विराटनगर । विराटनगरमा बुधबार साँझ प्रहरीको गाडी दुर्घटना भएको छ । दुर्घटनामा परेर २४ जना प्रहरी घाइते भएका छन् ।
घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भीमबहादुर दाहालका अनुसार मुस्लिम समुदायको मोहरम पर्वको कार्यक्रमको सुरक्षामा थप मद्धतका लागि प्रहरी लिएर विराटनगरको रानीतर्फ जाँदै गरेको गाडी साँझ ५ः४० बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनामा परेको ना १ ग २५५९ नम्बरको गाडी विराटनगरस्थित कोशी प्रदेश प्रहरी तालिम केन्द्रको हो ।
प्रहरीका अनुसार थप मद्धतका लागि तालिम केन्द्रबाटै प्रहरी लगिएको थियो । विराटनगर महानगरपालिका–१५ भट्टी मोडमा घुमाउने क्रममा आफैं अनियन्त्रित भएर गाडी पल्टिएको थियो । दुर्घटनामा परेर घाइते भएकामध्ये प्रहरी सहायक निरीक्षक योगेन्द्र मगर र प्रहरी जवान सञ्जय ओझाको अवस्था गम्भीर छ ।
एसएसपी दाहालले गम्भीर अवस्थाका घाइतेको न्युरो अस्पतालमा उपचार भइरहेको बताए । उनका अनुसार सामान्य अवस्थाका घाइतेको कोशी र नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । केही घाइतेहरु सामान्य उपचारपश्चात डिस्चार्ज भइसकेको जानकारी दाहालले दिए । उनले घटनाको अनुसन्धान भइरहेको बताए ।
Discussion about this post