बेलबारी । वहालवाला तथा पूर्व प्रहरी र उनीहरुका परिवारको जटिल तथा सामान्य उपचारका लागि काठमाण्डौमा रहेको प्रहरी अस्पताल बिबिध कारण अपायक देखिएकोले प्रदेश १ मा पहिलो प्रहरी अस्पतालका रुपमा प्रदेश प्रहरी अस्पताल शुरु भएको नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरिक्षक धिरजप्रताप सिंहले बताएका छन ।
मोरङको बेलबारी ३ पुरानो ईलाका प्रहरी कार्यलय भएको भवनमा बुधबार दिउँसो प्रदेश १ प्रहरी अस्पतालको उदघाटन गर्दै उनले सो कुरा बताएका हुन । भौगोलिक लगायत बिभिन्न कारण प्रहरी र तिनका आफन्तले प्रहरी अस्पतालबाट सेवा लिन असमर्थ भईरहेका कारण उनीहरुको सहजताका लागि प्रादेशिक अस्पताल शुरु गरेको उनले बताए । कार्यक्रममा प्रदेश १ प्रमुख प्रहरी महानिरिक्षक श्यामलाल ज्ञवालीले प्रदेश १ का प्रहरी उनीहरुका परिवार मात्र नभएर सर्बसाधारणका लागि समेत यो अस्पताल बाट सेवा लिन सक्ने बताए । १५ बेडको सो अस्पतालका लागि ५१ जनाको दरबन्दी स्वीकृत भएको छ । अस्पतालमा ३ जना बिशेषज्ञ चिकित्सक र ७ जना प्राबिधिक रहने समेत ज्ञवालीले बताए ।
अस्पतालमा ईण्डो सेवा प्रदान गरिने छ । अस्पताल निर्माणका लागि रंगरोगन,मर्मत सम्भारका लागि प्रदेश सरकार र फर्निचर लगायत आबश्यक सामाग्रीका लागि बेलबारी नगरपालिकाले सहयोग गरेको छ । प्रहरीको कल्याणकोषबाट १ करोडको अक्षयकोष निर्माण गरी सोही रकमको ब्याजबाट अस्पताल सञ्चालन गरिने छ । अस्पताल सञ्चालनका लागि नेपाल प्रहरी अस्पतालका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक डा.आशा सिंहको संयोजकत्वमा समिति गठन भएको थियो ।
समितिको प्रतिबेदन अनुसार अस्पताल बेलबारीमा उपयुक्त देखिएपछि नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरिक्षक धिरजप्रताप सिंहले अनुमति दिएका थिए । उदघाटन कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई,उपप्रमुख नितु थापा,सुन्दरहरैचा,उर्लाबारी,पथरीशनिश्चरे नगरपालिकाका प्रमुख,केराबारी,ग्रामथान लगायतका गाँउपालिकाका अध्यक्ष,बेलबारीका राजनीतिक दलका प्रमुख,संघसंस्थाका प्रमुख,वहालवाला प्रहरीका अधिकृत तथा परिवारका सदस्यहरु सहभागी भएका थिए ।
Discussion about this post