इटहरी । खेलकुदको पूर्वाधार आफ्नै मातहत रहँदै गर्दा पनि खेलकुद विकास बोर्ड कोशी प्रदेशले प्रदेशस्तरीय कबड्डी लिग प्रतियोगिता एक होटेलमा आयोजना गरेको छ।
खेलकुद विकास बोर्ड कोशी प्रदेशद्वारा आयोजित पुरुष कबड्डी प्रतियोगिताको ओपनिङ बुढीगंगा गाउँपालिकास्थित टंकीसिनुवारीमा गरे पनि खेल स्थल अभाव जनाउँदै खेलहरू विराटनगरस्थित एक डान्स बार रङ्गी गार्डेनमा सुरु गरेको हो।
पूर्वाधार व्यवस्थापन र खेल स्थलको मापदण्ड निरीक्षण नगरीकन टंकीसिनुवारीस्थत जेसिज भवनमा प्रतियोगिता गराउन तयार बोर्ड अन्ततः विराटनगरमा फर्किएको हो ।
जेसिज भवनभित्र कबड्डी गराउँदा रेफ्री र खेलाडी बस्ने स्थान नपुग्ने र खेलाडी चोटपटकको सम्भावना भएको हुँदा खेलहरू विराटनगर सारिएको कबड्डीका फोकल पर्सन तरुण यादवले जानकारी दिए । उनले भने, ‘टङ्कीमा कम स्पेस थियो । त्यसैले त्यहाँ प्रतियोगिताको ओपनिङ मात्र गरेका हौ । प्रतियोगिताका खेलहरू सबै विराटनगरमा हुँदैछन् ।
बोर्डका एक पदाधिकारीका अनुसार प्रतिकुल मौसम र खेल स्थल अभावका कारण होटेलमा कबड्डी आयोजना गर्नुपरेको जानकारी दिए । उनले भने, ‘अहिले पानी परिरहेको अवस्था छ । यस अवस्थामा बाहिर खेल आयोजना सम्भव भएन । टंकीसिनुवारीमा हिजो खेलाडीले गुनासो गरेपछि आजबाट विराटनगरस्थित होटेलमा खेल सारिएको हो ।’
यसअघि प्रतियोगिता नक आउट गर्ने जनाएका बोर्ड ओपनिङ क्रमसँगै लिग कम नक आउटमा पुगेको उनले बताए । उनले भने, ‘प्रतियोगिता नक आउट गर्ने तयारी रहेको थियो । त्यसैअनुरूप टाईसिट बनिसकेको थियो । तर प्रतियोगिता ओपनिङमा एकाएक लिग कम नक आउटको उद्घोष गरियो । हामी आफै पनि आश्चर्यचकित भएका छौ ।’
अर्कोतर्फ बोर्ड मातहत रहेको जिल्ला खेलकुद विकास समिति भने कबड्डी गराउनका लागि सहिद मैदानस्थित कभर्डहल खाली नै रहेको जनाउँछ। समितिका कार्यालय प्रमुख राजन पोखरेलका अनुसार कभर्ड हलमा खेल गराउन सकिने वातावरण छ ।
बिहान ब्याडमिन्टनका खेलहरू भइरहेको बताएका पोखरेलले भने, ‘ठुलो वर्षा हुँदा मात्र समस्या हो । अहिले पनि बिहान हुने खेलकुद गतिविधि भइरहेकाछन् । अब खेलकुद आयोजनास्थल छाडेर किन अन्यत्र जानुभयो त्यो थाहा भएन । यहाँ मैदानमा जमेको पानी दक्षिणतर्फबाट सिपेज हुँदा हलमा पानी जम्ने गरेको तर त्यो अवस्था अहिले छैन ।’
भोजपुर र खोटाङको सहभागिता बिना १२ टोलीले प्रतिस्पर्धा गरिरहेको खेलको पहिलो दिन तीन खेल भएका थिए । खेलाडीलाई खेलसँगै आराम पनि आवश्यक हुने भए पनि प्रतियोगिता चाँडै सक्नुपर्ने हुँदा मङ्गलवार १४ देखि १६ वटासम्म खेल गराउने तयारीमा बोर्ड रहेको छ ।
खेल विराटनगरमा हुने भए पनि बोर्डले जिल्लाका टोलीलाई टंकीसिनुवारीस्थित होटेलमा बसोबास गराएको छ । १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको प्रदेशस्तरीय प्रतियोगितामा भोजपुर र खोटाङले भने सहभागिता जनाएका छैनन् । सरकारले बेलैमा प्रभावकारी योजना तर्जुमा गरेर सुविधा सम्पन्न खेलकुद मैदान नबनाउँदा सरकारकै बेइज्जती भएको अनुमान स्थानीय अगुवाहरूले गरिरहेका छन् ।
Discussion about this post