विराटनगर । गुण्डागर्दीका माध्यमबाट समाजमा आतंक मच्चाउने समूहप्रति मोरङ प्रहरी निर्मम ढंगले प्रस्तुत भएको छ ।
कोशी प्रदेशको राजधानी विराटनगरमा केही समययता गुण्डागर्दी सुरु भएको छनक पाएलगत्तै प्रहरीले आक्रामक कारबाही अघि बढाएको हो । गुण्डागर्दी रोक्ने, समाजमा शान्ति सुरक्षाको अवस्था मजवुत बनाउने र आतंक फैलाउने समूहलाई कानुनको दायरामा ल्याउने प्रहरीको उदेश्य छ । गुण्डा लक्षित कारबाही अघि बढाउन मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले विशेष अभियान चलाएर टोली परिचालन गरेका छन् ।
विराटनगरमा गुण्डागर्दी गरेर अशान्ति फैलाउने समूहका ६ जनालाई प्रहरीले पक्राउ समेत गरेको छ । विराटनगर महानगरपालिका–७ का २० वर्षीय छिरिङ भनिने नेनी शेर्पा, विराटनगर–११ का १८ वर्षीय सारुख मियाँ शेख, १९ वर्षीय फैजल खान, विराटनगर–१२ का १८ वर्षीय सुमित ठाकुर, १९ वर्षीय प्रियसिलनारायण चौधरी र २० वर्षीय सौजन गुरुङ पक्राउ परेका हुन् । मोरङ प्रहरीको हिरासतमा राखिएका उनीहरुमाथि इन्सपेक्टर हेमराज ओलीको नेतृत्वमा थप अनुसन्धान भइरहेको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले पक्राउ परेकाविरुद्ध अभद्र व्यहार मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको जानकारी दिए । उक्त समूहका ४ जना फरार रहेकाले खोजी तीव्र बनाइएको उनले बताए । विराटनगर–७ का २७ वर्षीय अंकित लिम्बू, मोरङको कटहरी गाउँपालिका–२ का २३ वर्षीय सरोज यादव, करन साह र लुसिफर भनिने रोहित ठाकुर फरार छन् ।
गुण्डागर्दीमा आबद्ध समूहले विराटनगर–४ एयरपोर्ट लाइनस्थित सिंहासन रेस्टुरेन्टका कर्मचारी राहुल सहनीमाथि जेठ ६ गते राति १०ः३० बजेतिर आक्रमण गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार अंकित लिम्बूको नेतृत्वमा हतियारसहित पुगेको समूहले रेस्टुरेन्ट परिसरमा छिरेर आक्रमण गरेको हो । अंकितको समूहले पछिल्लो समय विराटनगरमा गुण्डागर्दीको सुरुवात गरेको प्रहरीको विश्लेषण छ । गुण्डाराज चलाउन अंकितले चिनजानका युवाहरुलाई भेला पारेर संगठित गर्दै लगेको अनुसन्धानबाट खुलेको छ ।
उक्त समूहले विभिन्न होटल तथा रेस्टुरेन्टमा खाएको पैसा नतिर्ने र पैसा माग्दा हतियार देखाएर आक्रमण गर्ने गरेको प्रहरीको भनाइ छ । सिंहासन रेस्टुरेन्टमा मापसे (मादक पदार्थ सेवन) गरेको र नास्ता खाएको पैसा माग्दा रिसईबी राखी योजना बनाएर सुपरभाइजरमाथि नै आक्रमण गरिएको डीएसपी बस्नेत बताउँछन् । भन्छन्, ‘केही दिनअघि रेस्टुरेन्टमा खाएको पैसा नतिरिकन बाहिरिन खोजेपछि अंकितको समूहसँग सुपरभाइजर राहुलले पैसा मागेछन् । त्यही रिसईबी राखेर ४ दिनपछि रेस्टुरेन्ट परिसरमै पुगेर उनलाई आक्रमण गरेको खुल्यो । कति रकम तिर्न थियो भनेर यकिन भइसकेको छैन ।’
घटनासँग सम्बन्धित सीसी क्यामेराको फुटेज प्रहरीले प्राप्त गरेको छ । फुटेजसहितका प्रमाणको विश्लेषण गरेर घटनाका बारेमा विस्तृत अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताए । रेस्टुरेन्ट परिसरमा राहुलसहित ३÷४ जना गफ गरेर बसिरहेका बेला एउटा समूह छिरेर उनलाई आक्रमणमा गर्न थालेको फुटेजमा देखिन्छ । केही व्यक्तिले धमाधम मुक्का प्रहार गर्न थालेपछि रेस्टुरेन्टका कर्मचारीले मूल ढोका बन्द गर्न खोजेका थिए । तर, जबरजस्ती खोलेर त्यो समूह भित्र पसेर आतंक मच्चाएको हो ।
त्यसक्रममा एक जनाले पेस्तोलजस्तो वस्तु निकालेर राहुलतिर ताके भने अर्का व्यक्तिले खुकुरीले प्रहार गरे । तर, छलिन भ्याएका कारण उनको ज्यान बचेको र चोटपटक नलागेको डीएसपी बस्नेतको भनाइ छ । उनका अनुसार पेस्तोलजस्तो वस्तु् निकाल्ने व्यक्ति छिरिङ भनिने नेनी हुन् । तर, त्यो नक्कली पेस्तोल रहेको प्रहरीले जनाएको छ । खुकुरीले चैं अंकितले प्रहार गरेको बस्नेतले बताए ।
त्यतिबेला गस्ती गर्दै प्रहरी पुगेका कारण आक्रमणकारीहरु फरार बनेको उनले बताए । भने, ‘संयोगले प्रहरी नपुगेको भए ठूलै घटना हुनसक्ने देखिन्छ । मार्ने नियत राखेर योजनावद्ध हिसाबले आक्रमण गरेको पाइयो ।’ गुण्डागर्दी गर्ने समूहले तर्साउनका लागि नक्कली पेस्तोल बोकेर हिँड्ने गरेको प्रहरीको भनाइ छ ।
नक्कली पेस्तोल देखाउने छिरिङ भनिने नेनीलाई घटनास्थलबाट पक्राउ गरिएको जानकारी डीएसपी बस्नेतले दिए । उनका अनुसार अरु ५ जना विराटनगर–७ हाटखोलाको दिव्य रत्न होटलबाट पक्राउ परेका हुन् । घटनास्थलबाट प्रहरीले १७ इन्च लामो खुकुरीको दाप बरामद गरेको थियो । खुकुरी भने बरामद भइसकेको छैन । स्टिलको लेप भएको, ७ ईन्च लम्बाई र ‘मेड इन चाइना’ लेखिएको नक्कली पेस्तोल दिव्य रत्न होटलको २०६ नम्बर कोठाबाट बरामद भएको डीएसपी बस्नेतले बताए । उनका अनुसार उक्त होटल गुण्डा समूहको नेतृत्व गरेका अंकित लिम्बूले सञ्चालन गरिरहेको पाइएको छ ।
प्रहरीले यो समूहसँग सक्कली पेस्तोल नै रहेको जानकारी पाएको छ । ‘सक्कली पेस्तोल नै रहेको जानकारी आएपछि त्यससँग सम्बन्धित थप विवरण संकलन गर्ने काम भइरहेको छ,’ प्रहरी स्रोतले भन्यो, ‘होटलबाट नक्कली बरामद भएपनि गम्भीर ढंगले अनुसन्धान अघि बढाएर सम्भावित स्थानमा छापा मार्दै सक्कली पेस्तोलको खोजी भइरहेको छ ।’
प्रहरीका अनुसार जेठ ६ गते अर्थात घटना भएको दिन प्रियसिलनारायण चौधरीको जन्मदिन सबै जना मिलेर दिव्य रत्न होटलमा मनाएको पत्ता लाग्यो । ‘चौधरीको ‘वर्थ–डे’ मनाउँदै राहुलमाथि आक्रमणको योजना बनाएको पाइयो,’ प्रहरीका एक अधिकारी भन्छन्, ‘जन्मदिन मनाएको समूहले करिब ३ किलोमिटर उत्तर–पश्चिममा रहेको रेस्टुरेन्टमा पुगेर त्यहाँका कर्मचारीमाथि आक्रमण गरेको खुलेको छ ।’
मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की गुण्डागर्दीविरुद्ध प्रहरीले विशेष कारबाही अघि बढाएको बताउँछन् । केही व्यक्तिले ‘ग्याङ’ खडा गरेर गुण्डागर्दी गर्न खोजेको पाइएपछि प्रहरी ‘एक्सन’मा गएको जानकारी उनले दिए । गुण्डागर्दीका माध्यमबाट समाजमा आतंक सिर्जना हुन हुँदैन र गुण्डाराज चलाउन खोज्ने समूहलाई कारबाहीको दायरामा ल्याउनुपर्छ भनेर प्रहरी सक्रियता बढाइएको एसपी कार्कीले बताए । भने, ‘गुण्डागर्दीविरुद्ध प्रहरी निर्मम बन्छ । आतंक र अशान्ति मच्चाउनेलाई तत्काल कारबाहीको दायरामा ल्याउँछ ।’
गुण्डगर्दीमा संलग्न रहेकाहरुको ‘कनेक्सन’ खोतल्दै विशेष ढंगले अनुसन्धान एवं कारबाहीको प्रक्रिया अघि बढाइएको उनको भनाइ छ । ‘विशेष गरेर गुण्डागर्दी गर्नेहरुको संलग्नता एवं अरु व्यक्तिहरुसँगको सम्पर्कका बारेमा बुझ्ने काम भइरहेको छ । सबै कुरा बुझेर समाजमा आतंक सिर्जना गर्ने समूहलाई तहसनहस बनाइने छ,’ कार्की भन्छन्, ‘गलत गर्नेसँग कुनै हालतमा सम्झौता हुँदैन । कानुनले दिएको अधिकार प्रयोग गरेर अघि बढ्ने हो ।’
गुण्डागर्दीका माध्यमबाट समाजमा अपराध गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याएर समाजमा शान्ति सुव्यवस्था कायम गर्नु प्रहरीको कर्तव्य हुने उनको भनाइ छ । विगतमा गु्ण्डगर्दीमा संलग्न रहेकाहरुमाथि पनि प्रहरीले सुक्ष्म ढंगले निगरानी गरिरहेको छ । उनीहरुको पृष्ठभूमिसमेतलाई अध्ययन गर्दै सबै जानकारी राखेर नयाँ हिसाबले गुण्डगर्दी गर्न खोज्ने समूहलाई नियन्त्रणमा लिन थालिएको एसपी कार्की बताउँछन् ।
Discussion about this post