विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा प्रदेश खबरका मोरङ ब्युरो किशोर बुढाथोकीसहित ८ जना पत्रकारलाई आइतबार सम्मान गरिएको छ ।
सञ्चार क्षेत्रबाट कोशी प्रदेशको खेलकुदको विकासमा सहयोग पुुर्याएको भन्दै प्रदेश खेलकुद विकास बोर्डले पत्रकारहरूलाई खेलकुद पत्रकारिता सम्मानबाट सम्मानित गरेको हो । विराटनगरमा आयोजित अन्तर प्रदेश खेलकुद प्रतियोगिता र १४ औँ राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडी सम्मान कार्यक्रमको अवसर पारेर बोर्डले लामो समयदेखि खेलकुद पत्रकारितामा सक्रिय रहेकालाई नगदसहित सम्मान गरेको छ ।
सम्मानित हुने पत्रकारहरूमा बुढाथोकीसहित नवीन अर्याल, चुमन बस्नेत, पुष्पराज थपलिया, भूमिराज पराजुली, भूमिका पाख्रिन, हिमाल खरेल र प्रेम देवान राई रहेका छन् । खेलकुद पत्रकारहरूलाई कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवार, प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राई, प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत ९परशुराम०लगायतले खादा, प्रमाणपत्र र नगदले सम्मानित गरेका थिए ।
अर्याललाई २१ हजार र अन्य पत्रकारलाई ११ हजार रुपैयाँ नगद प्रदान गरिएको थियो । पुरस्कृत भएका बुढाथोकी अन्नपूर्ण पोस्टका कोशी प्रदेश ब्युरो प्रमुख हुन् ।
बोर्डका सदस्यसचिव बस्नेतले पत्रकारहरूले पत्रकारिता क्षेत्रमार्फत नेपाली खेलकुदको प्रसार प्रचार तथा प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । पत्रकारिताका माध्यमबाट खेलकुद क्षेत्रको विकासका लागि पुर्याएको योगदानको कदर गर्दै पत्रकारहरूलाई सम्मान गरिएको जानकारी उनले दिए ।
Discussion about this post