विराटनगर । मोरङको कोरबारीमा विद्यालय जाँदै गरेका एक जना बालकलाई खोलाले बगाएको छ ।
केराबारी गाउँपालिका–४ याङ्शीलाका चित्रबहादुर राईका छोरा ११ वर्षीय श्याम राईलाई मंगलबार बिहान ९ बजेतिर गोविने खोलाले बगाएको हो । वडाध्यक्ष शिवप्रसाद तामाङका अनुसार घटनास्थलबाट खोलाले बगाएर करिब एक सय मिटर तल पुर्याएको अवस्थामा शव भेटिएको छ ।
बालकलाई खोलाले बगाएको जानकारी पाउनसाथ स्थानीयले खोजी थालेका थिए । टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा बिहान ९ः५० बजेतिर शव फेला परेको वडाध्यक्ष तामाङले बताए ।
मृतक श्याम केराबारी–४ चिउरी भञ्ज्याङस्थित जनकल्याण माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत थिए ।
याङ्शीलाबाट विद्यालय भएको चिउरी भञ्ज्याङ पुग्न विद्यार्थीलाई लगभग १ घण्टा समय लाग्ने विद्यालयका प्रधानाध्यापक सुजन थेवेले बताए । उनका अनुसार २ सय १० जना विद्यार्थी रहेको विद्यालयमा याङ्शीला घर भएका करिब २० जनाजति बालबालिका अध्ययनका लागि जाने गरेका छन् ।
याङ्शीला र चिउरी भञ्ज्याङ आसपासमा सोमबार रातिदेखि भीषण वर्षा भइरहेको थेवेले बताए । ‘खोला तर्ने क्रममा वर्षासँगै आएको बाढीले बगाएर बालकको मृत्यु भयो,’ उनले भने, ‘घटनापछि सिंगो गाउँ र विद्यालय शोकमा डुबेको छ ।’
वडाध्यक्ष तामाङका अनुसार याङ्शीलामा कक्षा ५ सम्म मात्रै पढाइ हुने विद्यालय छ । याङ्शीलाका बालबालिकाले कक्षा ६ देखिमाथि पढ्नलाई चिउरी भञ्ज्याङको जनकल्याण माध्यमिक विद्यालय पुग्नुपर्ने बाध्यता रहेको उनले बताए । ‘अलि माथिबाट अर्को सुरक्षित बाटो पनि थियो । तर, लामो भएकाले धेरै घुम्नुपर्छ,’ उनले भने, ‘छोटो बाटो हुँदै विद्यालय जाने क्रममा दुःखद् घटना भइदियो । छोटो बाटो हिँड्दा बर्खाका बेला बालबालिकाको ज्यान जोखिममा पर्ने गरेको छ ।’
तामाङका अनुसार गोविने ठाडो र खहरे खोला हो । हिउँदमा पानी हुँदैन । बर्खामा अलि ठूलो पानी पर्नासाथ उर्लिएर बाढी आउँछ । बाढी आएका बेला वारपार गर्न सक्ने अवस्था नहुने उनले बताए ।
विद्यालय जाँदै गरेका ५/६ जना बालबालिका एकैपटक खोलामा छिरेका थिए । एक जना साथीलाई बाढीले बगाएको र अरुले तत्काल बाहिर निस्किएर ज्यान बचाएको स्थानीय गोविन्द खड्काले बताए । श्याम राईलाई खोलाले बगाएको भनेर सँगै रहेका साथीहरुले खबर गरेपछि घटनाका बारेमा थाहा भएको उनले बताए ।
घटनाको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय बेलबारी र इलाका प्रहरी कार्यालय केराबारीको संयुक्त टोली घटनास्थलतर्फ लागेको छ । घटनास्थल पुग्न प्रहरीलाई करिब ३ घण्टा समय लाग्छ । घटनास्थलबाट कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि पठाएर घटनाको अनुसन्धान सुरु गरिने मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।
Discussion about this post