इटहरी । मोरङको सुन्दरहरैँचा नगरपालिका–५ गौशाला नजिकबाट बूढी खोलाले मंगलबार दिउँसो बगाएका मध्ये एक जना युवतीको शव फेला परेको छ ।
एक जना वृद्धासहित दुई जना अझैसम्म बेपत्ता छन् । एक जना युवतीलाई सकुशल उद्धार गरिएको थियो । मोरङ र सुनसरीको सिमना भएर बग्ने बूढी खोलाले बगाएर मृत्यु भएको अवस्थामा सुन्दरहरैँचा–५ की २२ वर्षीया फुदनी भनिने प्रेमकला चौधरीको शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार अविरल वर्षासँगै बूढी खोलामा आएको बाढीले ४ जना महिलालाई दिउँसो १२ः१० बजेतिर बगाएको थियो ।
बगाएकामध्ये प्रेमकला मृत भेटिएकी हुन् । सुन्दरहरैँचा–४ बाट पश्चिमतर्फ सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित खोला किनारमा उनको शव फेला परेको डीएसपी बस्नेतले बताए । उनका अनुसार बेपत्ता रहेका २ जनाको खोजीका लागि प्रहरी परिचालन गरिएको छ । प्रहरी र स्थानीयले बेपत्ता भएका दुवै जनाको खोजी तीव्र पारेका छन् ।
खोलाले सुन्दरहरैँचा–५ की ६० वर्षीया असरादेवी चौधरी र ३० वर्षीया फूला चौधरीलाई बगाएर बेपत्ता बनाएको हो । खोजी जारी राखिएको भएपनि अझैसम्म उनीहरु फेला नपरेको डीएसपी बस्नेतले बताए ।
खोलाले बगाउनसाथ सुन्दरहरैँचा–५ की २२ वर्षीया स्वस्तिका चौधरीको उद्धार गरिएको थियो । स्थानीय बासिन्दाको सहयोगमा अस्थायी प्रहरी पोस्ट बलियाले स्वस्तिकाको सकुशल उद्धार गरेको हो । सोमबार रातिदेखिको अविरल वर्षासँगै बूढी खोलामा ठूलो बाढी आएको छ । बाढी आएर पानीको बहाव उच्च भएको खोलामा माछा मार्न र दाउरा टिप्न स्थानीय महिलाहरु गएका थिए । असावधानीपूर्वक माछा मार्ने र दाउरा बटुल्ने क्रममा महिलाहरुलाई बाढीले बगाएको हो ।
Discussion about this post