विराटनगर । विराटनगरमा धारिलो हतियारले घोपेर सोमबार राति एक जना युवकको हत्या गरिएको छ । दुई जनालाई घाइते बनाइएको छ ।
घाइतेमध्ये एक जना १७ वर्षका किशोर छन् । मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार घटना विराटनगर महानगरपालिका–२ स्थित नेपाल टेलिकमनजिक भएको हो । धारिलो हतियारले शरीरमा घोपेर मोरङको कटहरी गाउँपालिका–१ जमटोकीका २१ वर्षीय करण कामतको हत्या गरिएको उनले बताए । कामतसहित तीन जना राति १० बजेतिर घाइते अवस्थामा फेला पारेका थिए ।
बाटोमा हिँड्दै गरेकाहरुले उद्धार गरेर उनीहरुलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्याएको प्रहरीले जनाएको छ । गम्भीर अवस्थाका कामतको भने उपचारकै क्रममा मृत्यु भएको हो । मृतक कामतको छात्ती र कम्मरको भागमा धारिलो हतियारले घोपेको जस्तो चोट देखिएको जानकारी एसपी कार्कीले दिए । कामतको शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ ।
एसपी कार्कीका अनुसार हतियारले घोपेर कटहरी–१ जमटोकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन रायलाई घाइते बनाइएको छ । रायको अवस्था गम्भीर छ । उनको कोखा र ढाडमा धारिलो हतियारले घोपेजस्तो चोट देखिएको छ । मध्यम अवस्थाका मण्डल बोल्न सक्ने अवस्थामा छन् । उनको पाखुरा र ढाडमा चोट छ ।
दुवै जना घाइतेलाई कोशी अस्पतालमा सम्भव नभएपछि थप उपचारका लागि राति नै विराटनगरको नोबेल शिक्षण अस्पताल लगिएको छ । प्रहरीका अनुसार घटना कसले गराएको हो भनेर खुल्न सकेको छैन । मापसे (मादक पदार्थ सेवन) गरेका घाइते एवं मृतकबीच नै झैझगडा भएर घटना भएको हुनसक्ने अनुमान पनि प्रहरीले गरेको छ । यद्यपि, यसको पुष्टि हुन बाँकी छ ।
एसपी कार्कीले अनुसन्धानपछि सबै कुरा पत्ता लाग्ने जानकारी दिए । उनका अनुसार विभिन्न कोणबाट घटनाको अनुसन्धान सुरु गरिएको छ । ‘घटनाका सम्बन्धमा तत्काल केही खुलेको । घटनामा संलग्नको पहिचान हुन बाँकी छ । प्रहरीको विशेष टोलीले अनुसन्धान सुरु गरेको छ । अनुसन्धानपछि वास्तविकता पत्ता लाग्छ । घटनामा संलग्न पक्राउ पर्छन्,’ कार्कीले भने ।
उनका अनुसार घटनामा संलग्नको खोजी तीव्र पारिएको छ । घटनास्थलबाट प्रहरीले एउटा मोबाइल फेला परेको छ । प्रहरीले उक्त मोबाइल घटनामा संलग्नको हुनसक्ने आशंका गरेको छ ।
घाइते अवस्थाका मण्डलले भने रातको समयमा बाटोमा हिँडिरहेका बेला एक्कासि आक्रमण भएको प्रहरीलाई बताएका छन् । प्रहरीका अनुसार कसले आक्रमण गरेको हो र आक्रमणकारी कति जनाको संख्यामा थिए भनेर मण्डलले खुलाउन सकेका छैनन् । प्रहरीले घटनाका सम्बन्धमा उनीसँग थप बुझ्ने प्रयास गरिरहेको छ ।
Discussion about this post