विराटनगर । जग्गा विवादमा महिलाको हत्या गरेर भागिरहेका आरोपीलाई प्रहरीले ५ वर्षपछि मोरङको जहदा गाउँपालिका–१ तिल हरियाबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जहदा–१ का ४५ वर्षीय शम्भु साह रहेका छन् । इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको सई उज्ज्वल शाक्य नेतृत्वको टोलीले साहलाई आइतबार साँझ पक्राउ गरेको हो ।
साहले जग्गाको सिमाना विवादमा जहदा–१ की ६० वर्षीय नान्कीदेवी ठाकुरको हत्या गरेको जानकारी मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले दिए ।
उनका अनुसार घटना २०७६ साल जेठ १० गतेको हो । दाउराले हानेर महिलाको हत्या गरेपछि भागिरहेका साह बल्ल प्रहरीको फन्दामा परेका हुन् । साहविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट मङ्गलवार म्याद थप गर्ने प्रहरीको तयारी छ ।
इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर प्रकाश थापा नेतृत्वको टोलीले घटना अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ ।
Discussion about this post