकोसम्म थिइनँ ।’ उनको कुरा पत्याउन युवकलाई कठिन भयो । उनीहरूले अविश्वास देखाएपछि स्वामीले भने, ‘हेर, कुनै पनि विषयमा सफलता पाउन मनको संयम र एकाग्रता सबैभन्दा बढी आवश्यक छ । यदि तिमीहरूले पनि संयम र एकाग्रतापूर्वक प्रयास गरेका भए अवश्यै सफलता पाउने थियौ । त्यसैले जे गर्छौ, त्यसमा संयम र एकग्रतापूर्वक लागिपर । सफलता तिम्रो पाउमै आइपुग्छ ।’
Discussion about this post