विराटनगर । मोरङको रंगेलीमा आफ्नै घरभित्र सुुतिरहेका बेला विषालु सर्पले डसेर एक जना महिलाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार रंगेली नगरपालिका–८ खयरबारीकी ५७ वर्षीया कलादेवी ऋषिदेवलाई सुतिरहेको ओछ्यानमा पुगेर बुधबार राति १२ बजेतिर सर्पले डसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सर्पले टोकेको थाहा हुनसाथ परिवारका सदस्यले ऋषिदेवलाई राति नै उपचारका लागि भारततर्फ लगेका थिए ।
उपचारका लागि लैजाने क्रममा बाटैमा उनको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । त्यसपछि शवलाई फर्काएर घरतिर ल्याइएको थियो । बस्नेतका अनुसार महिलालाई कुन प्रजातिको सर्पले डसेको हो भन्ने खुल्न सकेको छैन ।
घटनाका बारेमा प्रहरीले बिहीबार बिहान साढे ६ बजेतिर मात्रै जानकारी पाएको थियो । घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
Discussion about this post