विराटनगर । कोशी प्रदेशको लोकसेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्वसचिव महेन्द्रप्रसाद गुरागाईंलाई नियुक्त गरिएको छ ।
प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार उनलाई आयोगको अध्यक्ष नियुक्त गरेका हुन् ।
नियुक्तिलगत्तै गुरागाईंलाई उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीले पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षता बसेको सिफारिस समितिको बैठकले गुरागाईंलाई अध्यक्षमा नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
सिफारिस गरेकै दिन उनलाई अध्यक्ष नियुक्त गरिएको हो । लामो समय निजामती सेवामा काम गरेका गुरागाईंसँग लोकसेवा आयोगमा काम गरेको अनुभवसमेत छ । सेवाबाट २ वर्षअघि अवकाश पाएका गुरागाईं मोरङको मंगलबारेका बासिन्दा हुन् । उनको पुरानो घर तेह्रथुमको म्याङ्लुङ हो ।
प्रदेश लोकसेवा आयोग ऐन, २०७६ अनुसार आयोगको अध्यक्षको समयावधि ६ वर्षको हुन्छ । यसअघिका अध्यक्ष उत्तम भट्टराईले उमेर हदका कारण अवकाश पाएपछि रिक्त रहेको पदमा गुरागाईंलाई नियुक्त गरिएको हो ।
Discussion about this post