विराटनगर । मोरङको सुन्दरहरैँचामा बिहीबार बिहान कुखुरा फार्म सञ्चालकको हत्या भएको छ ।
हत्या भएको अवस्थामा सुन्दरहरैँचा नगरपालिका–९ का ४९ वर्षीय सहदेव बजगाईंको शव फेला परेको हो । घरनजिक कुखुरा फार्म सञ्चालन गर्दै आएका बजगाईंको त्यही फार्मभित्र हत्या भएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार बजगाईंको शव बिहान १०ः३० बजेतिर फार्मभित्रै भेटिएको हो ।
टाउको क्षतविक्षत र शरीरका अन्य भागमा चोटपटक रहेको अवस्थामा शव फेला परेको बस्नेतले बताए । घटनाको प्रकृति र घटनास्थलको अवस्था हेर्दा हत्या नै भएको प्रष्ट हुने उनको भनाइ छ । यद्यपि, हत्यामा संलग्नको पहिचान भएको छैन ।
बजगाईंले खुकुरा फार्ममा काम गर्नका लागि एक दम्पती (पति–पत्नी)लाई राखेका थिए । हत्या फार्मभित्र भएपनि दम्पती सम्पर्कविहीन बनेको प्रहरीले जनाएको छ । डीएसपी बस्नेतले फार्मभित्रै शव फेला परेको भए पनि काम गर्न राखिएको भनिएका दम्पती त्यहाँ नभेटिएको बताए ।
घटनास्थलमा नभेटिएका कारण हत्या उनीहरुले नै गरेको हुनसक्ने प्रहरीको अनुमान छ । ‘हत्या गरेर दम्पती फरार बनेको हुनसक्ने आशंका छ,’ बस्नेतले भने, ‘अनुसन्धानपछि सबै कुरा प्रष्ट हुन्छ ।’ उनका अनुसार घटनास्थलमा रगत लतपतिएको अवस्थामा एउटा बन्चरो र दाउ फेला परेको छ । हत्यामा बन्चरो र दाउ नै प्रयोग गरिएको हुनसक्ने उनले बताए ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय बेलबारीबाट इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोली घटनास्थलमा पुगेको छ । दाहाल नेतृत्वको टोलीले घटनाको अनुसन्धान अघि बढाउँदै हत्यामा संलग्नको खोजी तीव्र पारेको छ । शवलाई पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको जानकारी बस्नेतले दिए ।
Discussion about this post