इटहरी : सुनसरीमा गोली हानेर लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) का दुई जना कारोबारीलाई पक्राउ गरिएको छ ।
सुनसरीको रामधुनी नगरपालिका–६ इचौलमा बिहीबार बेलुका काठमाडौँको कोटेस्वरबाट खटिएको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली प्रहार गरेर दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ।
प्रहरीको गोली लागेर लागुऔषध कारोबारमा संलग्न श्यामसुन्दर खान मण्डल घाइते भएका छन्। मण्डलको दायाँ खुट्टामा १ राउन्ड गोली लागेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।
मण्डलसँगै रहेका श्यामप्रसाद निरौलालाई पनि प्रहरीले पक्राउ गरेको छ। निरौला इटहरी उपमहानगरपालिका ५ का र मण्डल सप्तकोसी नगरपालिका ५ का बासिन्दा रहेको प्रहरीले जनाएको छ । प्रहरीको निगरानीमा खान मण्डलको उपचार भइरहेको छ । निरौला प्रहरी नियन्त्रणमै छन् ।
घटनाको अनुसन्धान भइरहेको र थप विवरण आउने क्रममा रहेको जानकारी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका एसएसपी जयराज सापकोटाले जानकारी दिए । उनीहरूसँग लागुऔषध रहेको सूचनापछि पक्राउ गर्न गएको प्रहरी टोलीलाई रड प्रहार गर्न खोजेपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ।
आरोपीहरूको साथबाट प्रहरीले २१० ग्राम ७ मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ। पछिल्लो समय लागुऔषध कारोबारी विरुद्ध प्रहरीले आक्रामक नीति बनाएको छ ।
पछिल्लो दुई सातामा तीन जनालाई गोली हानी नियन्त्रणमा लिइसकेको छ । लागुऔषध नियन्त्रण ब्युरोले कारोबारका मुख्य डिलरहरूविरुद्धको अप्रेसनलाई आक्रामक बनाएको हो । जसअन्तर्गत मङ्गलवार मोरङमा एक कारोबारीलाई गोली हानेर नियन्त्रणमा लिएको छ ।
ब्युरोबाट खटिएको टोलीले भारतको बिहार, किसनगन्ज घर भएका ४८ वर्षीय भगीरथ हरिजनमाथि मोरङको रतुमाई नगरपालिका– ६ कादुपाडामा गोली प्रहार गरेको हो ।
यस्तै गत १७ वैशाखमा पनि ब्युरोको टोलीले झापामा गोली प्रहार गरेर सरिफुल आलमलाई पक्राउ गरेको थियो । झापा गाउँपालिका– ३ बाट उनलाई नियन्त्रणमा लिइएको थियो ।
घरभित्रबाट पक्राउ गर्न खोज्दा खुकुरी र दाउले आक्रमण गरेपछि प्रहरीले उनको खुट्टामा गोली हानेको थियो । त्यस्तै ब्युरोको टोलीले बाँकेमा एक कारोबारीलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको थियो ।
कोहलपुर नगरपालिका– १२ चप्परगौडी घर भएका २६ वर्षीय सुशील परियारलाई जानकी गाउँपालिका– ६ गनापुरमा पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको थियो ।
Discussion about this post