विराटनगर । मोरङको धनपालथानबाट प्रहरीले लगभग साढे १५ क्वीन्टल गाँजा बरामद गरेको छ ।
धनपालथान गाउँपालिका–७ का राजकुमार सिंहको खेतमा रहेको गोठबाट बिहीबार दिउँसो १५ सय ४८ किलोग्राम गाँजा बरामद भएको हो । मोरङबाट एकैपटकमा यति धेरै लागूऔषध गाँजा बरामद भएको यो नै पहिलो घटना हो ।
भारततर्फ लैजान ठिक्क पारिएको तयारी गाँजा मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की नेतृत्वको टोलीले दिउँसो ३ बजेतिर बरामद गरेको थियो । भण्डारण गरी गोठमा लुकाएर राखेको अवस्थामा गाँजा बरामद गरिएको कार्कीले बताए ।
गोठमा लुकाइछिपाइ राखेको विशेष सूचनाका आधारमा गाँजा नियन्त्रणमा लिन उनी आफैं टोली लिएर पुगेका थिए । कार्कीका अनुसार गोठ खानतलासी गर्ने क्रममा ४९ वटा बोराभित्र प्याक गरेर राखेको अवस्थामा लागूऔषध गाँजा फेला पारिएको हो ।
गाँजा बरामद गरेर प्रहरीले गोठधनी सिंहलाई समेत पक्राउ गरेको छ । यद्यपि, गोठमा कसले भण्डारण गरेर राखेको भन्ने यकिन भइसकेको छैन । प्रहरीले भने गाँजा ओसारपसार र भण्डारणमा सिंह नै संलग्न रहेको हुनसक्ने आशंका गरेको छ ।
गाँजा बरामद गरेर सिंहलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको एसपी कार्कीले बताए । पूर्वी पहाडी जिल्लामा उत्पादन हुने गाँजा सुरक्षाकर्मीलाई छलेर अवैध बाटोको प्रयोग गर्दै भारततर्फ कटाउने गरिएको छ । यसको अवैध कारोबारमा संलग्नले नेपाल–भारत सीमा क्षेत्रमा भण्डारण गरेर राख्ने र मौका मिल्नसाथ भारत पुर्याउने गरेको प्रहरी अधिकारीहरुको भनाइ छ ।
प्रहरीका अनुसार भारतमा गाँजाको मूल्य नेपालमा भन्दा दोब्बर बढी पर्छ । दोब्बर बढी मूल्य पाइने भएकै कारण अवैध हिसाबले गाँजा भारत कटाउने गरिएको हो । प्रहरी स्रोतका अनुसार नेपालमा प्रतिकिलो लगभग १५ हजार रूपैयाँमा गाँजा किनबेच हुन्छ । बरामद भएको गाँजाको मूल्य नेपालमा २ करोड ३२ लाख हाराहारी पर्ने प्रहरी स्रोतले बतायो । भारत पुर्याउँदा करिब ४ करोड बढी पर्ने बताइएको छ ।
पहिलोपटक यति धेरै परिमाणमा गाँजा बरामद भएपछि यसको ओसारपसार र कारोबारमा ठूलै गिरोह संलग्न रहेको हुनसक्ने प्रहरीको आशंका छ । पक्राउ परेकाको बयान, प्राप्त सूचना र अनुसन्धानबाट खुलेको तथ्यका आधारमा गाँजाको गिरोह पत्ता लगाउने तयारीमा प्रहरी छ ।
गाँजाको कारोबार र ओसारपसारमा अन्य व्यक्तिको पनि संलग्नता रहेको आशंकामा अनुसन्धानको दायरा फराकिलो पारिएको एसपी कार्कीले बताए । अनुसन्धानबाट थप कुरा पत्ता लाग्ने उनको भनाइ छ ।
Discussion about this post