इटहरी । इटहरीका कुल सामुदायिक विद्यालय मध्ये १८ वटा विद्यालय एसइई परीक्षामा सम्मिलित भएका थिए ।
सम्मिलित विद्यालय मध्ये दुई वटा विद्यालयले शतप्रतिशत नतिजा हासिल गरेका छन् । इटहरी १५ मा रहेको शम्भुनाथ मावि र पार्वती माविबाट एसइई परीक्षामा सहभागी भएका बिद्यार्थीहरुले शतप्रतिशत नतिजा ल्याएका हुन।
शम्भुनाथ माविबाट कुल १९ जना विद्यार्थी सहभागी भएको यस विद्यालयबाट पाँच जनाले ‘ए’ ग्रेड ल्याएका छन् । यस्तै ११ जनाले ‘बि’ प्लस तथा अन्य तीनजनाले ‘बि’ ग्रेड ल्याएका छन् ।
यस्तै इटहरी १४ स्थित पार्वती माविले पनि शतप्रतिशत नतिजा ल्याएको छ । कुल १८ जना विद्यार्थीले परीक्षा दिएकोमा एक जनाले ‘ए’ प्लस, १० जनाले ‘ए’ ,चार जनाले ‘बि’ प्लस तथा तीनजना विद्यार्थीले ‘बि’ ग्रेड नतिजा ल्याएका छन् ।
यस्तै इटहरी ३ मा रहेको सरस्वती माविले ८४.७२ नतिजा ल्याएको छ । कुल ७२ जना विद्यार्थीले एसइई परीक्षा दिएकोमा ६१ जना उत्तीर्ण भएका छन् । जसअनुसार तीनजना विद्यार्थीको ‘ए’ प्लस,२३ जनाको ‘ए’, २४ जनाको ‘बि’ प्लस,११ जनाको ‘बि’ ग्रेड आएको छ ।
यसैगरी इटहरी १ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालयबाट एकसय ५ जनाले परीक्षा दिएकोमा ८८ जना उत्तीर्ण भएका छन् । जसमध्ये दुई जनाले ‘ए’ प्लस, २५ जनाले ए,३३ जनाले ‘बि’ प्लस र २६ जनाले ‘बि’ नतिजा ल्याएको इटहरी उपमहानगरपालिको शिक्षा शाखाले जनाएको छ । उत्तीर्ण दरका आधारमा ८३.८० प्रतिशत रहेको जनाइएको छ ।
इटहरीका १८ सामुदायिक विद्यालयबाट एक हजार २ सय ८५ जना विद्यार्थी सामेल भएको परीक्षामा ५ सय २० जना मात्र यानिकि ४० प्रतिशत मात्र उत्तीर्ण भएका छन् ।
Discussion about this post