चन्द्रगढी (झापा)। गत वैशाख २६ गते राति बिर्तामोड नगरपालिका ४ निवासी ६७ वर्षीया विष्णुकुमारी विष्टको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गर्दै आज सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रहरीले विष्टको हत्यामा संलग्न भएको आरोपमा एक महिलासहित पाँच जनालाई पक्राउपछि सार्वजनिक गरेको हो ।
विष्टको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिका– ४ का २२ वर्षीय गङ्गाप्रसाद राजवंशी, सोही ठाउँका २३ वर्षीय महेश राजवंशी, २० वर्षीया वर्षा राजवंशी, ३३ वर्षीय ज्याक भनिने भगीरथ माझी र अर्जुनधारा नगरपालिका–६ का ४३ वर्षीय धनबहादुर कामीलाई सार्वजनिक गरिएको हो ।
विष्टको हत्या भएको झन्डै तीन साता लामो अनुसन्धानपछि प्रहरीले हत्यामा संलग्नहरूलाई पक्राउ गर्दै सार्वजनिक गरेको हो ।
अनुसन्धानमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश अनुसन्धान समूह (पी आइटी) विराटनगर, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनिको टोली परिचालन भएको र हत्यामा संलग्नलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले बताउनुभयो ।
बिर्तामोड–४ स्थित शिवनगर टोलमा घरमा एक्लै बस्दै आएकी ६७ वर्षीया बिस्टको हत्या गरी उनीहरूले विभिन्न सामग्री समेत लगेका थिए । प्रहरीले हत्यामा संलग्नको साथबाट नट खोल्न प्रयोग गरिने रेन्ज, मार्तोल लगायतका तीन थान सामग्री, सुनको सिक्का भएको बेरुवा औँठी एक थान, सुनको हातमा लगाउने बाला एक थान, सुनको जन्तर एक थान, सुनको सिक्री एक थान, सुनको टप एक थान र चाँदीको कलश एक थान बरामद गरेको छ ।
बिस्टको हत्या गरी उनीहरूले उक्त सामान लगेको अनुसन्धानका क्रममा खुलेको प्रहरी उपरीक्षक केसीले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । सुनको सिक्का भएको बेरुवा औँठी सुन पसलबाट गाली सकेको अवस्थामा बरामद गरिएको प्रहरी उपरीक्षक केसीको भनाई छ ।
चोरी गर्ने उद्देश्यका साथ आएका उनीहरूले विष्टले चोर आएको भन्दै छोरालाई फोन मार्फत जानकारी गराएपछि केही समय उनीहरू लुकेको र उनीहरूले पुनः घरमा प्रवेश गरी बिस्टको हत्या गरेर घरमा भएको सामानहरू लगेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
घटनाका मुख्य योजनाकार गङ्गाप्रसाद राजवंशी रहेको जनाइएको छ । घटनामा प्रयोग भएका तथा चोरीका सामान लुकाउन सहयोग गरेको भन्दै प्रहरीले वर्षा राजवंशीलाई पक्राउ गरेको हो भने चोरीको सामान बेच्न सहयोग गर्ने ज्याक भनिने भगीरथ माझीलाई समेत पक्राउ गरेको छ । त्यस्तै चोरी भएका सामान किन्ने अर्जुनधारा –६ का धनबहादुर कामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरू विरुद्ध मुद्दा दर्ता भएको र थप अनुसन्धान सुरु गरिएको प्रहरीको भनाई छ ।
घटनामा महेश र गङ्गाको प्रत्यक्ष संलग्नता देखिए पनि अन्य तीन जनाले समेत घटनालाई लुकाउन सहयोग गरेका कारण हत्याका मतियारको रूपमा उनीहरूलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
हत्या गरेर फरार भएपछि बिस्टको शव भोलिपल्ट बिहान घरमै स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । उनका दुई छोरामध्ये एक छोरा काठमाडौँ र अर्का अमेरिकामा बस्दै आएको र घरमा विष्ट एक्लै बस्तै आएकी थिइन् ।
२२ दिनपछि यसरी पक्राउ परे हत्यामा संलग्न
नेपाल प्रहरीले विष्टको हत्या संलग्नलाई पक्राउ गर्न तालिम प्राप्त कुकुरको सहयोग लियो । सो क्रममा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश अनुसन्धान समूह (पी आइटी) विराटनगर, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनिको संयुक्त टोलीले घटना लगत्तै कुकुरमार्फत स्निफिङ गराएर विभिन्न दृष्टिकोणबाट अनुसन्धान सुरु ग¥यो ।
चोरीमा संलग्न, लागू औषध प्रयोगकर्ता, आपराधिक गतिविधिमा संलग्न, कारागारबाट छुटेका लगायत ६८ जनालाई सोधपुछ र निगरानीमा राख्यो ।
डग स्निफिङका आधारमा घटना भएकै भोलिपल्ट वैशाख २७ गते प्रहरी चौकी बिर्ता बजारले बिर्तामोड ४ का गङ्गाप्रसाद राजवंशीलाई सोधपुछका लागि लगेको बेला उनकी पत्नी वर्षालाई गङ्गाप्रसादले मोबाइल राखेको पाटाको बोरा खोलामा फाल्न लगाएका थिए ।
वैशाख २८ गते ३ बजे चोरीको सामान राखेको कालो ब्यागबाट सुनको पैसा टाँसिएको औँठी झिकेर अन्य सामान घरनजिकै नालामुनि लुकाएका थिए । सामान लुकाएको वर्षाले पनि देखेकी थिइन् । जेठ १६ गते गङ्गाप्रसादले उनका साथी ज्याक भन्ने भगीरथ माझीको सहयोगमा अर्जुनधारा–६ मा रहेको हनुमान सुनचाँदी पसलका सञ्चालक धनबहादुर कामीलाई २० हजार रुपैयाँमा बेचेको अनुसन्धानका क्रममा खुलेको हो ।
यसरी गरियो विष्टको हत्या
प्रहरीका अनुसार गङ्गाप्रसाद उनका साथी महेश राजवंशीका साथमा वैशाख २५ गते राति चारी गर्ने योजनाका साथ ९ बजे घरबाट निस्किएका थिए । सिटी सफारीको टायर खोल्न प्रयोग हुने फलामको मार्तोल र ३ वटा रेन्ज लिएर उनीहरू चोरी गर्न निस्किएका थिए ।
सुरुमा उनीहरू स्थानीय सुमन राजवंशीको घरका चोर्न पसेका थिए । तर, त्यहाँ सफल नभएपछि स्थान परिवर्तन गर्दै विष्टको घरमा गएका थिए । महेशले विष्टको घर कम्पाउन्डबाहिरै बसेर रेखदेख गरेको र गङ्गाप्रसाद विष्टको घर कम्पाउन्डभित्र पसेका थिए । यो बेला रातको ११ बजिसकेको थियो ।
गङ्गाप्रसादले पश्चिमपट्टिको झ्याल खोल्न खोज्दा विष्टले चोर आए जस्तो छ भनेको सुनेपछि उनी वालबाट हाम फालेर भागेका थिए । त्यसै बेला ११ः३० बजे विष्टले काठमाडौँमा रहेका कान्छा छोरा प्रकाशलाई फोन गरेर ‘घरको आसपास चोरहरू पो हिँडडुल गर्दैछन् कि, झ्याल ड्याङ ड्याङ पारिरहेको छन् भनी सुनाएका थिइन् ।
आमाको कलपछि प्रकाशले छिमेकी श्रीप्रसाद सिटौलालाई कल गरेर घर गइदिन आग्रह गरेका थिए । त्यसपछि सिटौला र अन्य छिमेकीहरू विष्टको घरमा गएर केही बेर आँगनमा बसेर कुराकानी गरेर फर्किएका थिए । विष्ट पनि त्यसपछि १२ बज्न लाग्दा सुत्न गएकी थिइन् ।
सोही समयमा राजवंशी भागेर नजिकै रहेको डम्बरकुमारी प्रसाईँको घरको झ्यालबाट हात छिराएर कालो रङको झोला चोरेका थिए । झोलामा रहेको ७०० रुपैयाँ लिएर अन्य सामान फ्याँकेर आफूसँग भएको मार्तोल र रेन्ज झोलामा राखेर उनीहरू मकैवारिमा लुकेका थिए ।
११ः४५ बजेतिर छिमेकीहरू आआफ्नो घर गएपछि गङ्गाप्रसाद र महेश पुनः विष्टको घरतर्फ लागेका थिए । गङ्गाप्रसाद कम्पाउन्ड नाँघेर विष्टको घरभित्र पसे भने महेश बाहिरै बसेर रेखदेख गर्न थाले । त्यसपछि घरको पूर्वतर्फ रहेको शौचालयको पछाडि झोला राखेर उनी बसेका थिए ।
वैशाख २६ गते बिहान १२ः १० बजेतिर विष्टले घरको बाहिरको बत्ती बालेर ढोका खोलेर शौचालय जाँदा शौचालयको पछाडि लुकेर बसेका गङ्गाप्रसाद ढोकामा रहेको रड लिएर भित्र छिरेका थिए ।
एक घण्टासम्म कोठाभित्रै खाटमुनि लुकेर बसेका गङ्गाप्रसाद विष्ट सुत्ने बेला बाहिर निस्कँदै गर्दा विष्टले देखेकी थिइन् । विष्टले चोर आयो भनी गुहार माग्दा गङ्गाप्रसादले आफूसँग भएको रडले विष्टको टाउकोमा तीन पटक प्रहार गरेका थिए । त्यसपछि विष्टलाई भुईँमा लडाएर विष्टले लगाएको सुनका गहना निकालेका थिए ।
सोही रडले कोठाभित्र रहेको दराज फोडेर उनले सुनका गहना र मोबाइल आफूसँग भएको कालो झोलामा हालेका थिए । गङ्गाप्रसाद बिहान २ः४५ विष्टको हत्या गर्दै चोरी गरेर आफ्नो घरमा गएर पुगेर मोबाइल अफ गरेर सुतेका थिए ।
Discussion about this post