विराटनगर । विराटनगरमा एक जना युवकको हत्या गरेर फरार बनेका अर्का युवकलाई प्रहरीले सुनसरीको लौकहीबाट बिहीबार दिउँसो पक्राउ गरेको छ ।
मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार सुनसरीको दुहबी नगरपालिका–१२ का २३ वर्षीय अक्लेशकुमार यादवको हत्यामा संलग्न विराटनगर–४ का २४ वर्षीय गणेश यादवलाई पक्राउ गरिएको हो । विराटनगर–४ मा बहिनी (ठुलीआमाकी छोरी)को बिहेमा आएका अक्लेशको हत्या गरेर गणेश फरार बनेका थिए ।
भारततिर भाग्न खोज्दै गर्दा लौहकीबाट दिउँसो २ः३० बजेतिर पक्राउ गरिएको एसपी कार्कीले बताए । उनका अनुसार हत्यापछि फरार बनेका गणेशको खोजीका लागि प्रदेश प्रहरी कार्यालय विराटनगरबाट र जिल्ला प्रहरी कार्यालय मोरङबाट संयुक्त टोली परिचालन गरिएको थियो ।
सामान्य विवाद र भनाभनको विषयलाई लिएर गणेशले बुधवार राति १० बजेतिर अक्लेशमाथि चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । दुई जनाबिच विवाद भएपछि मोटरसाइकल चढेर आफ्नो घरतर्फ जान खोज्दै गर्दा अक्लेशमाथि चक्कु प्रहार भएको थियो ।
चक्कु प्रहारबाट बायाँ कोखामा गहिरो चोट लागेर अवस्था गम्भीर बनेका उनलाई उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको थियो । उपचारकै क्रममा बिहीबार बिहान ६ बजेतिर मृत्यु भएको हो ।
प्रहरीका अनुसार विराटनगरको कोशी अस्पतालमा पोस्टमार्टम गरेर शवलाई अन्त्येष्टिका लागि परिवारको जिम्मा लगाइएको छ । घटनामा संलग्न गणेशविरुद्ध भने कर्तव्य ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी एसपी कार्कीले दिए ।
Discussion about this post