काठमाडौं- नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले दुग्ध किसानहरुले सरकारसँग भिख नभइ पसिनाको मूल्य माग गरेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बास्कोटाले यस्तो बताएका हुन् ।
उनले सरकारले दुग्ध किसानहरुको करिब एक वर्षदेखिको माग सम्बोधन गर्न नसकेको भन्दै दुग्ध किसानको ५ अर्ब बढीको रकम भुक्तानी तत्काल गर्न ध्यानाकर्षण गराए ।
उनले दुग्ध किसानहरुले न्याय पाउनको लागि अब सडक आन्दोलन नभएर फ्रान्सको जस्तो गरी ट्याक्टर,गाई भैंसी सडकमा छोड्नुपर्ने हो ? भन्दै प्रश्न गरे । उनले दुग्ध किसानहरुले सरकारसँग ५ अर्ब बढी रकम भुक्तानी नदिँदा किसानले नङ्ग्रा ख्याएको,पसिना बगाएर पनि घर चलाउन समेत रुवाउनुपर्ने अवस्थाको अन्त्य सरकारले गर्न आवश्यक रहेको बताए ।
वर्तमान सरकार दुग्ध लगायत अन्य किसानहरुलाई समेत रुवाएर आफू हासेर बस्न नसुहाउने उनले बताए । उनले जनताको सरकार भएपछि जनताप्रति जवाफदेही हुनुपर्ने बताए । उनले अहिले पनि दुग्ध विकास संस्थाले १ अर्ब ५५ करोड भन्दा माथि भुक्तानी गर्न बाँकी रहेको बताए । निजी क्षेत्र व्यापार र नाफामा मात्रै लिप्त हुँदा जवाफदेहिता नभएको उनले बताएका छन् ।
उनले लम्पी स्किनलाई लिएर अर्बौंको क्षति हुँदा समेत किसानहरुले बीमाको रकम लगायत गाईको मूल्य नपाएको बताए । सरकारले एउटै वडामा ६ करोड भन्दा बढी रकम तिर्न बाँकी रहेको भन्दै यसमा सरकारको दृष्टिकोण उनले माग गरेका हुन् ।
‘दुग्ध किसानहरुले सरकारसँग ५ अर्ब बढी रकम पाउन सकेका छैनन् । किसानले नङ्ग्रा ख्याएको,पसिना बगाएर परिवार र घर चलाउन चाहेको कुरालाई महिनौंदेखि भुक्तानी नदिएर किन रुवाउँदै छौं । किसानलाई रुवाएर सरकार हासेर बस्ने हो ? जनताको सरकार होइन ? जनताप्रति जवाफ दिनुपर्छ कि पर्दैन ? अहिले पनि दुग्ध विकास संस्थाले १ अर्ब ५५ करोड भन्दा माथि भुक्तानी गर्न बाँकी छ । प्राइभेट सेक्टर व्यापारमा मात्रै लिप्त छ’ उनले भने,’नाफामा मात्रै लिप्त छ जवाफदेहिता छैन । निजी क्षेत्रले दुग्ध नकिन्दा पनि सुख पाउँछ । हामीले यही सदनमा बारम्बार उठायौं । लम्बी स्किनलाई लिएर अबौंको क्षेती भयो भन्यौं । किसानहरु बसिरहेका छन् । तर अहिलेसम्म मूल्य पाइएन । एउटै वडामा ६ करोड भन्दा बढी रकम तिर्न बाँकी छ । यसमा सरकारको दृष्टिकोण के हो ।’
साथै उनले नेपाली किसाले उत्पादन गरेको दुधले बजार नपाएर बाहिरबाट पाउडर दुध ल्याउने नीतिमाथि प्रश्न गरेका छन्। उनले अर्थ, कृषि र प्रधानमन्त्री माथि प्रश्न गरेका हुन्। ‘पाउडर दुग्ध बाहिरबाट लिएर आउने,दुग्धजन्य पदार्थ पनि बाहिरबाट ल्याउने नीति के हो । जब हाम्रो देशमा उत्पादन भएकाले पुग्छ भने संरक्षणको कुरा हुन्छ । दुग्ध विकास संस्थानमा ११ सय मेट्रिक टन धुलो दुग्ध,८५० मेट्रिक टन मखन १ करोड ४५ लाख भन्दा बढीको मौज्दातमा बसेको छ’ उनले भने,’सरकार अनुदान पनि नदिने र दुग्ध विकास संस्थान सुधार गर्न पनि दिने अवस्था छ । २४ लाख ६० हजार लिटर मासिक दुग्ध खरिद हुन्छ । किसानहरु कसरी बस्ने ? मल,बीउ,लुगा किन्न र बच्चाको फि तिर्न रकम छैन ।’
Discussion about this post