गगन घिमिरे
नयाँ ठाउँ घुम्ने रहर सबैको मनमा हुन्छ । वसन्त ऋतुमा फुल्ने ढकमक्क गुरासँसंग लुकामारी गर्दै इलामको उच्च पहाडी क्षेत्र इलामको सन्दकपुर पुग्ने मेरो पनि मनमा रहर थियो ।
व्यस्तता र मेसो नमिलेर धेरै योजनाहरू अपुरै थिए । सन्दकपुर उक्लिने योजना बनाएका सहपाठीहरू कोही वैदेशिक रोजगारीमा, कोही आफ्नै काममा व्यस्त भएकाले योजना योजनामै सीमित थियो । तर यसपालि नयाँ वर्षको पूर्व सन्ध्यामा भने सन्दकपुर यात्रा पुरा भएको छ। चैत्र २२ गते पर्यटन अभियन्ता एवम् केचना कञ्चजंगा पर्यटन विकास समितिको कार्यकारी निर्देशक केशव धौराली सरको फोन आयो ।
सामान्य गफगाफपछि उहाँले भन्नुभयो– “गगनजी मैले तपाईँलाई २७ गतेबाट सन्दुकपुरमा हुन गइरहेको ‘पाटेनागी रेडपाण्डा महोत्सव’का लागि निम्ताको लागि फोन गरेको हुँ । कार्यक्रम चार दिनको हुनेछ । चार दिनसम्म पैदल यात्रा गरेर गन्तव्य पुग्नुपर्छ । जसरी समय मिलाउनुहोला ।’
केशव सरले प्रस्तावसँगै योजना सुनाइसक्दा मेरा खुट्टा तीन फुट माथि उफ्रिहाले । मन फुरुङ भयो । पूर्वी पहाडको उत्कृष्ट पर्यटकीय गन्तव्य सन्दकपुर पुग्ने धोको पुरा हुने भएपछि म पुलकित भइहाले । इलामकै रैथाने भए पनि सन्दकपुरको चुचुरोमा पाइला टेक्ने मौका जुरेको थिएन । उहाँको निम्तालाई मैले अफिसियल पत्र मगाए । जसले बिदा मिलाउन सहज बनायो । केही दिन अघिको अस्पताल बसाई बाट काममा फर्किएको म सन्दकपुर भनेपछि बिराम नै निको भएजस्तो लाग्यो । मन उत्साहित भयो र यात्राको चाँजोपाँजो मिलाउनतिर लागें ।
म कार्यरत अफिस रोङ गाउँपालिका मातहतको भएकाले बिदाको निवेदन दिएँ । बिदाको अनुमति पाएसँगै जाडो महिना सकिएर वसन्त सुरु भए लगत्तै दराजमा थन्क्याएका बाक्ला कपडा निकालेँ । समुद्री सतहबाट तीन हजार मिटर माथि चढ्नुपर्ने भएकाले न्याना कपडा जरुरी थियो । त्यसपछि कपडा ब्याग(लगेज)मा कोचाकोच पारेँ र सन्दकपुरको यात्राका लागि तयारी अवस्थामा भएँ ।
चैत्र २६ गते अपराह्न ३ बजेतिर म सन्दकपुर यात्रामा निस्किए । पहिलो दिन सदरमुकाम इलाम पुगेँ । २७ गते बिहान ७ बजे इलाम चोक बजारमा केशव सरलाई भेटेर यात्राको सेड्युल मिलाउने काम भयो । चोक बजारमा पर्यटन प्रवर्द्धनमा सक्रिय सञ्चारकर्मी सुजन तिम्सिनासँग भेटेपछि यात्रामा थप उत्साह थपियो ।
सुजनजी भारतबाट आएका र यात्रामा सहभागी हुन लागेको भारतीय युट्युबलाई लिन उनीहरू बसेको होटेल गएका रहेछन् । एक छिनको पर्खाइपछि गाडी लिएर सुजनजीसहित तीन जना भारतीय साथीहरू आउनुभयो । त्यसपछि सन्दकपुर यात्रा तय भयो ।
धोबी धारा पुग्दा पत्रकार खेमराज ढकाल पनि यात्रामा थपिए । त्यसपछि हामी चढेको गाडी सञ्चारकर्मीको निजी जस्तै बन्यो । गाडीले बिस्तारै मेची राजमार्गमा आफ्नो रफ्तार बढाउँदै बिब्ल्याँटो बजार कटाइ सकेको थियो । विब्ल्याँटेबाट केही माथि पुगेर हामीले मेची राजमार्गलाई छाडेर माई पोखरी जाने बाटोतिर मोडियौँ । उत्साहित मन र साथमा रहेका रमाइला साथीहरूसँग बाटोमा विविध कुरा गर्दै जाँदा जसबिरे पुगेको पत्तै भएन ।
पक्की बाटो सहजै चापँगैरीसम्म पुग्यो । गर्दैभन्दै लाँदा क्षणमै हामी माई पोखरी पुग्यौँ । माई पोखरीमा सुजनजीले बाटोबाटै तात्तातो नास्ताको बन्दोबस्त गर्नुभएको थियो र खाजा खाएर हामी चढेको गाडी भने त्यहीबाट फर्कियो । हामी त्यहाँ बसिरहँदा जिल्ला समन्वय समिति इलाम अध्यक्षको गाडी आयो र त्यसैमा चढेर हामी देउराली हुँदै यात्राको औपचारिक कार्यक्रम उद्घाटन स्थल टप्पुतिर लाग्यौँ ।
टप्पु सन्दकपुर गाउँपालिकाको वार्ड नम्बर १, २ र ३ को सीमा क्षेत्रमा पर्दछ। अहिले यो क्षेत्र रेडपाण्डा प्रजनन केन्द्र स्थापनाको लागि काम भइरहेको छ । हाम्रो यात्राको औपचारिक उद्घाटनका लागि कार्यक्रम पनि यही राखिएको थियो । त्यहाँ पुग्दा धेरै पर्यटनकर्मीहरूको आगमन भैसकेको रहेछ ।
सल्ला र गुराँसको फूलले सजाएर कार्यक्रम स्थल हेर्दै मनमोहक बनाएको रहेछ । आगन्तुकहरूलाई सन्दकपुर गाउँपालिकाका अध्यक्ष तुलाराम गुरुङ, उपाध्यक्ष हरि बहादुर लुङ्गेली मगर, प्रमुख प्रशासकीय अधिकृत यादव राउतलगायत सन्दकपुर गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारीले स्वागत गरिरहनुभएको थियो ।
स्थानीयको बाक्लो उपस्थितिको भैसकेको थियो । हामी त्यहाँ पुग्दा मेरो पुरानो चिनजानका पर्यटनकर्मीहरू पहिले नै पुगिसक्नु भएको रहेछ । इटहरीबाट देवी गौतम, धरानबाट प्रमेश श्रेष्ठ, बासु बराल, विराटनगरबाट भवेश श्रेष्ठ, दमकबाट राजन दंगाल, पत्रकार हिमाल खरेललगायतको जिल्ला बाहिरको उपस्थिति पनि उल्लेख्य थियो ।
१० बजे गर्ने भनिएको कार्यक्रम प्रमुख अतिथि आउन ढिला भएकाले औपचारिक कार्यक्रम भने सुरु हुन निकै समय लाग्यो । कार्यक्रम स्थलमा पाहुनाहरूलाई खानाको तयारी पनि भइरहेको थियो।
सन्दकपुर गाउँपालिकाको आयोजना, नेपाल पर्यटन बोर्ड र केचना कञ्चनजंगा पर्यटन विकास समितिको संयोजनमा भएको कार्यक्रममा डिभिजन वन कार्यालय इलाम, रेडपाण्डा नेटवर्क, उच्च पहाडी संस्था नेपाल र होम स्टे महासङ्घ कोशी प्रदेश सन्दकपुर गाउँपालिकाको समन्वयमा पाटेनागी सन्दकपुर रेडपाण्डा महोत्सव सुरु हुन लागेको थियो ।
केही समयको बसाइपछि कार्यक्रमका प्रमुख अतिथि इलाम क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य महेश बस्नेतको आगमनसँगै सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ अध्यक्षतामा औपचारिक कार्यक्रममा केही व्यक्तिहरूको शुभकामना मन्तव्य चल्यो । कार्यक्रम समापन भयो । खाना खाएर अब भने पैदल यात्राको तयारी सुरु भयो ।
हामीले बोक्ने ब्याग तथा बन्दोवस्तीको सामान (बेलुकीको बास र खाना) सहितको गाडी सन्दकपुर गाउँपालिकाका कर्मचारी रमेश भट्टराइको टोली आफ्नो गन्तव्यतर्फ लाग्यो । हामी २९ जनाको जम्बो टिम पैदल यात्राको लागि टप्पु हुँदै छिन्तापुको लागि अघि बढ्यो ।
हाम्रो यात्राको पहिलो दिनको बास छिन्तापु हुने थियो । छिन्तापु पुग्न हामीले ६ किलोमिटर पैदलको यात्रा गर्नु थियो । करिब २ बजेर ३० मिनेटमा टप्पुबाट हिँडेका थियौँ । टप्पु हिले हुँदै खपरेको बाटो जानु थियो । नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ बाटो र भूगोल नयाँ भएकाले सबै उत्साहित थिए । मनमा हुटहुटी जागिरहेको थियो ।
हाम्रो जम्बो टोलीमा पालिका अध्यक्ष तुलाराम गुरुङ, उपाध्यक्ष हरिबहादुर लुङ्गेली मगर, केचना कंञ्चजगा पर्यटन विकास समितिका कार्यकारी निर्देशक केशव धौराली, पत्रकार सुजन तिम्सिना, खेमराज ढकाल, वन सब डिभिजनका टेकेन्द्र बिष्ट लगायतको टिम उकालो हिड्यौं ।
यात्राका क्रममा टिममै रहेका अपरिचित यात्रीहरूसँग पनि परिचय हुँदै गयो । त्यस दिनको यात्रा नयाँ पैदल मार्गको प्रचारको लागि गरिएको थियो । हिडने क्रममा ७६ वर्षीय अध्यक्ष गुरुङको जोस र जाँगरले हामीलाई थकानको कुनै अनुभूति नै गराएको थिएन ।
अध्यक्ष गुरुङलाई त्यहाँको हरेक भूगोल बारेमा ज्ञान रहेछ । यति सम्मकी कुन घर–गोठको पानीको मुहान र चरण क्षेत्रबारे प्रस्ट ज्ञान रहेछ । लामो समयसम्म शिक्षण पेसा गरेर सामाजिक सेवा गर्दै रहँदा गाउँपालिका अध्यक्ष बन्नुभएका गुरुङले बाटोमा हामीलाई विभिन्न प्रजातिका गुराँसका बारेमा बताउँदै उकालो हिँडाउनुहुन्थ्यो ।
उकालो सकिएर हल्का तेस्रो बाटो आएपछि हामी खप्परे भन्ने ठाउँमा पुगिएछ । पहिलो दिनको पैदल यात्राको सबैभन्दा कठिन उकालो सकिएको अध्यक्षले जानकारी दिनुभयो । कहिबेर ढुंङगामा बसेर सुसेली हालेपछि फेरी अगाडी लम्कियौँ । खप्परेको उकालो अझै होला भन्ने थियो तर थकान नै महसुस नभै पार गर्दा मन भने खुसी भयो ।
खप्परेबाट हिँडेपछि मलाइ प्रकृतिले बोलाएको भान भइरहेको थियो । चिसो बतासमा चराको विभिन्न आवाज अनि आँखाले देखेसम्मको जङ्गल रातै भएर फुलेको लालीगुराँसले मन र आँखा लोभ्याएको थियो । हरियो पात नै नदेखिने गरी फूलेका गुराँसका फूलसङको स्पर्शले मन यति खुसी बनायो कि बयान गर्नै सकिन्न ।
आँखाको लेन्सले मात्र नभए क्यामेराको लेन्समा पनि ती दृश्य कैद गर्दै पाइलाहरू चालिरह्यौ । उकालो हिडदै जाँदा थकान नै मेटाउने गरी फूलेको गुराँसको फूलसङ लुकामारी खेल्दै जाँदा बाटोमा छाडिएका केही चौर गोठ पनि भेटिए तर आजकाल यता गोठ राख्ने क्रम घट्दो अवस्थामा रहेछ ।
साँझ पर्न लाग्दा हामी अलिक अगाडि भयौँ भने अध्यक्षज्यू पत्रकार साथीहरूसँग कुराकानी गर्दै अलि पछाडि रहनुभयो । त्यो बेलासम्म म, उपाध्यक्ष हरि लुङगेली, टेकेन्द्र विष्ट, दावा शेर्पालगायतको टिम उच्च पहाडी भेगमा पाइने झार जङ्गल र वनस्पतिको कुरा गर्दै पुवामाइको शिर पुग्यौँ ।
इलामको पुरानो नाम चारखोल पनि भन्ने गरिन्छ । चारखोल भन्नाले इलाम जिल्ला भएर बग्ने चार वटा खोला (जोगमाइ,माइ,पुवामाइ र देउमाइ) लाई जनाउँछ । तीनै इलामको पहिचान बोकेको एक माइको शिरको पानी पिउँदै गर्दासम्म साँझ झम्मकै भइसकेको थियो ।
शरीरले थकानको महसुस गर्न थालिसकेको थियो । त्यहाँ पुग्दासम्म अँध्यारो भएकाले अब हामी कता जाने भन्नेमा अन्योलमा पर्यौं । बाटो देख्ने साथीहरू पछाडि हुनुहुन्थ्यो । मोबाइलमा नेटवर्क थिएन । मन बेचैन हुँदै पुवामाइको कालो मोबाइलको टर्च बालेर हिडिरयौं।
केही माथि पुगेपछि उकालो सकिएर एउटा चौतारामा हामी थकाइ मार्न बस्यौँ । निकै बेर बस्दा पनि पछाडि हुने साथीहरू आइपुग्ने छाँट देखिएन । चिसो बढ्दै थियो हामी पुग्ने कहाँ हो थाहा थिएन । ब्यवथापनको बारेमा जानकार साथी निकै पछाडि छोडिनु भएछ ।
मन अतालिन थालिसकेको थियो । बिहानको खानाले छाडेर भोक लागिसकेको थियो । हामीले लगाउने कपडाको लगेज गाडीमै रहेकाले पिर परिरहेको थियो । बास बस्ने स्थानबाट तीन किलोमिटर परसम्म मात्र गाडी आउने भएकाले तीन किमी हिँड्नु नै थियो । बास बस्ने कहाँ हो थाहा नहुँदा मन बेचैन थियो ।
थाकेको शरीर अनि कपडाको लगेज कता पुग्ने भन्ने तनाव थियो । टेकेन्द्रजीले ग्लुकोज बोक्नु भएको रहेछ । ग्लुकोज खाएपछि केही राहत मिल्यो । त्यसपछि जहाँ पुगिन्छ हिँड्यौ भनेर पाइला अघि बढायौँ । अनुमानको भरमा, रातको समयमा जङ्गलमा कराउँदै हिडऔ । करिब १० मिनेट हिँडेपछि अलि पर बत्तीको मधुरो प्रकाश देख्न थालियो । त्यसपछि अलि उत्साहका साथ पाइला छिटो चाल्यौँ ।
चौँरी गोठ रहेछ भने पनि बास बस्न पाइन्छ भन्ने आशाले त्यतातिर लम्कियौँ । तर त्यहाँ पुग्दा ज्यादै खुसी लाग्यो । त्यस ठाउँका मान्छे हाम्रै साथीहरू रहेछन् । साथीहरू भेट्दा दुई वटा खुसी एकैसाथ पायौ । एक हराउन लागेको हामी सही गन्तव्यमा पुग्यौँ । अर्को भनेको साथीहरूले डोकोमा बोकेर हाम्रो लगेज ल्याइदिनुभएको रहेछ ।
हामी त्यहाँ पुग्दा करिब साढे सात भएको थियो । समुन्द्री सतहबाट ३२४० मिटरको उचाइमा रहेको छिन्तापुमा हाम्रो बास हुने भयो। मान्छे उडाउला जस्तो चिसो हावामा त्यहाँ रहेको एउटा धर्मशालामा खाना पकाउने तयारी सुरु भयो । केही साथीहरू पानी बोक्न जानुभयो भने केही दाउरा खोज्न जानुभयो । म पनि दाउरा खोज्न जङ्गल तिर पसे।
ब्यवथापनको केही साथीले धर्मशाला नजिकै टेन्ट टाँग्न थाल्नुभयो। दाउरा र पानी ल्याएर खाना पकाउनेहरूले लोकल कुखुरा काटेर तरकारी र खाना तयार गर्नुभयो ।
म लगायत अन्य दुई जना साथी मासु नखाने भएकाले आलु र सिन्की अनि मकैको च्याँख्ला मिसाएको खानाले पेट पूजा गरेर आराम गर्न लागियो । सँगै रहनुभएका गाप अध्यक्ष, उपाध्यक्ष र केशव सर अरू दुई जना महिला कर्मचारी र जन्तरे बासहितको टोली भने चिसो र स्वास्थ्यको कारण गोरुवाले तिर झर्नुभयो । गोरुवाले छिन्तापुबाट तीन किलो मिटर टाढा पर्छ । छिन्तापु रेडपाण्डाको बास्थान क्षेत्र पनि हो । बेलुकीको खाना खाएर हामी सुत्न टेन्ट तिर गयौँ। हाम्रो टेन्टमा टेकेन्द्र विष्ट, सुमन सुबेदी, उज्ज्वल बाँस्कोटा (भान्जा)र म सुत्यौँ । सुमनको खराटे मारेर घुराई ले केही समस्या गराए पनि दिनभरको पैदल यात्राले थाकेको शरीर भएकाले झुपुक्कै निदाइएछ।
बिहानीको झिसमिसेमा नै चरणमा रहेको गोरुहरू डुलेको आभास गोरुको घाटीमा बाँधिएको घण्टीको आवाजले गराइदियो । र हाम्रो निद्रा खुलाइदियो । बिहानै उठेर हिमाल हेर्न टेन्टबाट बाहिर निस्किए पनि पुरा हुन सकेन ।
छिन्तापुमा मौसम खुलेको रहेनछ । बादलले पारी क्षितिज ढाकिएकाले कंञ्चनजगा, कुम्भकर्ण, सगरमाथा, मकालुलगायतको हिमशृङखला र सूर्योदयको दृश्य एकै स्थानबाट हेर्ने धोको भने पुरा हुन सकेन। बादलले नढाकिएको भए हाम्रा क्यामेरामा सबै कैद गर्ने थियौँ ।
उक्त क्षेत्रमा विशेष गरी आन्तरिक तथा भारतको पश्चिम बङ्गालको सिलिगुढी, कलकत्तालगायतका स्थानबाट पर्यटकहरू घुम्न आउने गरेका रहेछन्। छिन्तापु प्राकृतिक सुन्दरताको साथै धार्मिक हिसाबले पनि महत्त्वपूर्ण मानिन्छ । यहाँ महागुरु फाल्गुननन्दले पनि आएर ध्यान तपस्या र पूजा गरेको बताइन्छ ।
अब हाम्रो दोस्रो दिनको यात्रा पनि सुरु भयो । आ–आफ्नो ब्याग बोक्यौँ र हिजो व्यवस्थापनको लागि लगिएको सामान बोक्न लगाएर गोरुवालेतर्फ ओरालो झर्दै गर्दा ताल पोखरी आइपुग्यौ ।
३०५० मिटरको उचाइमा रहेको ताल पोखरीको आफ्नै किसिमको विशेषता रहेछ। चिमाल, गुराँस, कुर्लिङ्गो, गोब्रे सल्ला जस्ता बोटबिरुवा रहेको क्षेत्र भएको पोखरीमा क्षणभरमै सिमलको भुवा जस्तो कुहिरो उडेर आएर पोखरीलाई ढपक्कै छोप्ने र हावाको झोकासंगै कुहिरो उडाएर लैजाँदा हिमालको सुन्दर छाया ऐना झैँ टलक्क टल्किने गरेको गाप कर्मचारी विनोद राईले जानकारी गराउनुभयो ।
रेडपाण्डा र विभिन्न कुरा गर्दागर्दै गोरुवाले भञ्जाङ आइपुग्यौ। गोरुवाले भञ्जाङमा पाँच वटा घर रहेछन् । ती घरहरूमध्ये केही पाँचथरतिर र केही इलामतिर पर्दारहेछन । गोरुवालेमा केही वर्ष अघिसम्म चौँरी गोठ मात्र थियो रे । गोठ राख्दाराख्दै मानिसहरूले घर बनाएर बस्न थालेका रहेछन् ।
यो इलाम र पाँचथरको सीमा क्षेत्र भएकाले यहाँ इलाम र पाँचथर दुवैतर्फबाट कच्ची सडकले जोडिएको छ। यहाँ पाँचथर पट्टीबाट बिजुली समेत पुगेको रहेछ। बिहानीको खाना गोरुवालेमा नै भएकाले खाना पाकुन्जेल त्यही बसिरहौँ र विद्युत् भएकाले मोबाइल तथा क्यामेरा चार्ज गर्न सहज भयो ।
खाना खाएर हामी यात्रा अगाडी बढाउन लाग्दा सन्दकपुर गाउँपालिका उपाध्यक्ष हरि बहादुर लुङ्गेली, केचना कञ्चजंगा पर्यटन विकास समितिका प्रबन्ध निर्देशक केशव धौराली, सुमन सुबेदीको स्वास्थ्यमा समस्या आएपछि उहाँहरू गेरुवालेबाट छुटिनुभयो र हामी भने सन्दकपुरको यात्राका लागि अगाडी बढ्यौँ ।
गेरुवालेबाट केही पर पुगेपछि एक भवन रुग्ण अवस्था भेट्टायौँ । त्यो राणा कालिन प्रहरी चौकी रे । २०१८ सालमा चौकी सरेर देउरालीमा राखिएको रे तर पनि अहिलेसम्म यो चौकीको नाम राणा कालिन नाम बन्दुके चौकी नै रहेको गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले जानकारी गराउनुभयो ।
बाटोभरि गुराँसै गुराँसको जङ्गल हेर्दै हामी र फोटो खिच्दै लाम पोखरी धुपी हुँदै उकालो बढ्यौँ । धुपीको नागी काटेर केही माथि पुग्दा हामीलाई प्यास र भोक लागिसकेको थियो । त्यसै बेला नजिकै गोठ देख्यौ र आशासहित केही खान पाइन्छ भनेर गयौ । गोठमा गएर सोध्दा चिया पाइयो । प्रतिकप १५ का दरले चौरको दूधमा चिया पाउने हुँदा साथीहरूले प्रतिव्यक्ति तीन कपसम्म पिउन भ्याउनुभयो । सायद चियाले नै भोक मेटाउन होला तर गोठको दाइ भाउजूले जति चिया खाए पनि खिइरहनु भयाृ ।
चिया खाएपछि हामी उकालो निरन्तर लम्किरहौँ । चिसो बतासको स्पर्शसङै भुईँ कुहिरोले घरीघरी छोपिदिन्थ्यो र क्षणभरमै उज्यालो हुन्थ्यो । साँझपख हामी आहाल पुग्यौ । हाम्रो बास पनि आहालमा नै हुने भयो । चिसो सिरेटो खप्न नसकेर बास बस्ने होमस्टे तिर नै गयौ । धेरै बङ्गाली पर्यटकले खचाखच भएकोले हामी पनि खाना खाएर दिनभरको थकान मेट्न ओच्छ्यानतिर छिर्यौं ।
बिहानीको चिसो बताससङै खुलेका आँखाले निन्द्रा पुर्याइसकेको थियो । बिहानको चिसोमा उठेर हामी सबैले चिया पियौँ । म र केही साथीहरूले चौरको दूध पनि भ्यायौँ ।
हामी आहालमा रहँदा नै सन्दकपुर गाउँपालिका अध्यक्षले आहाल घुम्न आएका बङ्गाली पर्यटकहरूलाई खादा ओडाएर स्वागत गर्नुभयो। हामी बिस्तारै सन्दकपुर तिर पाइला मोड्यौ । इलाम जिल्लाकै सबैभन्दा अग्लो स्थान सन्दकपुर ९३६३६ मिटर पुग्दा त्यहाँ भारतीय पर्यटकको बाक्लै उपस्थिति रहेछ। नेपाल र भारतको सीमामा पर्ने सन्दकपुर पर्यटकको आगमनले व्यस्त रहेछ । सन्दकपुरको प्राकृतिक सुन्दरताले जोकोहीलाई मोहित बनाउँछ ।
बिहानको समय हामी त्यहाँ पुग्दा नेपाल भूभागमा रहेको होटेल सनराइजमा पर्यटकहरू ब्रेक फास्ट गर्दै थिए । कोही होटेल चेक आउट भएर आफ्नो गन्तव्य तिर जान तयारी गर्दै थिए । म भने इलामको अग्लो स्थानमा पाइला राख्न आतुर थिए। मैले साथीहरूलाई हौसाए र डाँडातिर गयौँ । र ३६३६ मिटरको उचाइमा पुगेर नेपालको झन्डा बोकेर गीत गायौँ–‘रातो र चन्द्र सूर्य जङ्गी निशाना हाम्रो…….
यो भूभाग बारम्बार भारतले हाम्रो भनेर विवाद निकाल्ने गरेकाले हाम्रो जमिनमा राष्ट्रिय ध्वजा बोकेर स्वदेश गान गाउँदा आफैमा गर्व लागेर आयो । हामी होटेल आइपुग्दा हाम्रो सबै भेला भइसकेका रहेछन् । हामी नास्ता गर्नतिर लाग्यौँ । सन्दुकपुरमा नेपालतर्फ दुई वटा मात्र होटेल रहेछन् । होटेल शेर्पा च्यालेस र होटेल सनराइज । अरू भने नेपालतर्फ होमस्टेहरू छन्। गाउँपालिका अध्यक्षले सन्दकपुर घुम्न आएका बङ्गाली पर्यटकहरूलाई पनि खादा ओडाएर स्वागत गर्नुभयो ।
हामी बिस्तारै ओरालो हिँड्न थाल्यौ । माई खोलाको शिरमा पुग्दा माइ भगवती सँग आफ्नो शिर निहुरियाएर मनको कामना माग्यौ। इलामको चार माई मध्ये माई खोलाको शिर पनि सन्दकपुर नै हो । हामी निरन्तर ओरालो झरिरहरौ। कोशी प्रदेशको लगानीमा बनेको पैदल मार्गको निकै सहज र रमणीय स्थानमा रहेछ ।
हाम्रो यात्रा कालपोखरी(दोबाटे) – कैयाकट्टा सम्मको थियो । लेकाली झारपात बोटबिरुवा र घरको फूलबारीजस्तो रातै फूलेका लालीगुराँसको जङ्गलले लोभ्याइरहँदा विभिन्न किसिमको चराहरूको आवाजले हाम्रो यात्रामा सङ्गीत भरेको आभास गराइरहेको थियो । यात्राको तेस्रो दिन भएकाले हामी सबै परिचित भैसकेका थियौ
हामीसँग १२ वर्षको उमेरदेखि ७६ वर्ष सम्मको सहभागिता रहेको थियो । यात्राले आजबाट अझ उत्साह थप्दै थियो । किनकि हाम्रो उद्देश्य अनुसार रेडपाण्डा अर्थात् हाब्रे पाउने सम्भावना धेरै भएको क्षेत्रमा पैदल यात्रा गर्ने लागेका थियौ। रेड पण्डालाई स्थानीय भाषामा पूणेकुदो भनेर चिनिने गरिन्छ ।
निकै लजालु स्वभावको हुने हाब्रे कमै मानिसले मात्र देख्न पाउने गरेका छन् । पूणेकुदो नदेखे पनि हामीले वासस्थान , खानपान र उसको जीवनयापनको बारेमा बुझ्नु थियो। पूणेकुदोको जीवन चक्रलाई केही नजिकबाट बुझेका नोर्ला होमस्टे हाँगे थामका मित्र दावा शेर्पाले हामीलाई रेडपाण्डाको बारेमा धेरै जानकारी गराउनु भयो र रेडपाण्डा देखाउने आस जगाउनुभयो ।
मनमा पाण्डा प्रत्यक्ष देख्न पाइन्छ कि भन्ने झिनु आस भने रहिरहेको थियो । दावाजी रेडपाण्डाको गाइड भएकाले हामी केही उत्साहित थियौ । कुरा गर्दै हिँड्दा कतिखेर कालपोखरी पुगिएछ पतै भएन ।कालपोखरी पुग्दा नपुग्दै आकाशमा कालो बादल मडारिन थालिसकेको थियो। काल पोखरीमा हामी कहिबेर बिसायौँ । चिया खायौ ।
सन्दुकपुरदेखि नै हामी भारतको सिमाना नै सिमाना भएर यात्रामा थियौँ । काल पोखरीमा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्टमा त्यहाँको गतिविधिको बारेमा जानकारी लिनुभयो । हाम्रो खाना खाने दोबाटेमा थियो । केही साथीहरू काल पोखरीमा नै अल्मलिरहनु भयो । हामी भने अगाडि पाइला चाल्यौँ ।
करिब २० मिनेट जति हिँडेपछि अघि आकाशमा मडारिएको बादलले धैर्य गर्न सकेन र पानी पर्न थाल्यो । बिच जङ्गलमा न ओत लाग्ने ठाउँ न छाता भएकाले हामी भिज्नु बाहेक केही उपाय नै भएन । पानीमा भिज्दै हिडिरहयौ । सन्दकपुर गाउँपालिकाको गाडी दोबाटेबाट हामीलाई लिन आयो र करिब १.५ किलोमिटर जति गाडी चढेर दोबाटे पुग्यौ । दोबाटे पुग्दा हामीलाई भेट्न नेपाल पत्रकार महासङ्घ इलाम शाखा अध्यक्ष विप्लव भट्टराई र शिक्षक पङ्कज भट्टराई आउनु भएको रहेछ । हामी खाना खादै उहाँहरू सङ्घ कहिबेर बात मार्यौं ।
सबै साथीहरू पनि भेला हुनु भएको साथै पानी परिरहेकाले पुग्नुपर्ने कैयाकट्टाको यात्राको लागि उकालो लाग्यौ । हिजोसम्म गीत गाउने साथीहरू चुपचाप हिँडिरहनु भयो । किनकि दोबाटेबाट कैयाकट्टाको बिचमा पर्ने सबै बनमा रेडपाण्डा धेरै पाइने भएकाले मानिसको होहल्लाले असर पर्ने हुँदा साथीहरू चुपचाप हिँडिरहनुभयो ।
भुईँ कुहिरोले ढाकेको वनलाई छिचोल्दै हामी कैयाकट्टा पुग्दा माहौल अझ रमाइलो भयो। मेरा मित्र सन्दकपुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत यादव राउत, लेखा अधिकृत युवराज नेपाल ९विशाल०, पशु शाखाका पशु प्राविधिक सबिन भट्टराई हामीसँग यात्रामा जोडिन आइपुग्नु भएछ । केहिबेरको चिया खाजा पछि मादल लिएर रमाइलो नाचगानमा लाग्नुभयो । अबेरसम्म नाचगानपछि हामी खाना खाएर थकान मेटाउन रुमतिर लागौँ।
बिहान आफ्नो यात्राका लागि निस्कियौ । हाम्रो अन्तिम दिन थियो तर उल्लास भने कम भएको थिएन । कैयाकट्टाबाट हामी गैरीबाट पुग्यौ । कोही साथीहरू नेपाल पट्टिको पैदल मार्ग हिडनु भयो । कहिले भारततर्फको पैदल मार्गको यात्रा गर्यौँ । गैरी बासबाट बिस्तारै जौ बारीका लागि हिँड्यौ। करिब दुई घण्टाको हिँडाइपछि जौ बारी बजार पुगियो । जौ बारी पुरानो बजार हो । गाउँ गाउँमा सवारी साधन पुगेपछि यो सीमावर्ती बजार फस्टाउन सकेको छैन ।
जौ बारीमा हाम्रो यात्राको औपचारिक समापन कार्यक्रम रहेकाले स्वास्थ्यले साथ नदिएर छुटिनु भएका सन्दकपुर गाउँपालिका उपाध्यक्ष हरि बहादुर लुङ्गेली पनि आइपुग्नु भएको रहेछ । औपचारिक कार्यक्रम सामापन पछि खाना खाएर सबै आफ्नो गतब्यतर्फ लाग्ने तयारीमा जुट्यौँ । धेरै साथीहरू देउराली बजार(सन्दकपुर गाउँपालिकाको मुख्य कार्यालय रहेको बजार) जाने हुनुभयो भने म , सुजन तिम्सिना, खेमराज ढकाल चाही इलाम सदरमुकाम जाने भयौँ ।
इलाम बजार बाँदरे गाडी (ल्याडरोबर) चढेर इङला माई खोलाको तिरैतिर सुलुबुङ, सुम्बेक हुँदै इलाम आइपुग्यौँ । साथीहरू इलाममा नै रहने भएकाले म चाहि भोलि पल्ट बैसाख १ गते नयाँ वर्ष मनाउन धेरै आन्तरिक पर्यटकहरू आउने भएकाले साँझ गाडी चढेर राती जोर कलशमा ओर्लिएँ । यसबिचमा हाब्रे अर्थात् रेडपाण्डा वा पुँणेकुदो हेर्ने इच्छा पुरा नभएकाले मन पोलिरह्यो । यात्रा सफल अविश्मरणी र रमाइलो भए पनि रेडपाण्डा (पुणे कुदो वा हाब्रे) लाई नजिकबाट नियाल्ने सपना भने अधुरै रहयो ।
(सूचना अधिकृत– पर्यटन सूचना केन्द्र जोर कलश रोङ इलाम)
Discussion about this post