विराटनगर । विराटनगरमा एक महिलाको हत्या भएको छ । परपुरुषसँग सम्बन्ध राखेको भन्दै विराटनगर महानगरपालिका–१९ की एक महिलाको हत्या गरिएको हो । हत्यापछि बोरामा पोको पारी पराल र भुसले छोपिएको अवस्थामा २८ वर्षीया प्रियंका सुनारको शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार मोरङको बूढीगंगा गाउँपालिका–२ अमाहीस्थित नरसिंह चौधरीको ग्वालीमा प्रियंकाको शव सोमबार दिउँसो १२ बजेतिर भेटिएको हो । परपुरुषसँग हिमचिम बढाएको र सम्बन्ध राखेको भनेर श्रीमानकै योजनामा प्रियंकाको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको कार्कीले बताए ।
उनले हत्यामा संलग्न भएको आशंकामा प्रियंकाका पतिसहित तीन जनालाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ पर्नेमा २९ वर्षीय रमेश साह, मोरङको कटहरी गाउँपालिका–५ का ३५ वर्षीय उमेश सरदार र ६२ वर्षीय रमानन्द राम रहेका छन् ।
प्रहरीका अनुसार प्रियंकाका पति रमेशको विराटनगर–१९ मिलनचोकमा सुन पसल छ । ‘भारत बिहारको खोजुली माइत भएकी प्रियंकासँग रमेशको मागी बिहे भएको रहेछ,’ डीएसपी कार्कीले भने, ‘उनीहरुका ८ वर्षका छोरा र ६ वर्षकी छोरी गरेर दुई जना सन्तान रहेछन् ।’ उनका अनुसार परपुरुषसँग सम्बन्ध राखेको भन्दै रमेशले बारम्बार प्रियंकासँग झगडा गर्ने गरेका रहेछन् ।
‘विगतदेखिको पारिवारिक झगडा अहिले आएर हत्यामा परिणत भएको पाइयो,’ कार्कीले भने, ‘घरदेखि अर्कै ठाउँमा पु¥याएर महिलालाई मारेछन् ।’प्रहरीले हत्यामा संलग्न भएको आशंकामा अन्य व्यक्तिहरुलाई पनि नियन्त्रणमा लिएको थियो । तर, संलग्नता पुष्टि नभएपछि उनीहरुलाई छाडिएको कार्कीको भनाइ छ ।
उनका अनुसार हत्यापछि शव व्यवस्थापन गर्नलाई एम्बुलेन्सको खोजीमा निस्किएका बेला रमानन्द पक्राउ परेका हुन् । उनलाई प्रहरीले विराटनगरको अस्पताल चोकबाट आइतबार राति पक्राउ गरेको थियो । रमानन्दलाई पक्राउ गरेर सोधपुछ गर्न थालेपछि घटना बाहिरिएको प्रहरीले जनाएको छ । प्रियंकाका पति रमेशसहित उनीपनि घटनाका योजनाकार तथा प्रत्यक्षदर्शी रहेको प्रहरीको भनाइ छ । ‘हत्यापछि बोरामा हाली पराल र भुसले छोपछाप पारेर राखिएको शव व्यवस्थापन गर्न एम्बुलेन्सको खोजी गर्दै रमानन्द निस्किएछन् । शंकास्पद हिसाबले एम्बुलेन्स खोज्दै गर्दा उनी पक्राउ परेका हुन्,’ डीएसपी कार्कीले भने, ‘उनलाई अस्पताल चोकबाट पक्राउ गरियो । सोधपुछ गर्न थालेपछि हत्या गरिएको शव व्यवस्थापन गर्ने योजनासहित एम्बुलेन्सको खोजी गरेको पाइयो ।’
उनका अनुसार पक्राउ परेकामध्ये उमेशले भने प्रियंकालाई आफ्नो गाडीमा राखेर आइतबार बूढीगंगा गाउँपालिका–२ अमाहीस्थित नरसिंह चौधरीको घरमा पु¥याएको पत्ता लागेको छ । ‘पति रमेशको आग्रहमा उमेशले आफ्नो गाडीमा राखेर प्रियंकालाई नरसिंहको घरमा पु¥याएको खुलेको छ,’ उनले भने, ‘त्यसपछि रमानन्दसहित पुगेका रमेशले डोरीले घाँटी कस्दै पत्नीको हत्या गरेको पाइयो ।’ उनका अनुसार घटना आइतबार दिउँसो १ बजे आसपासमा भएको अनुमान छ ।
कार्कीका अनुसार रमेशले हत्या गर्नुअघि पत्नीलाई घटनास्थलमा पु¥याउन उमेशको सहयोग लिएको खुलेको छ । रमेशसँगै नरसिंहको घरमा पुगेका रमानन्दलाई घटनापछि शव व्यवस्थापनका लागि एम्बुलेन्स खोज्न खटाएको पाइएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको र अनुसन्धानपछि विस्तृत विवरण सार्वजनिक गरिने उनले बताए । घरको आँगन जोडिएको ग्वालीमा शव भेटिएपछि नरसिंहमाथि पनि प्रहरीले सोधपुछ गरिरहेको छ । प्रहरीका अनुसार चिनजान र संगतका आधारमा प्रियंकाको हत्या गर्न नरसिंहको घर प्रयोग गरेको पाइएको छ । नरसिंह र रमानन्द चिनजानका पुराना साथी रहेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार आइतबार दिउँसो नरसिंहको घरमा दुई जना पुरुष आएका थिए । त्यसलगत्तै उमेशले गाडीमा राखेर प्रियंकालाई नरसिंहको घरमा पु¥याएको प्रहरीले जनाएको छ ।
केहीबेरमै उमेश र घरधनी नरसिंह बाहिर निस्किएको खुलेको छ । पछि घर फर्किएर आउँदा आफूले महिलालाई नदेखेको र दुई जना पुरुषलाई मात्रै देखेको नरसिंहले प्रहरीलाई बताएका छन् । प्रहरीका अनुसार नरसिंह आफ्नो घरमा आएपछि दुवै जना त्यहाँबाट निस्किएर गए । ती दुई व्यक्ति रमेश र रमानन्द रहेको प्रहरीको भनाइ छ ।
घाँटीमा नीलडाम रहेको र कानबाट रगत बगेको अवस्थामा प्रियंकाको शव फेला परेको डीएसपी कार्कीले बताए । उनका अनुसार घटनामा अरु व्यक्ति पनि संलग्न भएको आशंकामा अनुसन्धानको दायरालाई फराकिलो पारिएको छ ।
प्रहरीका अनुसार नरसिंहको घरभित्र हत्या गरेर शव ग्वालीमा छोपछाप बनाएर राखेको हुनसक्छ । हत्या गरेर बोरामा पोको पारी फालेको अवस्थामा महिलाको शव रहेको जानकारी पाउनसाथ मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले घटनाको अनुसन्धानका लागि डीएसपी रञ्जन दाहालको नेतृत्वमा टोली परिचालन गरेका थिए । दाहाल नेतृत्वको टोलीले शवलाई पोस्टमार्टमका लागि कोसी अस्पताल पठाएर घटनाको थप अनुसन्धान अघि बढाएको छ ।
एसपी पोखरेलले प्रारम्भिक अनुसन्धानबाट पारिवारिक कारणले महिलाको हत्या भएको पाइएको बताए । ‘अहिले प्रारम्भिक चरणको अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘विस्तृत अनुसन्धानपछि थप कुरा पत्ता लाग्छ ।’
Discussion about this post