प्रकाश तिम्सिना
इटहरी । प्रदेश १ प्रदेश सभा सदस्य मिना श्रेष्ठले वर्खायाम सुरु हुन लागेको र बर्षेनी इटहरीले बाढीको पिडा खेप्नु परेको भन्दै बाढी रोकथाम गर्न प्रदेश सरकारलाई ध्यानाकर्षण गराएकी छिन् । आज (बुधबार) प्रदेश सभाको शुन्य समयमा बोल्दै उनले धरान देखि आउने बुढी खोलाले सुनसरीको इटहरी देखि तल्लो भुभाग र मोरङका विभिन्न बस्तीलाई डुबान पार्ने भन्दै बाढी रोकथाम गर्न माग गरेकी हुन् ।
धरानबाट बग्ने खोला इटहरी आईपग्दा बुढी खोला हुन्छ । उनले भनिन् “उक्त खोला बन क्षेत्र भित्र पर्ने भएकाले बालुवा गिटि निकाल्न नपाइने भनिएको छ । यसले गर्दा खोलाको भाग झन् फराकिलो हुने गरेको छ । यस समस्यालाई जेठभित्र समाधान गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउँछु ।”
सासंद श्रेष्ठले युवा व्यावसायीले दिनहुँ आत्मदाह गर्ने अबस्था आईरहेको भन्दै बैंकको किस्ता तिर्ने सम्बन्धमा प्रदेश तथा संघीय सरकारले ध्यान दिन आग्रह गरिन् । उनले बढ्दो सहरीकरण भईरहेको इटहरी उपमहानगरमा नगर बस सञ्चालन गर्न, गराउन समेत सरकार समक्ष आग्रह गरेकी छिन् ।
अर्की सासंद यशोदा कायस्थ धरान उपमहानगरमा हिउँद लागे सगैं पानीको समस्या देखिएको भन्दै समाधान खोज्न प्रदेश सरकारलाई ध्यानाकर्षण गराएकी छिन् । उनले सिचाईका लागि राष्ट्रिय आयोजना तमोर देखि मोरङ सम्म ल्याउने र अर्काे प्रदेश गौरवको आयोजना लेउती धरान सुरुङ मार्गलाई एकिकृत गर्नु पर्ने धारणा राखिन् ।
उनले दुई आयोजना सुरुङ मार्गबाट ल्याउने भएकाले एकै आयोजनाले काम गर्ने बताईन् । उनले यसो गर्दा धरानमा देखिएको खानेपानीको अभाव र मोरङमा सिचाई समस्था समाधान हुने तर्क राखिन् । शुन्य समयमा नै सुनसरी निर्वाचन क्षेत्र नम्बर २ (ख) का सासंद रामप्रसाद मेहताले पुर्व पश्चिम (एसिन हाइवे) निर्माणका क्रममा जिल्ला सदरमुकाम इनरुवालाई बाइपास गर्न नहुने बताए ।
उनले पकली देखि सप्तरीको कञ्चनपुर सम्मको सडक बिस्तार गर्दा इनरुपा ओझेलमा पर्ने तर्क राखे । यस्तै उनले हुलाकी सडक अन्तर्गत इनरुवा देखि कौवाखोज सडक ठेकेदार कम्पनीको चरम लापरबाहीको कारण काम अघि बढ्न नसकेको तर्फ पनि सरकारको ध्यानाकर्षण गराए । सासंद मेहताले जनताले धुलोका कारण सास्ती खेपिरहेको भन्दै काम नगर्ने ठेकेदारलाई कारबाही गर्नु पर्ने माग राखे ।
यस्तै सुनसरी निर्वाचन क्षेत्र १ (ख) का सासंद विजयकुमार राईले खाना पकाउने ग्याँस सिलिन्डरका कारण मानवीय क्षति भएको भन्दै ध्यानकर्षण गराए । उनले गत फागुन ६ गते ग्याँस सिलिन्डर बिष्फोट हुँदा धरान १७ मा ८ जना घाइते भएका र चार जनाको काठमाडौंमा उपचार भईरहेको जानकारी गराए ।
सांसद राईले आगोले पोलेको बिरामीको काठमाडौं बाहिर कुनै पनि अस्पतालमा उपचार नहुने बताउँदै धरानमा रहेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउने गरी आवश्यक श्रोत साधनको व्यावस्थापन गर्नु पर्ने धारण राखे ।
यस्तै उनले प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीको घरमा र धरानमा भएको ग्याँस विष्फोटको घटनालाई उदाहरण दिदैं यसरी सिलिन्डर बिष्फोट हुनुमा कसको लापरबाही हो, अनुगमन गर्नु पर्ने माग राखे ।
तपाई हामीले ग्याँस चलाउन लजानेको हो की ग्याँस भर्ने कम्पनीको लापरबाहीको हो । उनले प्रश्न गरे “यदि समयमै अनुगमन नगर्ने हो भने भोलिका दिनमा यसले भयावह रुप लिनेछ ।”
Discussion about this post