बिनोद आचार्य, जापान । पछिल्लो केही बर्ष यता नेपाली विद्यार्थीहरु ठूलो संख्या जापान आउने गरेका छन । सजिलो काम र धेरै कमाइको लोभमा जापान आउने नेपाली बिद्यार्थीहरु आफ्नै निर्णयबाट पछुताइरहेको छन ।
पैसा कमाउने उद्देश्यले स्टुडेन्ट भिसामा जापान पुगेका युवायुवती सोचे जस्तो नभएपछि आत्महत्यासम्मको अवस्थामा पुग्छन् ।
जापान आउनुअघि कन्सल्टेन्सीले मासिक रु.२ लाखसम्म कमाइ हुने आश्वासन दिए पनि त्यो पूरा नभएपछि तनावमा फस्ने गरेको विद्यार्थीहरू स्वयं बताउँछन् ।
जापानमा भाषा पढ्नका लागि भिसा पाउन तुलनात्मक रूपमा सहज भएकाले अधिकांश नेपाली युवाहरू स्टुडेन्ट भिसामा जापान पुगेका छन् । यसरी जापान पुग्ने विद्यार्थीले कलेज शुल्क, कन्सल्टेन्सी शुल्क, हवाई भाडासहित जापान जान न्यूनतम रु.१४ लाखसम्म नेपालमै खर्च गरिसकेका हुन्छन् ।
जापान पुगेपछि त्यहाँको कानून अनुसार विद्यार्थीले हप्ताको २८ घण्टाभन्दा बढी काम गर्न पाउँदैनन् । यता जापान जाँदा लागेको खर्च र छोराछोरी जापानमा भएपछि परिवारले गर्ने अपेक्षा ठूलो हुन्छ ।
जापानमा एक त काम पाउनै गाह्रो, काम पाए पनि कानूनले तोकेभन्दा बढी समय काम गरेको थाहा पाए अध्यागमनले भिसा नथपेर नेपाल पठाइदिने गर्दछ ।
अर्कोतर्फ, भाषाको राम्रो ज्ञान नभएकालाई जापानमा काम पाउन गाह्रो छ । त्यस्ता व्यक्तिले काम पाउने भनेकै ट्रान्सपोर्ट कम्पनी (यामातो), फुड प्याकिङ (वेन्तो), क्लिनर (बेड मेकिङ) मा हो । यस्ता काम महिलाका लागि कठिन हुने गैराआवासिय नेपाली संघ जापानका पुर्ब अध्यक्ष पारस मणि पोखरेल बताउछन् ।
जापानमा नेपालीको संख्या बढेसँगै गैरकानूनी काममा संलग्न हुनेहरू पनि बढ्न थालेको उहाको टिप्पणी छ । उहाका अनुसार स्टुडेन्ट भिसामा जापान जाने नेपालीको संख्या चिनियाँ र भियतनामीपछि तेस्रो स्थानमा छ । जापानमा धेरै नेपाली संलग्न भएको अर्को क्षेत्र हो, रेस्टुरेन्ट व्यवसाय भएको समेत उनले जानकारी दिए ।
Discussion about this post