विराटनगर । मोरङको बेलबारी नगरपालिका–५ मा बिजुलीको पोलमा साइकल ठोक्किएर दुर्घटना हुँदा एक जना पुरुषको मृत्यु भएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार बेलबारी–५ का ६० वर्षीय टीकाराम पुरीको मृत्यु भएको हो । परिवारका सदस्य कसैलाई पनि नभनिकन पुरी सोमबार साँझ घरबाट साइकल लिएर हिँडेका थिए । राति अबेरसम्म घर नफर्किएपछि परिवारका सदस्यले प्रहरीलाई खबर गरेर खोजी सुरु गरेका थिए ।
डीएसपी बस्नेतका अनुसार पुरीको शव घरनजिकै सडक छेउको कुलोमा मंगलबार बिहान ५ः३० बजेतिर फेला परेको हो । परिवारका सदस्यले शव फेला पारेर प्रहरीलाई खबर गरेका थिए । बिजुलीको पोलमा ठोक्किएको साइकलसहित कुलोमा खसेर पुरीको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बस्नेतले बताए । मादक पदार्थ सेवन (मापसे) गरेर साइकल चलाउँदा दुर्घटना भएको प्रहरीको भनाइ छ ।
इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगेको छ । इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ । घटनाको थप विषय अनुसन्धानपछि पत्ता लाग्ने जानकारी डीएसपी बस्नेतले दिए ।
Discussion about this post