विराटनगर / इलाम इलामको माई नगरपालिकामा सरकारी जमिन हडपेर फन पार्क निर्माण भएको छ । सरकारी जमिन व्यक्तिले हडपेर बसे पनि सरकारी निकायले जग्गा फिर्ता गराउन सकेका छैनन् । जग्गा हडपेको पुष्टि नै भइसकेको छ ।
जिल्ला प्रशासन कार्यालय, अक्तियार हुँदै अदालतसम्म मुद्दा पर्यो । तर स्थानीय तह जिल्ला प्रशासन कार्यालय इलाम र डिभिजन वन कार्यालय इलामले अख्तियार एवम् अदालतको निर्णय कार्यान्वयन गराउन सकिरहेका छैनन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी र उच्च अदालत विराटनगर, इलाम इजलासको निर्णय कार्यान्वयन नहुँदा सयौँ रोपनी सार्वजनिक जग्गा लामो समयदेखि व्यक्तिले फन पार्क निर्माण गरेर रजाइँ गरिरहेका छन् ।
सामुदायिक वनको जग्गामा केही व्यक्तिले रजाइँ गरिरहेका छन् । फन पार्क निर्माण भइरहेको भन्दै २०७८ साल माघ ६ गते अख्तियारको कार्यालय इटहरीमा उजुरी नै पर्यो ।
अख्तियारले २०७९ साल साउन २० गते डिभिजन वन कार्यालय इलामलाई पत्र लेख्दै ह्यापी ड्रिम्स चेप्टी प्रालिको स्वामित्वमा रहेको ४१ रोपनी जग्गा बाहेक अन्य अतिक्रमित जग्गा खाली गराई वन क्षेत्र कायम गर्न सुझाव दिएको थियो ।
यस्तै उच्च अदालत विराटनगर इलाम इजलासले समेत अतिक्रमित जग्गा नियम अनुसार खाली गराउनु भनेर २०८० साल असार ५ गते आदेश दिएको थियो ।
अख्तियार र अदालतले समेत अतिक्रमित जग्गा खाली गराउन कानुनी बाटो खोलिदिएपनि माई नगरपालिका, डिभिजन वन कार्यालय इलाम र जिल्ला प्रशासन कार्यालय इलाम बैठकमा मात्र सीमित देखिन्छन् ।
विभिन्न समयमा बैठक बसे निर्णय कार्यान्वयन गराउन ठोस पहल भएको छैन ।
इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा गत चैत्र १९ गते बसेको बैठकले नापी कार्यालयको प्राविधिक सहयोगमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय इलामका प्रतिनिधि साथै माई नगरपालिकाका प्रतिनिधि समेतको रोहबरमा फिल्ड निरीक्षण गरी सिमाना छुट्याउने निर्णय भएको थियो । जग्गा नाप्ने काम भएको छैन ।
सोही बैठकले ह्यापी ड्रिम्स प्रालिका सञ्चालकलाई १५ दिनको म्याद राखी जमिन खाली गर्न पत्राचार गर्ने निर्णय समेत भएको थियो ।
सो समयमा पनि खाली नगरेमा म्याद सकिएको भोली पल्ट नै बल प्रयोग गरे भए पनि ४१ रोपनी बाहेकको जग्गा खाली गराउने निर्णय गरेको थियो ।
निर्णय भएको करिब डेढ महिना बितिसक्दा पनि उपनिर्वाचनलाई देखाउँदै जिल्ला प्रशासन र वन कार्यालय पन्छिने गरिरहेका छन् ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अब चाँडैनै फन पार्कले ओगटेको सार्वजनिक जग्गा खालि गराइने बताउँदै आएका थिए । तर उनको सरुवा भइसकेको छ ।
डिभिजन वन कार्यालयका अनुसार दुई सय १८ रोपनी क्षेत्रफलमा फैलिएको यो फन पार्कको नाममा ४१ रोपनी मात्र जमिन रहेको बताइएको छ ।
एक सय ३२ रोपनी सार्वजनिक जमिन र ४५ रोपनी सामुदायिक वन क्षेत्रको गरी एक सय ७७ रोपनी जमिन फन पार्कले हडपेको पाइएको छ ।
Discussion about this post