अमृत बास्तोला
तेह्रथुम, १३ फाल्गुन । तेह्रथुमको आठराई ६ चुहानडाँडामा शुक्रबार दिउँसोदेखि सुरूभएको आगलागी नियन्त्रणमा आएको छ ।
आगलागी भएको करिव १२ घण्टापछि फिदिम नगर पालिकाको दमकल, प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीको सक्रियतामा राति ३ बजे आगलागी नियन्त्रणमा आएको हो । भीषण आगलागीबाट चुहानडाँडाको हातिखर्कको तल्लो बस्ती नै सखाप भएको छ । १४ घर जलेर पूर्णरूपमा क्षति भएको छ । आगलागीबाट स्थानीय ५० वर्षीया याङ्डोल्मा तामाङ घाइते हुनुभएको छ । घाइतेको थप उपचारका लागि पाँचथर सदरमुकाम फिदिम लगिएको छ ।
तामाङ समुदायको बसोबास रहेको हातिखर्कमा १४ घरमध्ये नौ घरमा मानिस बस्दै आएको र पाँच घर खालि रहेको वडाअध्यक्ष कृष्ण बास्कोटाले जानकारी दिनुभयो । आगलागीबाट नौ परिवारको ४१ जना विस्थापित भएका छन् । घरमा रहेका अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको छ ।आगलागीबाट सोम बहादुर तामाङ, विरधन घिसिङ, आस बहादुर घिसिङ, भिम बहादुर वाइबा, सूर्यबहादुर योञ्जन र सुरेन्द्र वाइबाको घर जलेर नष्ट भएको छ ।
दधिराम वाइबाको घरमा बस्दै आएका दोर्जे बल, दलबहादुर तामाङको घरमा बस्दै आएका सुभास घिसिङ र अमर बहादुर वाइबाको घरमा बस्दै आएका लामामणी तामाङको घर संगै अन्नपात र लत्ताकपडा नष्ट भएको छ ।
त्यस्तै राई बहादुर तामाङ, डिकमान तामाङ, संखर योञ्जन, जस बहादुर घिसिङ र भक्त बहादुर वाइबाको खाली घर जलेर नष्ट भएको छ ।आगलागीबाट स्थानीयका गोठमा रहेका पशुचौपाया भने जलेर मरेका छन् । आठराईको सुख्खाग्रस्त क्षेत्रमा रहेको हातिखर्कमा हरेक वर्ष आगलागी हुने गरेको छ ।
बस्तीमा पानीको अत्यन्तै समस्या र फुसको छाना रहेका घरहरू भएकाले बस्ती सखाप हुदाँ ठूलो क्षतिभएको आठराई गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले बताउनुभयो ।तमोर नदि किनारको जंगलबाट सुरूभएको आगो बस्तीमा पसेपछि नियन्त्रण बाहिर आउँदा ठूलो क्षति भएको हो । क्षतिको यकिन विवरण आउँन बाँकी रहेको छ ।
Discussion about this post