काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन्।
आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतको प्रस्तावका पक्षमा १८८ मत प्राप्त गरेका हुन् ।
बहुमतका लागि १३८ जना सांसदको आवश्यकता रहेको थियो । प्रतिनिधि सभाको आइतबारको बैठकमा २६३ जना सांसद उपस्थित थिए।
प्रस्तावको विपक्षमा ७४ मत आएको छ र मत दिन्न भन्नेमा १ मत आएको सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकमा जानकारी गराएका छन् ।
प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतको प्रस्तावका पक्षमा नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदहरूले मत दिएका हुन् ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतले विश्वासको मत दिएनन् ।
नेकपा एमालेका अध्यक्षसमेत रहेका ओली गत असार ३० गते नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए।
प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। सोहीअनुसार प्रधानमन्त्री ओलीले आइतबार विश्वास मत लिएका हुन्।
Discussion about this post