विराटनगर । सट्टेबाजी र अनलाइन ठगीको धन्दा चलाइरहेको गिरोहलाई प्रहरीले बुधबार दिउँसो विराटनगरबाट पक्राउ गरेकाे छ । गिराेहका ५ जना पक्राउ परेका हुन् ।
सप्तरीको खडक नगरपालिका–११ का २२ वर्षीय शिवशंकर यादव, राजगढ गाउँपालिका–३ का २० वर्षीय दीपक मण्डल, मोरङको जहदा गाउँपालिका–१ का २५ वर्षीय रन्जितकुमार यादव, विराटनगर महानगरपालिका–१६ का ३० वर्षीय जनार्दन यादव र २६ वर्षीय सिकिन्दर यादव पक्राउ परेका हुन् । उनीहरुले विराटनगर–१५ स्थित सोहिता कर्णको घरको दोस्रो तलामा रहेका ४ वटा कोठा भाडमा लिएर विभिन्न अनलाइन ब्याटिङ साइटमार्फत सट्टेबाजीको कारोबार र अनलाइन ठगीको धन्दा चलाइरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घरको फ्ल्याट नै भाडामा लिएर अनलाइन गेम खेलाएर सट्टेबाजीको कारोबार गर्ने र अनलाइनमार्फत ठूलो रकमको चिट्ठा पर्यो भन्दै सर्वसाधारणलाई ठगी गर्ने गिरोहका ५ जनालाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेको समूहले अवैध हुण्डी कारोबारको धन्दा पनि चलाइरहेको हुनसक्ने देखिन्छ ।
पक्राउ परेकाले भाडामा लिएको फ्ल्याटमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले दिउँसो ३ बजेतिर छापा हानेको थियो । डीएसपी बस्नेतका अनुसार सट्टेबाजी र हुण्डी कारोबार तथा अनलाइन ठगीको धन्दा चलाइरहेको सूचनाका आधारमा छापा हानिएको हो । ५र६ महिनाअघि भाडामा लिएर बसेको घरको फ्ल्याटमा छापा हान्दा बसोबास र कारोबारको अवस्था शंकास्पद देखिएपछि ५ जनालाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याइएको उनले बताए ।
पक्राउ परेकाहरुको सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीले अनुसन्धानको थप प्रक्रिया अघि बढाएको छ । पक्राउ परेकाहरुको सम्पर्क र बसोबास देखिएको अन्य स्थानमा पनि प्रहरीले छापा हानिरहेको छ । उनीहरुको साथबाट विभिन्न बैंकका एटीएम कार्ड, चेकबुक, नेपाली तथा भारतीय सिमकार्ड, भारतीय आधार कार्ड तथा नेपाली र भारतीय नम्बर प्लेटका मोटरसाइकललगायत प्रहरीले बरामद गरेको छ ।
ठूलो र सानो गरेर १६ वटा मोेबाइल, एटीएम ४४ वटा, भारतीय सिमकार्ड १३ वटा, नेपाली सिमकार्ड १९ वटा, विभिन्न बैंकका १५ वटा चेकबुक, विभिन्न व्यक्तिका नाममा काटिएका १३ वटा चेक, १ जीबीको एउटा हार्ड डिक्स, स्ट्याम प्याड, इलेक्ट्रिक फिङ्गर प्रिन्ट, क्यालकुलेटर, ३ वटा भारतीय आधार कार्डलगायत बरामद गरिएको बस्नेतले बताए ।
उनका अनुसार नेपाली सवारी चालक अनुमति पत्र ९लाइसेन्स० र एउटा भारतीय सवारी चालक अनुमति पत्र १र१ वटा, भारतीय सवारी दर्ता किताब २ वटा, विभिन्न बैंकमा रकम जम्मा गरेको भौचर १५ वटा, आयकर कार्ड एउटा तथा १ हजार ६ सय ५ रूपैयाँ नगदसमेत बरामद भएको छ । प्रहरीले २ वटा भारतीय र एउटा नेपाली नम्बर प्लेटको गरेर ३ वटा मोटरसाइकल पनि बरामद गरेको छ ।
बीआर २८ डब्लु २४४१, बीआर ३८ एएफ १७६४ र ज ८ प ६९०८ नम्बरको मोटरसाइकल बरामद गरिएको जानकारी प्रहरीले दिएको छ ।
प्रहरीका अनुसार पक्राउ परेको समूहले कुन बैंकबाट कति रकम बराबरको कारोबार गरेको थियो भने खुल्न सकिरहेको छैन । अनुसन्धानबाट सबै पत्ता लाग्ने मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए । उनका अनुसार पक्राउ परेको गिरोहमा अन्य व्यक्तिहरु पनि संलग्न रहेको हुनसक्ने आशंका छ । यो गिरोहसँग अन्य व्यक्तिको ‘कनेक्सन’ छ कि छैन भनेर पत्ता लगाउन विभिन्न कोणबाट अनुसन्धान भइरहेको कार्कीले बताए ।
उनका अनुसार यो समूहले गरेको बैंकिङ कारोबार अस्वभाविक छ । फ्ल्याट भाडामा लिएको एवं कारोबारको अवस्था हेर्दा सट्टेबाजी र हुण्डी कारोबार तथा अनलाइन ठगीको धन्दामा ठूलै गिरोहको संलग्नता हुनसक्ने अनुमान प्रहरीले गरेको छ । प्रहरीका अनुसार विराटनगरकै मान्छेले घरनजिकै फ्ल्याट भाडामा लिएर बस्नुले नै शंका गर्ने पर्याप्त ठाउँहरु छन् ।
त्यहाँमाथि बैंकिङ कारोबार धेरै गरेका कागजात फेला परेको प्रहरीले जनाएको छ । विगतको अपराधिक पृष्ठभूमिका आधारमा पनि पक्राउ परेकाहरुले गिरोह नै खडा गरेर अवैध धन्दा चलाइरहेको प्रष्ट हुने एसपी कार्कीको भनाइ छ । यो समूहले सबै कारोबार बैंकबाट नै गर्ने भएकाले रकम भने थोरै फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरु विगतमा पनि तस्करीलगायतका अवैध धन्दा, मोटरसाइकल चोरी र विभिन्न अपराधमा संलग्न व्यक्तिहरु हुन् ।
Discussion about this post