विराटनगर : कोशी प्रदेशमा भारतसँग ४ सय २७ दशमलव ६ किलोमिटर खुला सीमा छ । चीनसँग २ सय ६१ दशमलव ७ किलोमिटर सीमा जोडिएको छ ।
नेपाल–भारत सीमा क्षेत्रको सबैभन्दा ठूलो समस्या तस्करी हो । खुला सीमाले तस्करी नियन्त्रण चुनौतीपूर्ण बन्ने गरेको छ । खुला सीमाको फाइदा उठाउँदै भारतबाट नेपाल र नेपालबाट भारततर्फ भन्सार छली गरेर विभिन्न वस्तुको अवैध ओसारपसार हुन्छ ।
तस्करी नियन्त्रण गर्ने क्रममा बेलाबखत सीमा क्षेत्रमा तनाव भइरहन्छ । सुरक्षा निकायसँग झडप भइरहेको हुन्छ । तस्करको समूहले सुरक्षा निकायलाई हतोत्साही बनाउन अनेक लफडा गरिरहेका हुन्छन् ।
तस्करी नियन्त्रणमा अवरोध पु¥याउने, सुरक्षाकर्मीलाई आक्रमण गर्ने, अवैध सामान नियन्त्रणमा लिन अवरोध पु¥याउनेजस्ता हर्कतहरु गर्ने गरिएको छ । सीमामा तनाव हुने मुख्य कारण नै तस्करी बन्ने गरेको छ । आफ्नो धन्दामा अवरोध पुगेपछि तस्करीमा संलग्नहरु सुरक्षाकर्मीमाथि जाइलाग्छन् र सुरक्षाकर्मीले ज्यादती गरेको आरोप लगाउँछन् ।
चोरी तस्करी गर्ने समूहबाट सुरक्षा निकाय, भन्सार एवं राजस्वलगायतका निकायलाई प्रभावित पार्ने प्रयास पनि हुने गरेको छ । राज्यकै निकायको मिलेमतो र संरक्षणमा संस्थागत तस्करीसमेत भइरहेको हुन्छ । जसका कारण करोडौं राजस्व गुम्ने गरेको छ । तर, कोशी प्रदेशमा संस्थागत हिसाबले हुने तस्करी अहिले ठप्प छ ।
राज्यका निकायलाई रकम बुझाएर गर्ने गरिएको खुलेआम तस्करी रोक्न सशस्त्र प्रहरी सफल भएको हो । सीमा सुरक्षा, तस्करी नियन्त्रणजस्तो महत्वपूर्ण जिम्मेवारीमा रहेको सशस्त्रले अवैध ओसारपसार नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्यो ।
विगतको तुलनामा उल्लेख्य मात्रामा तस्करीका सामान बरामद गर्नु नै सशस्त्रको सफलता हो । जसबाट करोडौं राजस्व उठेको छ । सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डीआईजी अन्जनीकुमार पोखरेल तस्करी नियन्त्रणमा अनेक चुनौतीहरुको सामना गर्नु परेको बताउँछन् । तस्करको समूहले सुरक्षा टोलीलाई आक्रमण र अवरोध गर्ने तथा सुरक्षा निकायका विरुद्ध अनेक अफवाह फैलाउनेजस्ता चुनौतीहरु खेप्नु परेको उनको अनुभव छ ।
सशस्त्रको प्रमुख बनेर कोशीमा आएपछि डीआईजी पोखरेलले संस्थागत तस्करी नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गरे । उनले ‘आर्थिक अनुशासनको पाटोमा प्रश्न उठ्यो भने म कमाण्ड छाडेर हिँड्छु’ भनेर प्रतिबद्धता जनाएका थिए । नभन्दै १४ महिना १२ दिन प्रदेशमा सशस्त्रको कमाण्ड सम्हाल्दा अनुचित लेनदेन गरेर हुने गरेको संस्थागत तस्करी रोक्न पोखरेल सफल भए ।
उनको पालामा विशेष कार्ययोजना बनाएरै सशस्त्र अघि बढेपछि तस्करी चलाउने समूह छिन्नभिन्न भयो । तस्करी चलाउनेहरुले राजनीतिकर्मीको साथ लिएर अनेक हिसाबबाट दबाब र प्रभाव सिर्जना गराउन खोजे ।
आर्थिक प्रलोभन पनि देखाए । कुनै प्रभावमा नपरेपछि पोखरेलको सरुवाका लागि चलखेलसमेत गरे । तर, आफ्नो कार्यकालमा उनी डगमगाएनन् । ‘बरु सरुवा जान्छु, अवैध धन्दालाई साथ दिन्न’ भनेर काम गरिरहे । सुरुदेखि नै लिएको अडानमा अडिग रहे । अन्ततः प्रयास गर्दा हुने रहेछभन्ने सन्देश दिन सफल भएका छन् ।
उनले ‘सीमाबासीसँग सशस्त्र प्रहरी कार्यालय’ चलाए । सीमा सुरक्षालाई प्रभावकारी बनाउँदै तस्करी नियन्त्रण गर्न सिमावर्ती वडाका वडाध्यक्षहरुको सम्मेलन नै गराएका थिए । जनप्रतिनिधिसँगको छलफल एवं अन्तरक्रियाबाट तल्लो तहसम्म पुग्न सकेकाले तस्करी रोक्न सम्भव भएको डीआईजी पोखरेल बताउँछन् । उनका अनुसार सीमा क्षेत्रका बासिन्दालाई अपनत्व महसुश गराउन सक्नु नै ठूलो उपलब्धि हो ।
‘सीमा सुरक्षामा स्थानीयको भूमिका महत्वपूर्ण हुन्छ । जनप्रतिनिधिदेखि स्थानीयलाई समेत साथमा लिएर काम गर्दा नतिजा सकारात्मक आयो,’ आफ्नो कार्यकालको फेहरिस्त प्रस्तुत गर्दै पोखरेलले भने, ‘नेपाल प्रहरीलगायतका अन्य निकायसहित भारतीय पक्षसँग समन्वय गरियो । सबैको साथ र सहयोगबाट तस्करी नियन्त्रणमा मद्धत पुग्यो ।’
भारतीय समकक्षी निकायसँग विभिन्न तहमा ३४ वटा बैठक गरिएको उनले बताए । उनका अनुसार पछिल्लो समय २ सय ५६ वटा सीमा सहजीकरण बैठक र अन्तरक्रियाहरु गरिएको छ । कोशीमा भारतसँग सीमा जोडिएका ७१ वटा वडा छन् । चीनसँग ९ र दुवै देशसँग एउटा वडाको सीमा जोडिएको छ ।
सीमाको सुरक्षालाई प्राभावकारी बनाउन सशस्त्रले नियमित गस्ती, निगरानी र कडाइमा ध्यान दिएको छ । पोखरेलको कार्यकालमा २ हजार २ सय ७७ पटक संयुक्त गस्ती र २ हजार ६ सय ६३ पटक एकल गस्ती सशस्त्रले गरेको थियो ।
‘सीमा क्षेत्रलाई २४ घण्टा नै निगरानीमा राखेर कडाइ गरियो,’ उनले भने, ‘आवश्यक रणनीति बनाउन अन्य निकायसँग पटकपटक संयुक्त बैठक गरियो ।’ भन्सार छली हुने स्थानको पहिचान गरेर निगरानी बढाउँदै नियमित अनुगमन र कारबाही गर्दा सफलता मिलेको उनले बताए ।
सशस्त्रलाई तस्करी नियन्त्रणमा थुप्रै चुनौतीहरु छन् । शंकास्पद ठाउँमा छापा मार्न विभिन्न निकायसँग अनुमति लिनुपर्ने बाध्यता छ । ‘राज्यका निकाय चुस्त दुरुस्त हुनुपर्छ । एकअर्काबीच समन्वय भयो भने गैरकानुनी काम हुन पाउँदैन,’ पोखरेलले भने ।
पोखरेल २०७९ फागुन २१ गते कोशी प्रदेशमा हाजिर भएका हुन् ।
जेठ १ गतेसम्म १४ महिना १२ दिनको कार्यअवधि पूरा गरेका उनको एपीएफ कमाण्ड तथा स्टाफ कलेज काठमाडौं सरुवा भएको छ । कोशी प्रदेशको सशस्त्र प्रहरी प्रमुखको जिम्मेवारी डीआईजी शम्भु सुवेदीले पाएका छन् । सुवेदीले सबैको विश्वास जितेर काम गर्ने प्रतिबद्धता जनाए । ‘गलत अभ्यास छाड्दा मिसन सफल हुन्छ,’ उनले भने, ‘विवेक र विधिसम्वत ढंगले काम गर्छु ।’
सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह वाहिनी मुख्यालय सुनसरीले पोखरेलको बिदाइ र सुवेदीको स्वागतमा मंगलबार कार्यक्रमको आयोजना गरेको थियो । सोही कार्यक्रममा पोखरेलको कार्यकालको प्रगति विवरण सार्वजनिक गरिएको छ । उनको कार्यकालमा सशस्त्रले अवैध सामान बरामद गरेर रेकर्ड कायम गर्न सक्यो ।
७० करोड ७ लाख १९ हजार छ सय रूपैयाँ बराबरको चोरी निकासी तथा पैठारीका सामान बरामद गरिएको पोखरेलले बताए । उनका अनुसार चालु आर्थिक वर्षको हालसम्म ४७ करोड २४ लाख ७६ हजार ७ सय रूपैयाँ बराबरको तस्करीका सामान बरामद गरिएको छ ।
सशस्त्रले आर्थिक वर्ष २०७९-०८० मा ३६ करोड २४ लाख ५६ हजार ९ सय तथा २०७८-०७९ मा १६ करोड १७ लाख ९७ हजार रूपैयाँ बराबरको समान बरामद गरेको थियो । पोखरेलले लत्ताकपडा, जुत्ता–चप्पल, चिनी, किराना सामान, खाद्यान्न, कस्मेटिक, फलफूल, मोटर पार्टस, हार्डवेयरका सामान, सुपारी, सूर्तिजन्य वस्तु, मदिरालगायतका तस्करीको सामान बरामद गरिएको बताए ।
उनका अनुसार स्रोत नखुलेको १ करोड ४७ लाख ४० हजार १ सय ४० नेपाली रूपैयाँ र प्रतिबन्धित एवं स्रोत नखुलेको ३७ लाख ४९ हजार १ सय ५२ भारतीय रूपैयाँ बरामद गरिएको छ ।
लागूऔषधतर्फ गाँजा १ हजार ६ सय ७१ किलो, ब्राउन सुगर (खैरो हेरोइन) ६ सय १६ दशमलव ९२ ग्राम, ट्रमाडोल ४४ हजार ७ सय २२ र स्पास्मिड ४ हजार २ सय १६ ट्याब्लेट बरामद गरिएको जानकारी पोखरेलले दिए ।
उनका अनुसार लागूऔषध ओसारपसारमा संलग्न १ महिलासहित १ सय १६ जनालाई पक्राउ गरेर कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ । त्यस्तै, सशस्त्रले ९ हजार ७ सय २२ क्वीफिट अवैध काठ नियन्त्रणमा लिएर कारबाहीका लागि वनलाई बुझाएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको समन्वयमा २० जना गोताखोर उत्पादन गरिएको पोखरेलले बताए । उनका अनुसार कोशीमै पहिलोपटक सशस्त्रतर्फ १८ र नेपाल प्रहरीतर्फ २ जना गोताखोर उत्पादन गरिएको हो । २०८० भदौ १७ गतेदेखि कात्तिक १८ गतेसम्म गोताखोर तालिम सञ्चालन गरिएको थियो ।
(स्वागत तथा बिदाइ कार्यक्रममा सशस्त्रका डीआईजीहरु शम्भु सुवेदी र अन्जनीकुमार पोखरेल । )
सम्भावित मानवीय क्षति रोक्न चतरा पुलमा २४ घण्टा नै गोताखोर टोली परिचालनको तयारी अनुरुप विभिन्न निकायसँग समन्वय भइरहेको उनले बताए । उनका अनुसार पुल आसपासबाट कोशी नदीमा हामफालेर आत्महत्या गर्न लागेका र पौडी खेल्ने क्रममा नदीले बगाएका ८ जनाको सकुशल उद्धार गरिएको छ ।
विपद् उद्धारमा पनि सशस्त्र सक्रिय छ । विपद्का ६ सय ५८ वटा घटनामा परेकामध्ये १ सय २ जनालाई जीवितै उद्धार गरिएको पोखरेलले बताए । उनका अनुसार ४६ वटा शव फेला पारिएको छ । त्यस्तै, सुनसरीको चतरामा २०८० चैत २७ गतेदेखि वैशाख २८ गतेसम्म लागेको महाकुम्भ मेलाबाट ३६ जनाको उद्धार सशस्त्रले गरेको थियो ।
नुहाउने क्रममा नदीले बगाएका ६ जना, हामफालेका २ जना र स्नान गर्ने क्रममा बेहोस भएर ढलेका २८ जनाको उद्धार गरिएको हो । महाकुम्भ मेलामा सशस्त्रको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार १ सय १८ जनाले सेवा लिएका थिए ।
पोखरेलको कार्यकालमा झापाको कचनकवल गाउँपालिका–५, गौरीगन्ज गाउँपालिका–४ र २ तथा मोरङको जहदा गाउँपालिका १ र ७ एवं सुनसरीको बर्जु गाउँपालिका–४ मा सशस्त्र प्रहरीका ६ वटा बोर्डर आउट पोस्ट (बीओप)को स्थापना भएको छ । सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थिति बढाउन बीओपी स्थापनालाई प्राथमिकतामा राखिएको उनले बताए ।
पोखरेलका अनुसार मोरङ, सुनसरी र झापाका सीमास्तम्भको रंगरोगन र मर्मत सम्भार गरिएको छ । १ सय ९९ वटालाई रंगरोगनसहित २ सय २१ वटाको सामान्य, ५९ वटाको मध्यम र ४ वटाको पूर्ण मर्मत सम्भार गरिएको जानकारी उनले दिए । उनका अनुसार सीमा क्षेत्रमा बनाइएका २ सय ४६ वटा घर टहरा हटाएर दशगजा खाली गरिएको छ । दशगजाको ४८ कट्ठा जमिनमा लगाइएको बाली हटाइएको छ ।
पोखरेलले आचरणविपरीत काम गर्ने डीएसपीसहित ४ सय जना सशस्त्रलाई कारबाही गरेका छन् । ‘गलत गर्ने सशस्त्रलाई कारबाहीको दायरामा ल्याएर आचरण सुधार तालिम दिइएको छ,’ उनले भने, ‘नियत सफा राखेर काम गर्नुपर्छभन्ने मान्यता हो ।’
झापाको मेचीनगर नगरपालिका–१५ का वडाध्यक्ष गुणराज भट्टराईले पछिल्लो समय सशस्त्र प्रहरीले चोरी तस्करी नियन्त्रणतर्फ तारिफयोग्य एवं प्रशंसनीय काम गरिरहेको जानकारी दिए । ‘सीमित स्रोत साधन र जनशक्तिका बावजुत पनि सशस्त्रले तस्करी नियन्त्रण गरेर राजस्व संकलनमा महत्वपूर्ण योगदान दिएको छ,’ उनले भने, ‘डीआईजी पोखरेलको नेतृत्वमा सशस्त्रले प्रभावकारी काम ग¥यो ।’ सीमा क्षेत्रबाट हुने चौपाया तस्करी र लागूऔषधको ओसारपसार रोक्न गहिराइसम्म पुग्नलाई थप रणनीति आवश्यक देखिएको भट्टराईको भनाइ छ ।
मोरङको धनपालथान गाउँपालिका–३ का वडाध्यक्ष नागेश्वर मण्डल सीमा क्षेत्रमा सशस्त्रले प्रभावकारी काम गरिरहेको बताए । ‘राम्रो कामलाई राम्रै भन्नुपर्छ । विगतमा सीमाबाट भारी मात्रामा तस्करी हुन्थ्यो,’ उनले भने, ‘अहिले ठप्प छ ।
विगतमा यसरी काम भइदिएको भए तस्करी हुँदैन थियो ।’ सशस्त्रले साथ खोजेपछि जनप्रतिनिधिका हिसाबले आफूहरुले पनि सहयोग गरिरहेको मण्डलको भनाइ छ ।
सुनसरीको बर्जु गाउँपालिका–४ का वडाध्यक्ष विनोदबहादुर गुरुङले पछिल्लो समय सीमा क्षेत्रमा निक्कै कडाइ भइरहेको बताए । ‘कडाइका कारण विगतमा जस्तो तस्करी हुन पाएको छैन । सशस्त्रले राम्रो काम गरिरहेको छ,’ उनले भने, ‘हामीले पनि सहयोग गरिरहेका छौं । प्रयास गर्दा तस्करी रोक्न सम्भव रहेछभन्ने उदाहरण सशस्त्रले प्रस्तुत गरेको छ ।’
Discussion about this post